
सर्लाही । माघ सुरु भएयता बढेको चिसो र शीतलहरका कारण मध्य तराईंको जनजीवन प्रभावित भएको छ । शीत र सिरेटो छेक्ने घर र न्याना लुगा नभएकालाई पुस-माघको जाडो कटाउन सकसपूर्ण बनेको हो । बिहानैदेखि पर्ने शीतलहरले गर्दा तापक्रम झरेर ७ डिग्रीसम्म पुगेपछि सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको छ । शीतलहर खासगरी तराईंका जिल्लाहरूमा हरेक वर्ष ठूलो धनजनको क्षतिको कारक बन्दै गए पनि यसबाट बच्ने तयारी भने शून्य छ । शीतलहर र चिसोका कारण मध्य तराईंमा केही व्यक्तिले जयानसमेत गुमाइसकेका छन् । तर, सरकारी निकायले त्यसको आधिकारिक पुष्टि भने गरेको छैन । खागगरी मध्य तराईंका सर्लाहीसहित, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहटका जिल्ला प्रभावित बनेका हुन् ।
कुहिरो र चिसो बतास (हावा)ले हातखुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ । चिसो छल्न चोक–चोकमा सर्वसाधारणले आगो बालेर बस्नुपर्ने अवस्था छ । शीतलहरसँगै खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ । चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाको त झन् कन्तबिजोक छ । सुत्केरी भएकाको समस्या कल्पना गर्नै गाह्रो छ । दिन-प्रतिदिन चिसो बढ्दै जाँदा नवजात शिशुको स्याहारमा समस्या छ । ‘जाडोबाट जोगाउन पर्याप्त कपडा छैन । बच्चाको बिजोक भयो’, सर्लाहीको चन्द्रनगर-६, कामत बस्ने विन्दे माझीले भन्नुभयो, ‘परिवारको आर्थिक अवस्था दयनीय छ । छाक टार्नै समस्या भइरहेका बेला न्यानो कपडा किनेर लगाउने पैसा छैन ।’ बहृमपुरी गाउँपालिका-३ भेल्हीका उपेन्द्रराम परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बताउनुहुन्छ । ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । ‘बिहानैदेखि घरबाहिर निस्कन मुस्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ,’ उहाँले भन्नुभयो । सोही स्थानमा सुकुम्बासी जीवन बिताइरहनु भएकी पुष्पा सदाको परिवार मजदुरीमै निर्भर छ । ‘भोक लाग्दा पेटभरी खान पाइँदैन’, उहाँले भन्नुभयो, ‘ऐलानी जग्गामा बनाएको झुप्रो घरले पनि चिसो छेक्दैन । खान दिन र न्यानो बनाएर राख्न नसक्दा भर्खर जन्मिएको बच्चालाई हुर्काउनै सकस भइरहेको छ ।’ लगलग कमाउने र मुटु नै छेड्ने चिसोले ज्यानै लैजाने चिन्ता थपिन थालेको उहाँले बताउनुभयो ।
वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार मध्य तराईंका जिल्लामा दिनभरिजसो बाक्लो हुस्सु लाग्दा हवाई उडानसमेत नियमित हुन सकेका छैनन् । एक्कासि बढेको चिसोका कारण श्वासप्रश्वासको समस्या भएका बिरामीको संख्या अस्पतालहरूमा बढेको छ । चिसोले दैनिक मजदुरीमा निस्कनुपर्ने मजदुर, किसान र गरिब गुरुवालाई अप्ठेरो परिरहेको छ । चिकित्सकले यो चिसोमा ती व्यक्तिहरूको विशेष ख्याल गर्न, तुसारो र स्याँठ चलेको बेला घरभित्रै बस्न, सुरक्षितसँग आगो ताप्न, झोलिला र पौष्टिकयुक्त खानेकुरा खान सुझाव दिँदै आएका छन् ।
चिसो अत्यधिक बढ्दासमेत स्थानीय पालिका र अन्य निकायले न्यानो प्रदान गर्न वास्ता नगरेको गुनासो सर्वसाधारणको छ । मध्य तराईंका जिल्लाहरूका केही पालिकाले चोक-चोकमा दाउरा बाँडे पनि हालसम्म अधिकांशले बाँडेका छैनन् । पालिका प्रमुखहरू भने भर्खर चिसो सुरु भएकाले आफूहरू तयारीमा लागेको बताउँछन् । तुसारो र हुस्सुले आलु, गोलभेंडा, सिमी, खुर्सानीसहित किसानले लगाएको तरकारी र बालिनालीमा ठण्डीजन्य संक्रमण बढ्न थालेको बताएका छन् । चिसोले पन्छी तथा पशुचौपाया सुरक्षित राख्न र स्याहार गर्न मुस्किल परेको किसान बताउँछन् ।
मौसम पूर्वानुमान महाशाखाले पनि अहिले पूर्वी, पश्चिमी र मध्य तरार्इंमा शीतलहरको प्रभाव देखिएको जनाएको छ । यो वर्ष हिउँदे वर्षा हुन सकेको छैन । नेपालमा तीव्र बनेको शीतलहरको कारण भने खासगरी भारतको औद्योगीकरण र कृषिलाई मानिन्छ । उद्योग-कलकारखानाबाट निस्कने धुवाँ र धुलो मिसिएपछि कुहिरो प्रदूषित हुन्छ । त्यो प्रदूषित कुहिरो (स्मग) छिचोलेर सूर्यको किरण जमिनसम्म आउन नसक्दा शीतलहर चल्छ । नेपालमा मनसुनी वर्षाको याममा बाहेक अरू बेला वायुको चाप पश्चिमबाट पूर्व वहने हुँदा उत्तरी भारतको प्रदूषण स्वतः आइपुग्छ । भारतको बिहार, उत्तरप्रदेश, पञ्जाब, हरियाणा लगायतका राज्यमा केही दशकयता अत्यधिक औद्योगीकरण र कृषिमा आधुनिकीकरण भएको छ । त्यसैको प्रभाव नेपालमा पनि देखिँदै आएको छ । शीतलहरको प्रभाव सवारीसाधनहरूमा समेत परेको छ । राजमार्गमा गुड्ने सवारीसाधन कुहिरो र शीतलहरले बाटो नदेखिएपछि राजमार्गमै रोकिने गरेका छन् । कुहिरोका कारण ५० मिटरभन्दा बढी सडक देख्न नसकिने अवस्था सिर्जना भएकाले विपरीत दिशाबाट आउने सवारीसाधन र पैदलयात्रु दुर्घटनाको जोखिममा रहेको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ । कुहिरोका बेला सवारी साधनको गतिलाई सक्दो कम राख्न सवारी चालकलाई ड्युटीमा खटिएका ट्राफिक प्रहरीले जानकारी गराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साढे दुईदशक यताको तथ्यांक हेर्दा नेपालमा शीतलहरबाट बर्सेनि सरदर ३७ जनाको मृत्यु हुने गरेको देखिन्छ । सन् १९९० पछि नेपालको दक्षिणी मैदानमा सुरु भएको शीतलहरका कारण ५२ जिल्लाका एकहजार बढीको ज्यान गइसकेको अभिलेख नेपाल प्रहरीसँग छ । शीतलहर चल्न थालेपछि मानव स्वास्थ्यबाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुन्छ । रावलपिण्डी (पाकिस्तान) देखि रंगपुर (बंगलादेश) सम्म फैलिने शीतलहरले दक्षिण एशियाको उत्तरी मैदानी इलाकामा हरेक वर्ष ५० करोडदेखि एक अर्ब जनालाई प्रभावित गर्ने विभिन्न अध्ययनको निष्कर्ष छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच