
काठमाडौं । दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको संख्या दिनानुदिन बढिरहेको छ । क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक दैनिक बढिरहे पनि क्यान्सर रोग लागेर अस्पताल आउने बिरामी भने घट्न सकेका छैनन् । गएको १० वर्षमा क्यान्सरको उपचारका निम्ति अस्पताल पुग्ने बिरामीको संख्या १० गुणाभन्दा धेरै बढेको विभिन्न तथ्यांकहरूले देखाउँदै आएका छन् । विश्वभर क्यान्सरका बिरामीहरूको तथ्यांक राख्ने ‘ग्लोबोक्यान’ नामक संस्थाले गरेको अनुमान अनुसार नेपालमा वर्षेनी ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी देखापर्छन् । उक्त अनुमानलाई आधिकारिक मान्न नसकिए पनि अस्पतालमा दर्ता भएका बिरामीहरूको संख्याको आधारमा नेपालमा तीव्र रूपमा क्यान्सर रोगीको संख्या बढिरहेको चिकित्सकहरूको भनाइ छ । नेपालमा सबैभन्दा बढी मानिसमा फोक्सोको क्यान्सर देखिएको छ । महिलाहरूमा मात्रै हेर्ने हो भने पछिल्लो समय पाठेघर र स्तनको क्यान्सरमा वृद्धि भएको छ । कतिपय अन्य अस्पताल र नर्सिङ होमहरूमा क्यान्सरको उपचार हुने भए पनि उपलब्ध स्रोत-साधनमा विश्वास गर्न नसकी धेरै बिरामीहरू उपचारका निम्ति भारत लगायतका मुलुक जाने गरेको बताइन्छ । चाँडो रोग पत्ता लागे निको हुने यो रोगको उपचारका लागि बिरामीहरू भने निकै ढिलो मात्रै अस्पताल पुग्ने गरेको बताइन्छ ।
सरकारले नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको जनाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । २०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताउनुभयो । उहाँले नेपालमा प्रत्येक वर्ष करिब २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताउनुभयो । २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर रहेका छन् ।
उहाँले भन्नुभयो, ‘अहिले क्यान्सरको विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । अहिलेको ग्लोबल डाटा हेर्नुपर्दा ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट भएको देखिन्छ । एकतिहाइ कारक तत्वहरूमध्ये सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ ।’
अहिले २० हजार नयाँ केसको डिटेक्सन भएको र १६ हजार मृत्यु भएको उहाँको भनाइ छ । उहाँका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । उहाँले भन्नुभयो, ‘नेपालमा २० हजार नयाँ केसको डिटेक्सन भएको देखिन्छ । १६ हजार मृत्यु भएको देखिन्छ । पुरुष र महिलाको तुलना गर्नुपर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।’
यसैबीच, नेपालमा क्यान्सर उपचारमा ‘कार-टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी गरिएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले संयुक्त राज्य अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट प्रमाणित सिडी-१९ को प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको बताएको हो । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको सिडी-१९ कार-टी सेल स्विस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा. सञ्जीवन गौतमले बताउनुभयो ।
अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलोपटक भएको काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । प्रयोगशालामा सफल कार-टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्य्राक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको रहेको बताइएको छ । ‘कार-टी सेल एक विशेष उपचार पद्धति हो । जसको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ,’ डा. गौतमले भन्नुभयो ।
विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी आइतबार मनाइएको छ । ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
नसर्ने रोगको अग्रस्थानमा क्यान्सर : डा. न्यौपाने
नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदयरोगलाई जितेर क्यान्सर रोग पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बिपी क्यान्सर अस्पतालका पूर्वनिर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक एक जनाजसो क्यान्सर बिरामी सिफारिसका लागि जाने गरेको बताउनुभयो । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष दुई सय पुगिसकेको जानकारी उहाँले दिनुभयो । नेपाल एनसिडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गरेको स्तन क्यान्सरसम्बन्धी स्क्रिनिङ प्रशिक्षणमा उहाँले नेपालमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरूलाई नराम्रोसँग दुःख दिइरहेको बताउनुभयो । महिला प्रजनन अंग भएकाले अरूलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरूको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
क्यान्सर न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मूलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘क्यान्सर रोगलाई यो देशबाट न्यूनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मूलन त तत्कालै भन्न सक्दैनौँ । न्यूनीकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । यसमा हामी आ-आफ्नो क्षेत्रबाट जे सक्छौँ, जति सक्छौँ । कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला । यसमा लामोलामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरू यहाँ अहिले उपस्थिति हुनुहुन्छ । यसले नेपालमा क्यान्सर रोगकाविरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसको निम्ति जग तयार पार्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोगविरुद्ध लड्नेछौँ । यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी हुनेछैन । मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु ।’
उहाँले क्यान्सर न्यूनीकरणका लागि आ-आफ्नो ठाउँबाट सकेको योगदान पु¥याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशनसमेत दिनुभयो । मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लड्ने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराउनुभयो । उहाँले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुनेसमेत स्पष्ट पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच