
खोटाङ । खोटाङबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्ये अधिकांश आफन्तबाटै ठगिने गरेका छन् । विदेश पठाईदिने भन्दै एजेण्ट तथा मेनपावरहरुले सिधासिधै ठग्ने र धम्कीसमेत दिने गरेको पीडितहरुले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन सामीले बिहीबार नगरको सभाहलमा ‘जिल्लामा बैदेशिक रोजगारको पछिल्लो अवस्थासहित सुरक्षित आप्रावासन सम्बन्धि’ पत्रकारहरुसँग गरेको अन्तरक्रियामा सहभागी पीडितहरुले जिल्लाबाट विदेश जाँदा आफन्तबाटै ठगिएको बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल सोल्माकी सानीदाहालले आफ्नो छोरा र भान्जालाई माल्टा पठाईदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले २२ लाख ठगेको पीडा सुनाउनुभयाे ।
करीवदुई वर्षअघि माल्टा पठाइदिन भनेर शेर्पालाई पैसा दिएपछि उनी सम्पर्क विहीन भएका थिए । 'साहुबाट काढेको ऋण तिर्न छोरा अहिले कतारमा छ', पीडित दाहालले भन्नुभयाे । दाहालको भान्जा अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन् ।
दाहाल परिवारले शेर्पालाई आईएमईमार्फत् र नगद पैसा गरी ११-११ लाख बुझाएका थिए । जापान पठाइदिने भन्दै दिक्तेलकै सरोज सुन्दासलाई उनै शेर्पाले चार लाख ठगेको तर जापान नपठाएपछि दवाब दिएर सबै पैसा फिर्ता लिईएको सुन्दासले बताउनुभयाे । ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेको र अहिले फ्रान्स वा क्रोएसियामा रहेको चर्चा चल्ने गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल सोल्माका प्रेम पुरी (हाल बेलबारी मोरङ)ले दिक्तेलका पाँचजनालाई दुबई र एक जनालाई जापान पठाइदिने भन्दै आठ लाख ९५ हजार ठगी गरेर सम्पर्क विहीन भएपछि पीडितहरुले माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भनि दिक्तेलका इन्द्र बहादुर खड्का (माइकल), कर्ण बहादुर खडका, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट ५०-५० हजार, सोम बहादुर भण्डारीबाट ३५ हजार र जापान पठाईदिने भन्दै बाबुराम खड्काबाट छ लाख ६० हजार ठगी गरेका हुन् ।
पीडितहरुले पुरीलाई २०७५ माघ ८ गते आईएमईमार्फत पैसा पठाएको प्रमाणहरुबाट देखिन्छ । पुरीको तीनवटा मोवाइल नम्बरसहित उजुरी दिईएको छ। यद्यपी, कुनै पनि नम्बरमा फोन लाग्दैन ।
पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई, वर्तमान अध्यक्ष दिलीप खत्री, महासंघका सह-सचिव चिसाङ शेर्पाले वैदेशिक रोजगारीमा जानेलाई मेनपावरले अन्तिममा विमानस्थलको अध्यागमन विभागको ढोकामा पुगेर मात्रै सम्पूर्ण कागजात दिने र भनेजति पैसा नदिए फर्काई दिने भन्दै धम्की दिंदै पैसा असुल्ने गरेको समस्या पीडितहरुबाट आउने गरेको बताउनुभयाे ।
पत्रकार केदार मगर, भीम राईलगायतले वैदेशिक रोजगारीमा वाध्यताले जानेहरु कहीँ न कहीँ एजेण्ट तथा मेनपावरबाट ठगिइरहेको बताए । बिदेश नगई भएको छैन । मेनपावरले यति पैसा दिनु भन्छ, नदिए पठाउँदिन भनेर धम्की दिन्छ । मलेसिया जान तीन लाख सम्म मेनपावरहरुले लिने गरेको गुनासो आउने गरेको छ ।
गएको कार्तिक १३ गते काठमाण्डौस्थित शम्भु मार्गमा रहेको एक मेनपावरले मलेसिया जानलाई प्रति व्यक्ति तीन लाख २० हजारदेखि तीन लाख ५० हजारसम्म लिएको एकजना पीडितले बताए ।
पैसा दिएको बिल माग्दा कसैलाई दिने नगरेको भन्दै बिल दिन नमानेको र एयरपोर्टमा सोधेमा १० हजार तिरेको भन्नु भनेर मेनपावरले सिकाउने गरेको पीडितले सुनाए । विदेश नआई भएको थिएन । मेनपावरले भनेजति पैसा नदिए उडाउदिन भन्थ्यो । ती पीडितले भने, ‘मलेसिया आउन तीन लाख २० हजार तिर्नुपरेको थियो।’
नेपाल सरकारले मलेसियाजानलाई १० हजार मात्रै तिर्नुपर्ने नीति ल्याए पनि त्यो कागजमा मात्रै सिमित रहेको सामी कार्यक्रम संयोजक सन्तोष कुमार राईले बताउनुभयो । राईका अनुसार खोटाङका ४६ जना मेनपावर तथा एजेण्टबाट ठगिएका छन् । उनीहरुको प्रमाणसहितको कागजात ल्याएर केश चलाईरहेका छौ । उहाँहरु १ करोड ५ लाख १३ हजार ठगिनु भएको छ ।
अन्तरक्रियामा चालू आर्थिक वर्ष २०८०/२०८१ को पुससम्म खोटाङका ३९२ जना महिला र तीनहजार ७७४ जना पुरुष गरी चार हजार १६६ जनाले श्रम स्वीकृति लिएको जानकारी दिईएको थियो ।
सामीले सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, न्यायमा पहुँच र सूचनामा पहुँच सम्बन्धी कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाहेक, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपलिकामा गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच