काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै छ । ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित सुरु हुन लागेको ‘समुदायमा कांग्रेस’ अभियान माघ २६ गतेसम्म चल्नेछ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ । अभियानको लागि केन्द्रबाट खटिएका प्रतिनिधिलाई स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ । जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी लिने कांग्रेसले जनाएको छ । समुदायमा कांग्रेस अभियानले पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन गर्ने उद्देश्य कांग्रेसले राखेको छ । अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिएका छन् ।
अभियानका क्रममा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वा अन्य कुनै न कुनै वडाले तय गरेको सामाजिक अभियान कार्यक्रम हुने कांग्रेसले जनाएको छ । शहीद दिवसको अवसरमा हुने कार्यक्रममा शहीद परिवार, द्वन्द्वपीडित परिवार र प्रजातन्त्र सेनानी लगायतलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । समुदायमा अभियान कांग्रेसका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘देशभर एकैसाथ वडास्तरमा विभिन्न समुदायसँग निरन्तर छलफल कार्यक्रम हुन्छन् । तर, यसपटक औपचारिक कार्यक्रम, आसनग्रहण र नेताले भाषण गर्ने कार्यक्रम नगर्न भनिएको छ । यो समुदायसँग अन्तरसंंवाद गर्ने, गुनासाहरू सुन्ने र सुझाव संकलन गर्ने अभियान हो ।’
जिल्लाले वडा तहमा प्रतिनिधि खटाउने गरी कार्यक्रम तय गरिएको छ । जनताका कुरा सुन्ने अभियानमा औपचारिक कार्यक्रम नहुने र आसनग्रहण तथा भाषणको कार्यक्रम नहुने कांग्रेसले जनाएको छ । अभियानकै क्रममा १६ माघमा शहीद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुनेगरी कार्यतालिका बनाइएको छ । अभियानको अन्तिम दिन माघ २६ गते सुशील कोइरालाको स्मृति दिवससँगै कार्यक्रम समापन हुनेछ । कार्यक्रमको प्रारूपअनुसार तत् तत् ठाउँमा क्रियाशील रही समुदायमा कांग्रेस अभियानलाई सफल र प्रभावकारी बनाउन तथा माघ १६ गते सबै आफू क्रियाशील रहेको वडामा पुगी अभियानमा सहभागी हुन पार्टीको विभिन्न तहमा जिम्मेवारीमा रहेका सबैलाई कांग्रेसले आग्रह गरेको छ । अभियान प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्व-पदाधिकारीसँगै पार्टीका अन्य नेताले अभियानको प्रादेशिक समन्वय, अनुगमन र संयोजन गर्नेछन् । संविधानको भावनाअनुसार समुदाय बीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी ‘जनसंवाद र छलफल’ गर्ने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
क्रियाशील सदस्यले श्रम गर्नुपर्ने
अभियानअन्तर्गत कांग्रेस संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका कुरा सुन्न वडामा केन्द्रित हुने भएको छ । ‘समुदायमा कांग्रेस अभियान’ घोषणा गरेर कांग्रेसले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूलाई वडामा केन्द्रित गराउन लागेको हो । समुदायमा गएर जनताका कुरा सुन्न यो अभियान सञ्चालन गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । माघ १५ गते ६ हजार ७४३ वटै वडा कार्यसमितिको बैठक बस्न केन्द्रीय कार्यालयको परिपत्र छ भने शहीद दिवस अर्थात् माघ १६ देखि समुदायमा कांग्रेस अभियानको औपचारिक प्रारम्भ हुनेछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘माघ १६ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको समापन हुनेछ । यो अभियानमा जनताका अपेक्षा, सुझाव र गुनासा संकलन हुन्छन् । जनताबाट प्राप्त सुझावलाई तत् तत् तहका सरकारमा पुर्याउने, पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने काम गर्छौं । अभियानले संविधानको भावनाअनुसार समुदायका बीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्नेछ ।’
वडामा हुने कार्यक्रममा अनिवार्य उपस्थित हुन महामन्त्री थापाको निर्देशन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरूलाई १६ माघमा अनिवार्य आ-आफ्नो वडामा पुग्न निर्देशन दिनुभएको छ । शहीद दिवसको अवसर पारेर १६ माघमा पार्टीले आयोजना गरेको ६ हजार ७४३ वडाको कार्यक्रमको दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले निर्देशन दिनुभएको हो । ७८औँ पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा महामन्त्री थापाले देउवालाई पनि वडामा जान आग्रह गर्दै भन्नुभयो, ‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भ्रातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन शहीदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यहीँ पुग्नुपर्दछ । शहीद दिवसको दिनमा काठमाडौंमा देखिए कार्यक्रममा नपुगेको मानिनेछ । अब जिल्ला र केन्द्रमा नेता बस्न पाउने छैनन् ।’
केन्द्रीय कार्यालयले अभियानका क्रममा वडाको पायक पर्ने ठाउँमा कम्तीमा एकपटक वडावासीसँग सार्वजनिक छलफल गर्ने र त्यसमार्फत जनताका अपेक्षा, गुनासा र सुझाव सुन्ने कार्यक्रम गर्न परिपत्र गरेको छ । त्यस्तै, नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा क्लब, कृषक समूहदेखि समाजका सबै समूहसँग समेत छलफल गर्न र उनीहरूका कुरा सुन्न केन्द्रीय कार्यालयको परिपत्र छ । वडामा सेवा प्रवाहको अवस्था, स्वास्थ्य चौकी, विद्यालय, विकास निर्माणलगायत क्षेत्रमा भइरहेको गतिविधिको अवस्था बुझ्ने र जनताका कुरा सुन्ने कार्यक्रम गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
हुलाकीमार्ग संवादमा महामन्त्री थापा
समुदायमा कांग्रेस अभियान सुरु भएकै दिन महामन्त्री एवं प्रतिनिधि सभाका सदस्य गगन थापाले भने मेची-महाकाली संवाद यात्रा सुरु गर्दै हुनुहुन्छ । जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरूसँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म संवाद यात्रा सुरु गर्न लाग्नुभएको हो । अभियानकै क्रममा उहाँले आफू पूर्व-पश्चिम यात्रामा निस्किन लागेको जानकारी दिँदै भन्नुभयो, ‘अब तपाईंसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा हुनेछ । समुदायमा कांग्रेस अभियानअन्तर्गत म माघ १३ गते झापाको भद्रपुर–५, मेचीपुल भन्सारबाट तपाईँसँगको संवाद यात्रामा हुनेछु ।’ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म महामन्त्री थापाले हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न लाग्नुभएको हो । यात्राका क्रममा औपचारिक कार्यक्रमहरू नगर्ने उहाँको घोषणा छ । एक जिल्लामा कम्तीमा पाँचवटा कार्यक्रममा सहभागी हुने र सकेसम्म धेरै सर्वसाधारणका कुरा सुन्ने महामन्त्री थापाको योजना छ । महामन्त्री थापाले यात्राका क्रममा झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम तय गर्नुभएको छ ।
योगराज उपाध्याय र नुतन थपलियालाई कांग्रेसको सम्मान
नेपाली कांग्रेसले योगप्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको छ । कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लाग्नुभएका पुराना नेताद्वयलाई पार्टीले शुक्रबार सम्मान गरेको हो । पार्टी स्थापनाको ७८औँ वर्ष पुगेको अवसरमा उपाध्याय र थपलियालाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्मान गरेका हुन् । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी हुनुभएको थियो । नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाइ गर्नुभएको थियो । बिपी कोइरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासनमा बिताउनुभएको थियो । राजा र दलबीचमा समन्वय गरेर जानुपर्ने मत राख्ने उपाध्याय २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको सहमहामन्त्री र पार्टी प्रवक्तासमेत बन्नुभएको थियो । कांग्रेसले शुक्रबार सम्मान गरेका अर्का व्यक्ति थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लाग्नुभएको थियो ।
शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिनुभएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुनुहुन्छ । २००७ सालमा बिपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा थपलियालाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उहाँले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाउनुभएको थियो । राजनीतिक कार्यक्रममा लागेको आरोपमा २०२५ सालमा उहाँले शिक्षण पेसा गुमाउनु परेको थियो । थपलियाले मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेसनलको स्थापनामा योगदान गर्नुभएको थियो । ९४ वर्षका उहाँलाई केन्द्रीय कार्यालयमा कांग्रेसले सम्मान गरेको हो ।
देश निर्माणमा योगदान दिएकाहरूको सम्मान गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे पार्टीले आमनागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी स्थापनाको ७८औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएको स्मरण गर्दै नेताहरूले दिएको योगदानबारे सबै नेपालीहरूलाई बुझाउन जरुरी रहेको बताउनुभएको हो । सभापति देउवाले भन्नुभयो, ‘योगराज उपाध्याय र नुतन थपलिया यी महान् व्यक्तिहरू जो आज हामीले सम्मान गर्न पायौँ, उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ, नेपालका लागि । उहाँहरूका बारेमा हामी किताबहरू निकालेर भए पनि, लेखेर भए पनि हामीले सबैलाई बाँड्नुपर्छ । उहाँहरूले दिएको योगदान सबै नेपालीहरूलाई बुझाउनुपर्छ । उहाँहरूको योगदानको जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ । उहाँहरूलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’
व्यवस्था मात्र होइन, अवस्थामा पनि परिवर्तन आएको छ : सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २०४६ सालपछि राजनीति व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन आएको जिकिर गर्नुभएको छ । पार्टी स्थापना दिवसमा बागमती प्रदेश कार्यसमितिले शुक्रबार मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पूर्वमहामन्त्री सिंहले कांग्रेस नेतृत्वमा भएका आन्दोलनले राजनीतिक व्यवस्थासँगै अवस्था पनि परिवर्तन आएको जिकिर गर्दै भन्नुभयो, ‘केही भएको छैन भन्नेका पछाडि नलाग्नुस् । राजनीतिक व्यवस्था बदलियो अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको छ तर त्यस्तो होइन । ०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएको छैन, अवस्था पनि फेरिएको छ । ०४६ अघि के थियो ? शिक्षा, स्वास्थ्य, विकासको क्षेत्रमा अहिले के छ ? त्यो तुलना गरी हेरौँ ।’ उहाँले असहज अवस्थामा मिलेका दलहरूबीच एकता थप बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच