कति दिन टिक्ला राप्रपाको ‘दोगलापन’ ?

कोशीको सौदाबाजीले कृष्ण सिटौला खतरामा पर्न सक्छन् ? 

चिन्तन क्षेत्री
Read Time = 5 mins

काठमाडौं । २०८० पुस ३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राज संस्थासहितको हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि देशभरी आन्दोलन गर्ने निर्णय गरेको थियो । सो निर्णय अघि र आजका दिनसम्म पनि राप्रपाका नेताहरू यही मुद्दामा सार्वजनिक सार्वजनिक भाषण दिँदै अगाडि बढिरहेका छन् ।

पुस र माघमा आन्दोलनको तयारी स्वरूप देशभरि सभा गर्ने निर्णय पनि गरेको थियो । यस्तै फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको थियो । राप्रपाले निर्णयले गरेको तीन हप्ता मात्रै बितेको छ । कोशी प्रदेश, प्रदेश खारेजीको मागसहित आन्दोलन घोषणा गर्ने पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको गृह प्रदेशमा राप्रपाका नेता नै सभामुख भएका छन् ।

एकतातिर प्रदेश खारेजीका लागि आन्दोलनको घोषणा गर्ने अर्कोतिर प्रदेश सभामुखका लागि र्‍याल काढ्ने यहीँनिर राप्रपाको ‘दोगलापन’ देखिएको छ ।

यति मात्रै होइन त्यही राप्रपा जो राजसंस्था सहित हिन्दू राष्ट्रका नाममा डङ्का पिटिरहेको छ, त्यही राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन संघीय लोकतान्त्रिक गणतन्त्रमा उपप्रधानमन्त्रीको शपथ लिनुलाई दाेगलापनका रुपमा लिन सकिन्छ ।

सौदाबाजी केका लागि ?

राष्ट्रियसभा निर्वाचनको केही दिन अगाडि राप्रपाले लिएको यो निर्णयलाई लिएर अनेक टिप्पणी हुन थालेका छन् । राप्रपाले सभामुखका लागि तयार हुनु र एमालेले हतार हतार त्यसलाई समर्थन गर्नुमा ‘दाल मे कुछ तो काला हे’ को संकेतका रुपमा लिन सकिन्छ । त्यो हुन सक्छ गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलालाई ढाल्ने खेल ।

तर अहिलेसम्मको गणित हेर्दा सिटौलालाई कसैले टसकामस गर्न सक्ने अवस्था देखिन्न । कोशीमा सत्ता गठबन्धनको कुल मतभार ५४३६ हुँदा एमाले राप्रपा र स्वतन्त्रको ४६९९ मात्रै हुन्छ । यस्तो अवस्थामा सिटौलाको जित निश्चित जस्तै छ ।

राप्रपाले उद्धव पौडेललाई जित दिलाउन कै लागि सभामुख लिन तयार भएको हो ? यस्तो अवस्था आउला ? गठबन्धनले आफ्नै उम्मेदवारलाई हराएर सभामुख दिँदै सरकार जोगाउने कच्चा सौदाबाजी गर्ला ? यी प्रश्नहरूको जवाफ माघ ११ पछि आउने नै छ ।

तर एमालेसँगको सम्बन्धलाई मजबुत बनाउँदै अगाडि बढ्ने र कांग्रेसभित्रको विवादमा खेल्न सक्यो भने थापा राष्ट्रियसभामा आउन सक्छन् । आखिर जे भएपनि प्रदेश नै स्वीकार नगर्ने दलले अमुक लाभका लागि यसरी सौदाबाजी गर्नु पक्कै उपयुक्त होइन ।

सुध्रिने कि सकिने ?

राप्रपाको दोगलापनले अब यो पार्टीको भविष्य कस्तो होला भन्ने प्रश्न तेर्सिएको छ । कुनै राजनीतिक दलको भविष्य तय गर्न पङ्क्तिकार ज्योतिष विज्ञान पढेको व्यक्ति त होइन यही अवस्था हो भने, तत्कालीन अध्यक्ष कमल थापा र तत्कालीन राप्रपाको अवस्थामा फेरि पुग्ने अवस्था आएको छ ।

विदेशमा गएर काम गर्न पाउँ म नियमित रेमिट्यान्स पठाउँला भन्ने नागरिकलाई गोली ठोक्ने सरकारबाट पीडित जनतालाई अहिले व्यवस्थाको नाममा केही हदसम्म झुक्क्याउन सकिएला तर भविष्य बनाउन गाह्रो नै देखिन्छ ।

लिङ्देन वा रवीन्द्र मिश्र होउन वा अरू अरू जो जुनसुकै हालतमा पनि शक्तिमा पुग्न चाहन्छन् ती दलका नेताहरूले जनताको मर्म र पीडा पचाएर बसे भने भोलि देशमा युवा खोज्न टर्च बाल्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?