पदयात्रीको पहिलो रोजाईमा पर्दै फुर्से-साँगुरीगढी पदमार्ग

हिमालय टाइम्स
Read Time = 3 mins

सुनसरी । सुनसरीको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढी सम्मको बाटोलाई पदमार्गका रुपमा प्रयोग गर्न शुरु गरिएको छ ।

राष्ट्र एकीकरणताका पृथ्वीनारायण शाहका सेनाहरुले प्रयोग गरेको सुनसरीको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढी सम्मको बाटोलाई पदमार्गका रुपमा प्रयोग गर्न थालिएको हो । नेपाली सेनाले पदमार्गका रुपमा विकास गरेको यस मार्गमा हरेक वर्ष राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सेनाको अगुवाईमा पदयात्रा गर्ने गरिन्छ ।

नेपाली सेनाको अगुवाईमा गत पुस २७ गते पनि फुर्से-साँगुरीगढी पदमार्ग यात्रा गरिएको थियो । ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित बनाउँदै बाटोमा संकेत चिन्हहरु राखिए पर्यटकहरुका लागि सहज हुने आन्तरिक पर्यटकहरु बताउँछन् । ठाउँठाउँमा आराम गर्न बस्ने ठाउँको व्यवस्था भए पदयात्रा झनै व्यवस्थित र आरामदायी हुने आन्तरिक पर्यटक डिल्लीराज भण्डारीले बताउनु भयो । उहाँले यस क्षेत्रको पदमार्गलाई व्यवस्थित बनाउनसके तराई क्षेत्रबाट पदयात्रा निस्कनेहरुको प्रमुख रोजाईमा पर्नसक्ने समेत बताउनु भयो ।

राष्ट्र एकीकरणको समयमा गोरखाली सेनाले प्रयोग गरेको यो पदमार्ग र गढी अझै व्यवस्थित बनाउनसके पर्यटकीय गतिविधि बढ्ने इटहरीबाट आउनुभएका आन्तरिक पर्यटक कृष्ण भण्डारीले बताउनु भयो । ऐतिहासिक महत्व बोकेको यस पर्यटकिय क्षेत्रसँगै साँगुरीगढीको प्रचारप्रसार गर्नसके पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यस पदमार्ग धरानको फुर्सेदेखि धनकुटाको साँगुरीगढी गाँउपालिका-६ मा रहेको गढीसम्म करिव साडे ६ किलोमिटरको छ । करिव २ घण्टा बढीको समय लाग्ने प्राकृतिक रुपमा वनजंगलका साथै पहाडी तथा तराई क्षेत्रको समेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्रको प्रचारप्रसार भए यस पदमार्ग पदयात्रीहरुको पहिलो रोजाईमा पर्नसक्ने स्थानीय बताउँछन् ।

-न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?