राष्ट्रियसभाका अनेक किस्सा : जनताबाट पराजितहरू दलबाट अनुमोदित, हिजो पराजित भएकाहरू आज समर्थक

सिटौलाको रेक्स्यु, बन्लान राष्ट्रियसभा अध्यक्ष ?

चिन्तन क्षेत्री
Read Time = 11 mins

काठमाडौं ।  राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशीमा नेकपा एमालेकी उम्मेदवार रुकमणी कोइराला सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी छन् । अन्य प्रदेशमा भने गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् ।

यति मात्रै होइन यो निर्वाचनमा अनेक किस्सा देखिएका छन् । माधव नेपाललाई तत्कालीन समयमा राष्ट्रियसभामा पराजित गर्ने झक्कु प्रसाद सुवेदी निर्वाचनमा विजयी हुनेदेखि लगभग असम्भव रहेको नेकपा एमालेको कोशीमा विजयीसम्मका किस्सा यो निर्वाचनमा देखिए ।

यसअघि पनि नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लगेर उपप्रधान तथा गृहमन्त्री बनाउनेदेखि बामदेव गौतम सांसद बन्नेसम्मका किस्सा देखिएकै हुन् । अझै आगामी दिनमा यस्ता कति कहानीहरू बन्छन् त्यो हेर्न बाँकी छ ।

'निकम्मा' राष्ट्रियसभा

नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंग मानेको छ । यति मात्रै होइन, सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता हुनुपर्छ भनेको छ । तर आजको मितिसम्मको परिणाम र राजनीतिक दलहरूको गराई हेर्ने हो भने, संविधान कागजको खोस्टोमा मात्रै सीमित देखिएको छ ।

राष्ट्रियसभामा कहिल्यै जनताको मतको सफल परीक्षण गर्न नपाएका नारायाणजी श्रेष्ठदेखि गठबन्धन हुँदा पनि निर्वाचन जित्न नसकेका कृष्ण प्रसाद सिटौलाहरू प्रतिनिधित्व गर्छन् ।

प्रदेशहरूको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलन समेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेको छ । यहाँ जनताबाट अनुमोदित हुन नसकेका तर आफ्नो शक्तिका आधारमा बार्गेनिङ गर्नेहरू नै पुग्ने गरेका छन् ।

प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना गरी राष्ट्रिय सभामा उनन्साठी सदस्य रहने व्यवस्था रहेको छ । राष्ट्रपतिको कोटामा समेत चुनाव हारेका दुर्गा पौडेललाई राष्ट्रियसभाको चोर बाटोबाट संसदमा भित्र्याउनुपर्ने अवस्था दलहरूलाई आइलागेको छ ।

हरेक चुनावमा फेरिन्छन् गठबन्धन, फेरिन्छ दलहरूको हैसियत

राष्ट्रियसभाको कार्यकाल बढीमा ६ वर्षको हुन्छ । गोल तानेर २ वर्ष, ४ वर्ष र ६ वर्षको आफ्नो भाग्य चयन गर्ने अवसर राष्ट्रियसभामा पुगेका नेताहरूलाई हुन्छ । जसअनुसार यहाँ दलहरूको हैसियत फेरिन्छ, गठबन्धन त स्वार्थ मिल्दा बन्छ, नमिल्दा भत्किन्छ । यो पटक पनि लगभग उस्तै अवस्था देखिएको छ । प्रतिनिधिसभामा ३२ सिटे माओवादी राष्ट्रियसभामा पहिलो दल बनेको छ भने, अहिले पहिलो दल रहेको नेकपा एमाले तेस्रो दल बनेको छ ।

माओवादी केन्द्र निर्वाचन अघि दोस्रो स्थानमा थियो । निर्वाचनपछि माधव नेपाल नेतृत्वको नेकपा एस भने ८ सांसदसहित चौथो स्थानमा छ ।
बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले तथा जसपाले एक—एक सिट जितेका छन् ।

राष्ट्रियसभामा १८ सांसद रहेको एमालेका ९ सांसद बिदा हुँदा १ सीटमात्रै सुरक्षित गर्न सफल भयो । कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसदको पदावधि सकिँदैछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

राष्ट्रियसभामा अहिले माओवादीका १६ सांसद रहेकोमा थप पाँच जना निर्वाचित भएर आउँदैछन् । अहिलेका मध्ये तीन जना भने बिदाइ भएर जाँदैछन् । माओवादी अब १८ सिटसहित पहिलो दल बन्ने छ ।

यस्तै नेपाली कांग्रेसका १० सांसद रहेकोमा चार सांसद बिदा भएर जाँदा १० थपिने भएका छन् । अब कांग्रेसका १६ जना सांसद हुँदैछन् ।

यस्तै नेकपा एससँग अहिले आठ सांसद छन् । त्यसमा दुई जना बिदा हुँदा २ थपिएर आउँदैछन् ।

यस्तै जसपाका तीन सांसद रहेकोमा एक बिदा भएर जाने र एक निर्वाचित भएर आएका छन् । यता राष्ट्रियसभामा जनमोर्चाका एक सांसद रहेकोमा राष्ट्रपतिबाट मनोनीत भएर थप एक जना आउँदैछन् ।

एमालेका पूर्व नेता वामदेव गौतम राष्ट्रियसभामा अहिले स्वतन्त्रको हैसियतमा छन् । स्वतन्त्र रहेका गौतमले एमालेलाई साथ दिए सांसद संख्या ११ पुग्नेछ ।

कुन पार्टीबाट को विजयी ? 

कोशीको एक सिट बाहेक देशभरि निर्वाचन सम्पन्न भएका १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कोशीमा एमाले-राप्रपा गठबन्धन एक सिट जित्न सफल भएको छ । गठबन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित रुपमा गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रियसभामा निर्वाचित भएका छन् ।

यस्तै माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द राष्ट्रियसभामा आएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, जसपाबाट पूजा चौधरी निर्वाचित भएका छन् ।

सिटौलाको रेक्स्यु, बन्लान राष्ट्रियसभा अध्यक्ष ?

जनताबाट लगातार २ पटक संसदमा चुनिन असफल भएका कृष्ण प्रसाद सिटौला राष्ट्रियसभाको सिँढी चढ्दै सदनमा प्रवेश गर्न सफल भएका छन् ।

झापा क्षेत्र नम्बर ३ बाट २०७४ र २०७९ को निर्वाचनमा उहात्त राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका उहाँ अहिले राष्ट्रियसभा निर्वाचन मार्फत संसद छिरेका हुन् ।

सत्ता गठबन्धनको साथ पाएका सिटौलालाई अहिले पनि सदनमा आउन हम्मे परेका थियो ।

सिटौलाले राप्रपाका उद्धव पौडेललाई ७३० मतान्तरले पछि पर्नुभयो। प्रदेश सभातर्फ पछि परेका सिटौलालाई स्थानीय तहले उद्धार गरेको थियो । प्रदेश सभातर्फ सिटौलाले २ हजार ३८५ मतभार पाउँदा पौडेलले २ हजार ४९१ मतभार पाएका थिए भने, स्थानीय तहतर्फ सिटौलाले २ हजार ९०७ र पौडेलले २ हजार ०७१ मत पाएका थिए ।

पछिल्लो समय जनता र पार्टीबाट टाढिएको संकेत पाएरहेका सिटौलालाई राष्ट्रियसभा निर्वाचन जित्न पनि त्यती सजिलो भने भएन । चुनावमा सिटौलाले आफ्ना सबै मतदाताको मत पाउँदै पाएनन् । यद्यपि निर्वाचन भने उनले जितेका छन् । यहाँबाट सिटौलाको उद्धार भएको छ । यो अवतरणले उनलाई राष्ट्रियसभामा कसरी स्थापित गर्छ भन्ने कुरा हेर्न बाँकी छ । भलै सिटौला र कांग्रेसजनको अपेक्षा भने राष्ट्रियसभा देख्ने छ । यदि कांग्रेसले सभाध्यक्षको जिम्मेवारी पाउने भएमा उनैलाई अगाडि बढाउने छ । नपाउन् अवस्थामा पनि कांग्रेसले उनका लागि जबरजस्त बर्गेनिङ गर्ने सम्भावना उच्च छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?