अख्तियारद्वारा राहदानी विभागका तत्कालिन कम्प्युटर इन्जिनियर र एक सेवा सेवाग्राहीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा करारमा कार्यरत तत्कालिन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनु भयो ।

त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि राहादानी बनाएवापत सेवाग्राहीसँग रु. ३४,००० घुस माग गरी लिइएको देखिएको र निज प्रदिप भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

साथै अख्तियारले इन्जिनियर भट्टराईलाई दुरुत्साहन दिएको भन्दै सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धामीले भट्टराईसँग मिलेमतो गरी घुसवापतको रकम भट्टराईको खातामा जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?