शीतभण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

फाइल तस्बिर

रासस
Read Time = 4 mins

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखाैँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका-२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताउनुभयो ।

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि रु ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब रु ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राख्नुभएको थियो । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएकाे थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।

सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।

वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उहाँले बताउनुभयो । प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्सेनि सुन्तला बिग्रिँदा किसान चिन्तित भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो । सिम्लेका सुन्तला किसानको शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरेको छ । सुन्तला पाणिनि गाउँपालिका-१ पणेना र वडा नं २ पोखरा थोकको प्रमुख उत्पादनको स्रोत हो । पणेनामा दुई सय र वडा नं १ सिम्लेमा मात्रै करिब ४९ जना किसानले वार्षिक सुन्तला खेतीबाट घटीमा रु एक लाखदेखि बढीमा रु २८ लाखसम्म आम्दानी गर्दै आएका थिए ।

अर्घाखाँचीमा पाँच सय हेक्टर क्षेत्रमा सुन्तलाखेती हुन्छ । पाणिनि गाउँपालिका-१ पणेना, वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?