काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद तथा एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालकसमेत रहेका तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई तीन वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय निर्धारण गरेको हो ।
यसअघि गत माघ ७ गते इच्छारज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । आइतबार सजाय निर्धारण गर्न बसेको इजलासले उक्त निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी गराउनुभयो । नेकपा एमालेका पूर्व-सांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो । उनकी श्रीमती सृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।
केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ ३७ पैसा बिगो, बिगोबराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ । यस प्रकरणमा इच्छाराजकी पत्नी तामाङविरुद्ध एक अर्ब तीन करोड पाँच लाख, छोरीहरू प्रतीक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो ।
सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । सिभिल सहकारी प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल हाल कारागारमा छन् । सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए । त्यहीकारण सहकारीमा जम्मा भएको साढे पाँच अर्बभन्दा धेरै बचत पनि डुबेको थियो ।
यसअघि ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसबेला इच्छाराज र केशव थुनामा पठाउँदा अन्यलाई धरौटी मागिएको थियो । यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहरप्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको थियो ।
सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो । अर्का अभियुक्त सिभिल सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरसँग पाँच लाख रुपैयाँ धरौटी अदालतले मागेको थियो । सिभिल सहकारीकै जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनसँग पनि पाँच लाख धरौटी मागिएको थियो । अदालतले सिभिल सहकारीका सहजकर्ता भगवानबहादुर सिंहसँग पनि १० लाख रुपैयाँ धरौटी माग गरेको थियो । सिभिल सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार धरौटी अदालतले मागेको थियो । अदालतले सिभिल सहकारीका लेखा अधिकृत राकेश महर्जनसँग ५० हजार, सिभिल सहकारीकै जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुंगानासँग अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको थियो ।
त्यसैगरी, सिभिल सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङसँग अदालतले पाँच लाख धरौटी माग गरेको थियो । तर, लेखा सहायक संगीत श्रेष्ठ भने साधारण तारेखमा रिहा भइसकेका छन् । त्यसबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारीका निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा पूर्वसांसद तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । तामाङका श्रीमती र दुई छोरीलाई पनि प्रतिवादी बनाइएको थियो । यो मुद्दामा पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो । उनीहरूविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो ।
तामाङले २०५५ मा सिभिल सहकारी खोलेर अध्यक्ष बनेका थिए । त्यहीबीचमा उनले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारमा हात हालेका थिए । उनले आफ्नै सहकारीमार्फत ऋण लिएका थिए । धितो राखेकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब एक हजार १०० घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी त्यसको अध्यक्ष बनेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच