
धरान । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई ३-अण्डर ६७ को स्कोरमा शीर्षस्थानमा हुनुहुन्छ । डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर निरज तामाङलाई १८ होलको समाप्तिमा १ स्ट्रोकले पछि पार्नुभयो । २-अण्डर ६८ सहित निरज तामाङ दोस्रो स्थानमा हुनुहुन्छ ।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरूपमा तेस्रो स्थानमा रहनुभयो । उहाँहरूले १-अण्डर ६९ स्कोर गनुृभयो । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौँ स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौँ स्थानमा रहनुभएको छ । स्थानीय प्रो. सविन सापकोटा र देवराज पाख्रिनले २-ओभर ७२ सहित संयुक्तरूपमा सातौँ स्थान बाँड्नुभयो । भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौँ स्थानमा रहँदा धनबहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरूपमा दशौँ स्थानमा रहनुभएको छ । उहाँहरूले ४-ओभर ७४ मा पहिलो दिनको खेल सक्नुभयो ।
भारतीय गल्फ टुरमा २०२४ सिजनका लागि कार्ड जोगाएर फर्किनुभएका शुक्रले घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गर्नुभयो । ५-पारको तेस्रो होलमा इगलले सफलता प्राप्त गर्नुभयो तर लगत्तै चौथो होलमा डबल बोगीको सामना गर्नुभयो । यसपछि पाँचौँदेखि सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अण्डर ३२ मा सक्नुभयो । ब्याक नाइनमा उहाँले लय गुमाउनुभयो । १३औँ होलमा दिनको दोस्रो डबल बोगी खेप्नुभएका शुक्रले १२औँ र १६औँ होलमा एक-एक सट बचाउनुभयो । तर, १७औँ होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गर्नुभयो ।
धरानका अर्का प्रो. निरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सक्ने क्रममा उत्कृष्ट सुरूवात गर्नुभयो । तेस्रो, पाँचौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन ३-अण्डर ३३ मा सक्नुभयो । यसपछि १४औँ र १५औँ होलमा लगातार दुई बोगी प्रहार गर्नुभयो । १६औँ होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गर्नुभयो ।
एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अण्डर ३४ मा सक्ने क्रममा तेस्रो र पाँचौँ होलमा एक-एक सट बचाउनुभयो । १२औँ होलमा बर्डी प्रहार गर्नुभयो । तर, १४औँ र १६औँ होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सक्नुभयो ।
अर्का एमेच्योर पदमले पहिलो, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गर्नुभयो । तर, चौथो होलमा डबल बोगी र पाँचाँै होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अण्डर ३५ मा सक्नुभयो । यसपछि १०औँ र १८औँ होलमा बर्डी प्रहार गर्नुभएका पदमले १४औँ र १५औँ होलमा एक-एक सट खेर फाल्नुभयो ।
तीनदिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागिता रहेको छ । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । यो पटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् ।
कुल आठ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले एक लाख ४० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । पिजिए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच