काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुख नायव महानिरीक्षक (डिआइजी)अर्जुन चन्द ठकुरीले राजीनामा दिनुभएको छ । डिआइजी चन्दले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताउनुभएको छ । उहाँलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि चन्दले राजीनामा दिनुभएको हो । केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो । यद्यपि, उक्त घटनाका कारण आफूले राजीनामा नदिएको चन्दको दाबी छ । विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डिआइजी चन्दको राजीनामा आएको हो ।
विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बीचको विवाद छानविन गर्न गठित समितिले गरेको सिफारिसप्रति पनि उहाँ असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरू बताउँछन् । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको थियो । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एक अधिकृतले बताउनुभयो । स्रोतका अनुसार उहाँ प्रदेशको कमाण्ड गरेर जान चाहनुहुन्थ्यो । प्रदेशको कमाण्ड नपाएपछि चन्द नेतृत्वसँग असन्तुष्ट रहँदै आउनुभएको थियो । उहाँ अहिलेका महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका अधिकृत हुनुहुन्छ ।
निलम्बनको सिफारिस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको थियो । प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानविन गर्न गठित समितिले सो सिफारिस गरेको थियो । घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको थियो । यस्तै, विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमाण्ड’ गर्नुभएका डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन समितिको सिफारिस थियो । उहाँले आफू मातहतका प्रहरी कर्मचारीलाई कुशलतापूर्वक कमाण्ड गर्न नसकेको समितिको निष्कर्ष थियो ।
घटना भएको दिन डिआइजी अर्जुन चन्द बिदामा हुनुहुन्थ्यो । उहाँपछिका एसएसपी र एसपी ‘मिटिङ’लगायत कामका सिलसिलामा कार्यालयभन्दा बाहिर थिए । त्यसैले डिएसपी पोखरेलले कमाण्ड गर्नुभएको थियो । प्रहरीबाट कुटाइ खानुभएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको छ ।
सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियोे । गएको शुक्रबार गृहले गठन गरेको समितिमा डिआइजी राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच