सुर्खेत । रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाअन्तर्गत पर्यटकीय पदमार्ग निर्माणको काम अलपत्र परेको छ । पदमार्ग निर्माणका लागि ठेकेदार चन्द्र थकालीले आठ करोड रकम पेश्कीसमेत लिनुभएको छ । तर, पेश्की लिएको दुई वर्ष बितिसक्दासमेत पदमार्ग निर्माणको काम भएको छैन । कर्णाली प्रदेशको प्रमुुख पर्यटकीय स्थलको रूपमा चिनिँदै गएको मुगुको राराताल वरिपरि १५ किलोमिटर पर्यटन पदमार्ग निर्माण गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको दुई वर्ष बितिसक्दासमेत पदमार्ग निर्माण हुन नसकेको हो ।
पदमार्ग निर्माणको जिम्मा लिएको खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रालि कम्पनीले नै लापरबाही गरेपछि आयोजनाको काम अलपत्र परेको हो । रारामा पर्यटकीय पूर्वाधार साइकल लेन पदमार्ग निर्माणका लागि नेपाल सरकार संघीय सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा ४६ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटमा रही ठेक्का आहृवान गर्दा क्याराभान कन्ट्रक्सन प्रालिले ४४ करोड २९ लाखमा निर्माण कार्यको ठेक्का पाएको थियो । योजना निर्माणको जिम्मा पाएको कन्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेश्की लिएर केही महिना सम्पर्कविहीन नै बन्नुभएको थियो । योजना अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि सम्पर्कका लागि कार्यालयले पटक–पटक ताकेतासमेत गरेको थियो ।
पर्यटन पदमार्ग निर्माणका लागि ल्याइएका सिमेन्टका इँटा, कंक्रिट जस्ता सामग्री यत्रतत्र छरपस्ट फालिएका छन् । तोकिएको समयमा काम सक्नेगरी योजना सम्झौता भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न सकेको छैन । जिल्ला वन डिभिजन कार्यालय मुुगुुका कार्यालय प्रमुुख अमर साहका अनुसार उक्त बहुुवर्षीय योजना ०८२ सालसम्म सक्नुुपर्ने भए पनि कम्पनीको लापरबाहीले काम हुन सकेको छैन । ‘ठेकेदार कहिले सम्पर्कविहीन हुन्छन् त, कहिले काम सुरु गरेजस्तो गर्छन् । तर, हाम्रो कुरा मान्दैनन् । यसबारे मुख्यमन्त्री कार्यालयमा समेत गुनासो गरियो’ कार्यालय प्रमुख साहले भन्नुभयोे, ‘यसरी ठेकेदारको काम हेर्दा योजना सम्पन्न गर्नु मुस्किल छ । निरन्तर दबाब दिएपछि काम सुरु गरेका थिए । फेरि चिसो मौसमलाई दोष देखाउँदै काम रोक्नुभएको छ ।’
उहाँका अनुसार निर्माण गर्नुपर्ने १५ किलोमिटर पदमार्गमध्ये हालसम्म करिब सात किलोमिटर मात्रै काम भएको छ । तर, त्यही काम पनि अधुरो अवस्थामा छ । कार्यालयले करिब तीन वर्ष सम्ममा पनि सोचेअनुुरूप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठी पठाएको थियो । तर, सुनुुवाइ भएन । यता, भएको कामको समेत ज्याला नपाएको भन्दै कामदारले गुनासो गरेका छन् ।
पेश्की फिर्ता र सम्झौता रद्द भएन
ठेकेदारको कामप्रति टीका टिप्पणीसहित व्यापक आलोचना हुन थालेको छ । तर, जिल्ला वन डिभिजन कार्यालय मुुगुु आफैँ ठेकेदारसँग पेश्की फिर्ता र सम्झौता रद्द गर्न असफल भएको छ । पेश्की लिएर काम नगरी लामो समय ठेकेदार सम्पर्कविहीन हुँदा कार्यालयले पेश्की फिर्ता र सम्झौता रद्द गर्नको लागि पटक-पटक चिठी पठाएको थियो । कार्यालयको चिठीपछि ठेक्का कम्पनीले योजना सदरको माग गर्दै उच्च अदालतमा मुद्दा हालेको थियो ।
उच्च अदालतमा हालेको पहिलो मुुद्दा २०७९ फागुुन १७ गते रिट निवेदन खारेजपछि कम्पनीले पुनः मुद्दा हाल्दा योजना सदर गर्न आदेश आएपछि काम नगरी करोडौँ पेश्की रकम खाएर बस्ने ठेकेदारकै पक्षमा फैसला भएको हो । कार्यालय प्रमुख साहका अनुसार कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपाय अपनाइएको थियो । तर, योजना सदर गर्न आदेश आएपछि ठेकेदारलाई झन् सजिलो भयो । यही रफ्तारले काम नहुने निश्चित छ । ठेक्का कम्पनीले राज्यको पैसा दोहन गर्ने, काम नगर्ने ब्याज मात्र असुली गर्नेजस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुुलीको पत्र कार्यालयले पठाएको थियो ।
यता, रारा राष्ट्रिय निकुुञ्जका अनुसार निकुुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिए पनि वर्षौं बित्दा काम नभएकोमा आपत्ति जनाइएको छ । निकुञ्जभित्र पूर्वाधार निर्माण हुने भनेपछि अनुुमति दिइएको थियो । तर, एकपटक अनुमति लिए पनि निर्माणको काम हुन नसक्दा रारा घुम्न आउने पर्यटकलाई समेत असहज भएको छ । भने अर्कोतिर पेश्की लिएर काम अलपत्र छोड्नु राज्यको रकमको दोहन पनि हो । काम अलपत्र छोड्दा राराको सौन्दर्यतामा समेत आँच आएको निकुञ्जले जनाएको छ । यता, योजना अलपत्रका विषयमा जानकारी लिनका लागि ठेकेदार चन्द्र थकालीसँग पटक-पटक सम्पर्क गर्दा पनि फोन उठाउनुभएन ।
प्रदेश सरकार पनि मौन
आर्थिक वर्ष २०७६/०७७ मा पनि कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रारामा पुगेर रारामा साइकल लेन पर्यटकीय पूर्वाधार निर्माणका लागि शिलान्याससमेत गर्नुभएको थियो । तर, त्यो योजनाले पनि पूर्णता पाएन ।
कर्णाली प्रदेश सरकारबाट पटक-पटक बजेट आउने तर काम अगाडि नबढ्ने, बजेट फ्रिज हुने प्रवृत्तिले रारामा सोचेअनुरूप संरचना बन्न सकेका छैनन् । कर्णाली सरकारमा कर्मचारीमाथि मन्त्रीहरूको कमजोर प्रस्तुति तथा निर्देशन, कर्मचारीहरूको काम छल्ने प्रवृत्ति लगायतका समस्या र सम्बन्धित निकायको उदासीनताका कारण रारामा पर्यटकीय पूर्वाधारतर्फ भौतिक संरचना बन्न सकेका छैनन् । भने छुट्याइएको बजेटसमेत कार्यान्वयन हुन सक्दैन ।
कर्णाली चिनाउने र कर्णालीको अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने सम्भावना बोकेको राराप्रति बाटोको यात्रा र बासका कारण पछिल्लोसमय गलत बुझाई बढ्दै गएको छ । भने बाहृय पर्यटकहरू पनि घटेका छन् । तसर्थ राराताल वरिपरि १५ किलोमिटर पर्यटन पदमार्ग समयमै निर्माण भएको खण्डमा पर्यटकलाई समेत यात्रामा सहज हुने देखिन्छ । करोडौँ पेश्की लिएर काम नगर्ने ठेकेदारले सरकारलाई समेत नटेरेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच