काठमाडौं । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा विवाद भएको छ । विश्वविद्यालयको भवन शिलान्यासका विषयमा मधेशमा सत्ता साझेदार दुई दल जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच विवाद चर्किएको हो । विश्वविद्यालयको भवन उद्घाटनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमतले विरोध जनाएको थियो । जनमत पार्टीले शिलान्यास रोक्न खोजेपछि विवाद उग्र भएको हो । विवाद बढ्दै जाँदा सोमबार राजविराजमा झडपसमेत भएको थियो ।
शिलान्यास गरिछाड्ने र रोक्ने दुई पक्षबीच विवाद हुँदा स्थिति तनावग्रस्त भएको हो । राजविराज नगरपालिका-१३ मा करिब १२ बिघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो । शिलान्यासमा सप्तरी-२ बाट पराजित यादवलाई नै प्रमुख अतिथि बनाइएको भन्दै जनमतले विरोध गरेको थियो । शिक्षामन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गर्नुभएको थियो भने जनमतका अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचारसमेत गर्नुभएको थियो ।
जनमतका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप
कडा सुरक्षा घेराबीच विश्वविद्यालयको शिलान्यास गरिएको छ । जसपा अध्यक्ष यादवलाई सुरक्षा घेराबाटै मञ्चमा पु¥याइएको थियो भने मुख्यमन्त्री सरोजकुमार यादवसहितको उपस्थितिमा सुरक्षा घेराबीच औपचारिक कार्यक्रम सुरु गरिएको थियो । यसक्रममा जसपा अध्यक्ष यादवलाई रोक्न पुगेका जनमत पार्टीका मन्त्री र नेताहरू घाइते भएका छन् । प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गर्दा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव लगायतका नेता-कार्यकर्ता घाइते भएका हुन् ।
मन्त्री यादवको टाउकामा चोट लागेको छ । यस्तै, जनमतका प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी पनि घाइते भएको जनमत पार्टीले जनाएको छ । जनमतको अवरोधका बाबजुद जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वविद्यालय भवनको शिलान्यास गर्नुभएको छ । शिलान्यास स्थलमा जसपा अध्यक्ष यादवलाई लग्ने बेलामै जनमतका मन्त्री र सांसदहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मन्त्री यादवले भवन शिलान्यास अवैधानिक रहेको दाबी गर्नुभयो । प्रहरीको घेराभित्र गरिएको शिलान्यास अमान्य रहेको भन्दै सर्वदलीय बैठक बसेर पुनः शिलान्यास गर्ने उहाँले बताउनुभयो । आफूहरूले ल्याएको योजना भएकोले अध्यक्ष सिके राउतबाट उद्घाटन हुनुपर्ने जनमतको अडान थियो । राजविराजस्थित यो विश्वविद्यालयको शिलान्यास कार्यक्रममा कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा जसपाबाट निर्वाचित मुख्यमन्त्री सरोजकुमार यादव र जनमतबाट निर्वाचित शिक्षामन्त्री यादवबीच मतभेद भएको थियो । जनमतका कार्यकर्ताले अध्यक्ष सिके राउतलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेका थिए । तर, जसपाले अध्यक्ष यादवलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न अडान लिएपछि विवाद भएको हो । जनमतका कार्यकर्ताले आइतबार दिनभर विरोध प्रदर्शन गरेका थिए भने विश्वविद्यालयमा तालाबन्दी नै गरेका थिए ।
जसपा अध्यक्ष यादव मञ्चमा पुगेर कार्यक्रम सुरु भएपछि जनमतबाट निर्वाचित भएर प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेशप्रसाद यादवको नेतृत्वमा जनमतका कार्यकर्ताले नाराबाजी गर्दै होहल्ला गरेका थिए । त्यही क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको हो । मञ्चबाट प्रहरीले तितरबितर पारेपछि मन्त्री यादवसहित जनमत कार्यकर्ताले मञ्चनजिकै धर्ना र नाराबाजी गरेका थिए ।
जनमत पार्टीका नेताहरू ‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौँ’ लेखेको ब्यानरसहित स्वागतमा बसेका थिए ।
३० करोड बजेट दिएको बेला जनमत जन्मेकै थिएन : मुख्यमन्त्री यादव
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालय स्थापनामा जनमत पार्टीको कुनै भूमिका नरहेको दाबी गर्नुभएको छ । विश्वविद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै उहाँले कृषि विश्वविद्यालयमा दुई वर्ष अगाडि प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो । ‘मधेश कृषि विश्वविद्यालयमा दुई वर्ष अगाडि प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गर्यो,’ उहाँले भन्नुभयो, ‘जतिबेला जनमत पार्टीको जन्म पनि भएको थिएन ।’
मुख्यमन्त्री यादवले सिके राउतले कृषि विश्वविद्यालयका लागि आफ्नो प्रयासमा ३० करोड बजेट आएको फेसबुकमा लेखेको कुरा झुटो रहेको दाबी गर्नुभयो । विश्वविद्यालय भवनको शिलान्यास जनमतका कार्यकर्ताहरूले रोक्न खोजेकोमा आपत्ति जनाउनुभयो । ‘मेरो नेतृत्वको सरकारले पनि विश्वविद्यालयका लागि ३० करोड विनियोजन गरेको छ । म चाहन्छु छिटोभन्दा छिटो काम होस्,’ उहाँले भन्नुभयो ।
जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी
मुख्यमन्त्री यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिनुभएको छ । यादवले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको उहाँले आरोप लगाउनुभयो । प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश सरकारविरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरू राजीनामा नदिई लाज पचाएर बसिरहेको उहाँको भनाइ थियो । ‘११ गतेसम्म बाटो नहेरौँ । गठबन्धनलाई बाटो नहेरौँ । तपाईंहरू सब पछि हटाउनुहोला म त आजै हटाइदिन्छु,’ उहाँले भन्नुभयो, ‘त्यस्ता अराजक मान्छेलाई सरकारमा राख्नुहुँदैन ।’ मधेश सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच