निरोगिताकाे प्रमाणपत्र विनै खसी बाख्रा विक्री वितरण

कलैया उपमहानगरपालिकामा खसी बाख्रा खरीद विक्री गर्दै व्यापारी तथा किसान । 

हिमालय टाइम्स
Read Time = 6 mins

बारा । कलैया उपमहानगरपालिका-६ स्थित बाख्रा बजारबाट निरोगिता प्रमाण पत्र विनै खसी बाख्रा विक्री वितरण हुने गरेको छ ।

हप्ताको दुई दिन सोमबार र विहिवार लाग्ने खसी बाख्रा बजारबाट निरोगिता प्रमाण पत्र विना नै निर्वाध रुपमा विक्री वितरण हुने गरेको पशु चिकित्सक डा. कमरुल्लाह अंसारीले बताउनुभयो ।

'विगत लामो समय देखि यसरी नै निरोगिता प्रमाणपत्र विनै उपभोक्ता तथा व्यापारीहरुले खसी बोका किनेर लाने गरेका छन्,' उहाँले भन्नुभयो,‘अहिले पनि स्थानीयहरुमा जनचेतनाको अभाव रहेको छ । विशेष गरि जिल्ला बाहिर खसी बाख्रा लिएर जानेहरुले मात्र निरोगिता प्रमाण पत्र लिने गरेका छन् ।' जिल्ला भित्रका मानिसहरु निरोगिता प्रमाणपत्र विनै खसी बाख्राहरु लैजाने गरेको उहाँले बताउनुभयो ।

'व्यापारीहरुले आफू स्थानीय नै भएको र जिल्ला भित्र निरोगिता प्रमाण पत्र चाहिदैन भन्छन', उहाँले भन्नुभयो,‘बाहिरबाट आएका व्यापारीहरुलेसमेत यसरी नै स्थानीय व्यापारी हुँ भनि निरोगिता प्रमाणपत्र नै नलिई खसी बाख्रा किनेर लैजाने गरेको उहाँले बताउनुभयो ।

'खसी बाख्राको बजार लाग्दा दुई देखि चार जनाले मात्र निरोगिता प्रमाण पत्र लिने गरेका छन्', उहाँले भन्नुभयो,‘बाहिरबाट आएका व्यापारीहरुले समेत स्थानीय बनेर निरोगिता प्रमाण पत्र नै लिई खसी बाख्रा लाने गरेका छन् । यसमा दोषी भनेको प्रहरी प्रशासन हो । दुई चार पैसाको लोभमा निरोगिता प्रमाणपत्र नै चेकजाँच नगरि निर्वाध रुपमा खसी बोकाहरु ओसार पसार गर्न दिँदा उनीहरुको मनोबल बढेको छ ।'

पशु चिकित्सक आफू नआएर निरोगिता प्रमाणपत्रको ठेली नै अरुलाई दिएर पठाउने गरेको व्यापारीहरुले आरोप लगाएका छन् । 'पशु चिकित्सक आफू आउँदैनन', एकजना व्यापारीले भने, ‘बजारको ठेकेदारका पार्टनरले नै निरोगिता प्रमाण पत्र राखेका हुन्छन् ।'

यतिमात्र होइन कलैया उपमहानगरपालिकाले प्रत्येक खसी बोकाको ३५ रुपैयाँको दरले राजस्व असुली गर्न ठेक्का लगाएको छ, वीरगंज महानगरपालिका-१२ मुर्लीका नसिम मंसुरीले भन्नुभयो,‘तर ठेकेदारका पार्टनर रामनाथ साहले प्रति खसी बोकाको राजस्व ५० रुपैयाँ लिने गरेको गुनासो गर्नुभयो । जबकि खसी बोका विक्री गर्नेसँग ३५ रुपैया र किन्ने मानिससँग १० रुपैया लिनु पर्ने नियम रहेको उहाँले बताउनुभयो ।

यसरी नियम विपरित किन्ने मानिससँग पनि ५० रुपैयाँ र बेच्ने मानिससँग पनि ठेकेदारले ५० रुपैयाँ लिने गरेको उहाँको आरोप रहेको छ ।

यसै गरि आदर्शकोतवाल गाउँपालिका ४ का व्यापारी तथा पशु किसान अलिराज खानले ठेकेदारले आफूहरुलाई ठग्ने गरेको गुनासो गर्नुभयाे । उहाँले ठेकेदारले आफूहरुले विक्री गरेको खसी बोकाको प्रति खसी बाख्राको ५० रुपैयाको दरले राजस्व लिने गरेको बताउनुभयो । राजश्व पनि लिन्छन र रसिद पनि दिदैनन उहाँले भन्नुभयो, ‘रसिद माग्दा रिसाएर कुरा गर्ने गरेको उहाँले बताउनुभयो ।

आफूले कुनै पनि किसान वा व्यापारीसँग बढी रुपैयाँ नलिएको कलैया उपमहानगरपालिका-४ का ठेकेदार रामनाथ साहले बताउनु भयो ।

नासिर मिया र आफूहरुसमेत मिलेर कलैया उपमहानगरपालिकाबाट १ वर्षको लागि १५ लाख १५ हजारमा बाख्रा बजार ठेक्कामा लिएको र नियम संगत नै कर लिने गरेको उहाँले दावी गर्नुभयो ।

आफू नयाँ आएको कारण सम्पूर्ण कुरा जानकारी नभएको कलैया उपमहानगरपालिका कर शाखाका प्रमुख प्रभात वर्माले बताउनुभयो । कलैया उपमहानगरपालिकाले खसी बाख्राको कर ३५ रुपैयाँ तोकेको हो । यसको बारेमा फाइल हेरेर मात्र केही भन्न सकिने र फाइल राख्ने व्यक्ति इमरजेन्सी परेर बाहिर रहेको कारण यकिनसाथ भन्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । यदि कोही कसैले नगरपालिकाले तोकेको कर भन्दा बढी कर लिएको छ भने कारवाही गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?