सिमकोटमा एक महिलाले जन्माइन बाटो मै शिशु

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । एक जना गर्भवती महिला हुम्लाको सदरमुकाम सिमकोटको बाटोमै सुत्केरी भएकी छन् । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भएकी हाल सदरमुकाम सिकमकोटमा बस्दै आउनु भएकी २६ वर्षिया रुपशिला विकले बाटोमै बच्चा जन्माउनुभएको हो । अस्पताल लैजादै गर्दा विच बाटोमा सुत्केरी भएर विकले शिशु जन्माएको उहाँको श्रीमान हिरबहादुर विकले बताउनुभयो ।

तीन दिनदेखि सामान्य प्रसुति व्यथाले थलिनुभएकी विकले सदरमुकाम सिमकोटको माथिल्लो बजार मानसरोवर माध्यामिक विद्यालय नजिक डेरामा बस्दै आउनु भएको थियो । प्रसुतिका लागि केही महिना अघिदेखि उहाँ सदरमुकाममा बस्दै आउनुभएको हो ।

जिल्ला अस्पताल सदरमुकाममै रहेकाले गाउँघरभन्दा राम्रो सुविधा यहाँ पाउने भएकाले सिमकोटमा बस्दै आएपनि विकले बाटोमै बच्चा जन्माएको उहाँसँगै एउटै घरमा बस्दै आउनु भएको इमा सुनारले बताउनुभयो । सुनारले भन्नुभयो, विकलाई व्यथाले च्याप्दै गएपछि जिल्ला अस्पतालमा लिदैँ गर्दा सञ्चार टोलको पुरानो सिटिजन्स बैंक नजिकै बाटोमा सुत्केरी भएर बच्चा जन्मियो । सिमकोटमा बस्दै आएकी विश्वकर्माका श्रीमान सुत्केरीको सेहार गर्ने भन्दै २ दिन अघि चंखेली गाउँपालिकाको पिपलाङमा रहेकी आफ्नी आमालाई लिन गएका थिए ।
सुत्केरी व्यथा लागेपनि जिल्ला अस्पतालसम्म लिने आफन्त कोही नहुँदा विकले बाटो मै बच्चा जन्माउनुभएको हो । विकका श्रीमानले भन्नुभयो, बुढी सुत्केरी भएपछि हेरचाह गर्न महिला मान्छे चाहिने भएकाले गाउँमा आमालाई लिन गएको थिए । अचानक व्यथाले च्यापेर समयमै अस्पताल लिने कोही नहुँदा बाटोमै सुत्केरी भएको बताउनुभयो । उहाँकी आमा चंखेली गाउँपालिकाको पिपलाङमा बस्दै आउनुभएको थियो । चंखेली पुग्न दुई दिन पैदल लाग्छ ।

विकलाई व्यथा लागेर बाटोमै बच्चा जन्माएर अलपत्र परेपछि त्यस आसपासमा रहेका स्थानीयले थप उपचारका लागी जिल्ला अस्पताल पुर्याएपछि साल नाल निकालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

जिल्लामा चिसो अत्याधिक भएपछि बाटोमै सुत्केरी भएकी विकको उद्दारमा केही समस्या भएको थियो । चिसोले बच्चा सँगै आमाको स्वास्थ्यमा समस्या केही देखिए पनि जिल्ला अस्सपताल पुर्याएपछि सुत्केरी र बच्चाको स्वास्थ्यमा सुधार आएर शनिवार साँझ चार बजे घर पठाइएको बोहराले बताउनुभयो । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छिमेकी इमा सुनारले बताउनुभयो ।

फोटो : प्रसुति व्यथाले च्यापेर जिल्ला अस्पतालमा लिदैँ गर्दा बाटोमै बच्चा जन्माउनु भएकी सर्केगाड गाउँपालिका–७ रोडिकोट गाउँकी रुपशिला विक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?