बस आफ्नो गतिमा हुइँकिरहेको थियो । झ्यालबाट दायाँबायाँ नजर दौडाउँदा घर, बगैंचा, खेत, बारी पनि सँगसँगै तर उल्टो दिशातर्फ कुदिरहेको भान हुन्थ्यो । जलपानका लागि जसै बस अडाइयो, मानौं, ती पनि थामिए । लामो सफरमा हिँडेका यात्रुले यही मेसोमा आपसी चिनजानको अवसर पाए । २३/२४ दिने चारधाम यात्रा सहजतासाथ समापन हुने सदिच्छा पनि व्यक्त गरियो । ‘चारधाम होइन, उत्तराखण्डको चारधाम भन्नुपर्छ ! यमुनोत्री, गङ्गोत्री, केदारनाथ र बद्रीनाथ उत्तराखण्डका चारधाम हुन् । अहिले तपाईंहरू उत्तराखण्डको चारधाम जाँदै हुनुहुन्छ । खासगरी चारधाम भन्नाले बद्रीनाथ, केदारनाथ, रामेश्वरम् र द्वारिकानाथ हो । यो यात्रा पूरा भएपछि तपाईंहरूको तीनधाम बाँकी रहन्छ । सम्पर्कमा रहनुहोला ! पुस मसान्तमा मैले त्यता लाने हुँ !’
चालु यात्राबारे जानकारी दिनेक्रममा भावी भ्रमणको विज्ञापनसमेत गर्न नचुकेका यी व्यक्तित्व हुन्- चिदानन्द । पहिले अर्कै नाउँ थियो रे, तीर्थयात्रा गराउन थालेदेखि पुरानो नाम, थरमात्रै होइन, पहिरनसमेत फेरेका रहेछन् । कत्तिलाई ननिको लागेछ, अरूलाई नराम्रो लागेर के गर्नु, कत्रो फलीफाप भइरहेको यिनको ठहर छ । लामो कपाल, निधारभरि टीका, कानमा कुण्डल, गलामा रुद्राक्ष र तुलसीको मालासहित गेरुवा रङको कुर्ता अनि पहेंलो सुरुवालमा ठाँटिएर हिँड्दा ‘महाराज’ भन्दै भारतमा गोडा छुन आउने कति हुन् कति !
यात्रुले उनको व्यक्तित्व राम्ररी पर्गेलिसकेको भेउ पाए पनि थाहा नपाए झैँ हरेक चरणमा उनी उही चरित्र दर्शाउन कहिले पछाडि परेनन् । हरिद्वारबाट ऋषिकेशतर्फ बस हुइँकिइरहेका बखत बडो चतु¥याइँसाथ ओकल्नसमेत भ्याए, ‘हेर्नोस्, तपाईंहरूलाई पत्यार नलाग्ला मलाई हनुमान सिद्धि छ ।
लुगाजस्तो लाए पनि नाउँ चाहिँ फेर्न नहुने आफन्तका भनाइलाई पनि दिमागी दरिद्रताको उपज ठान्छन् यिनी । यस्तो पहिरनमा हिँड्दाखेरि कतिपयले ‘आप का नाम क्या है महाराज ?’ भनी सोधे भने गाउँघरमा झैँ ‘डाँडाघरे साहिँलो’ भन्नु कि बाउले राखेको ‘रणबहादुर कट्टेल’ जनाउनु ! पेसासित कुनै ¥याङठ्याङ मिल्दैन, त्यही भएर ‘चिदानन्द’ राखियो, टन्टै खलास् ! चिदानन्द महाराजलाई मुड चल्नुपर्छ, चालकतिर मोहडा भएको बेन्चमा पसारिई यात्रुतिर फर्कंदै यिनी घण्टौं बोल्नसक्छन् । यिनको एउटा मान्यता छ, आफ्नो कुरा सुनाइरहनु, अरूको फिटिक्कै नसुन्नु ! अरूले मुख बाउन भ्याएको हुँदैन, चारबात मारिसक्छन् ।
यिनले तीर्थयात्रा चलाउन थालेको १६ वर्ष भइसक्या’रहेछ । नेपालका होऊन् वा भारतका सारा तीर्थ चाहारिसकेका यिनले मठ, मन्दिर, महन्त, पण्डा, पुजारीको मात्रै होइन, तीर्थालुका पनि नस/नसा छामेका रहेछन् । ‘आँ गर्दा अलङ्कार’ बुझ्ने खुबी भए पनि आफूलाई लाभ नहुने कुरामा निदाए जस्तो गर्ने वा भोलाराम बन्ने यिनको चाला अद्भूत छ । जानकी मन्दिर, हरिहर क्षेत्र लगी पुनपुन हुँदै गया जानुपूर्व बोधगया घुमाउने बेलामा निदाएजस्तो गरी चालकलाई साउती गरेको र उता बनारसबाट प्रयाग जाने बाटामा विन्दवासिनीको पाटो पनि उहिले सिनेमा हलमा रिल काटे झैँ कटाउन सफल भएकामा यिनी दंगदास बने । यात्रुले जतिसुकै गनगन गरे पनि नब्युँतने नौटंकीमा रमाएका यिनी धेरै वर आइसकेपछि होश खुलेजस्तो गर्दै उल्टै निहुँ खोज्न सफल भए- ‘धत्तेरिका, भन्नुपर्दैन तपाईंहरूले !
भैगो, अयोध्याबाट मथुरा, वृन्दावन जाने बाटोमा लखनउ नपुग्दै नैमिषारण्य आउँछ, म लगिदिन्छु, जाने हो ?’ क्षतिपूर्ति हुनलागेको ठानेर होला, सबैको उत्तर सकारात्मक रहृयो । यिनी तुरुन्त थालिइहाले-‘त्यसो भए, हरेकले पाँच, पाँच सय भा.रु. थप्नुपर्छ । टाढा छ, यत्रो महँगो तेल छ ...’ उनले अतिरिक्त भाडाको औचित्य दर्शाउनै पाएका थिएनन् । झनझनाएका यात्रु नकारात्मक प्रतिक्रियामा उत्रिए । यिनी पनि के कम, ‘हेरौँला नि !’ के-के बर्बराएका थिए । अयोध्याबाट निस्किएको सवारी अविराम चलाएर बिब्ल्याँटिएका यात्रुलाई कानपुरपारि सडकछेउमै रात कटाउन बाध्य बनाए । चुइँक्क गर्ने मौकासमेत कसैले पाएनन् । थकथकाए जस्तो गरे पनि चिदानन्द महाराजको मुहारमा विजयी मुस्कान तैरिरहृयो ।
यात्रामा खानपानको व्यवस्था मिलाइए झैँ वासको प्रबन्ध पनि महाराजबाटै हुनेरहेछ । निर्धारित ठाउँ पुग्नुअगावै फोनमा यत्तिवटा कोठा चाहिन्छ, कति पर्छ ? सोधी ढुक्क हुने र त्यहीअनुसार यात्रुसित रकम उठाउने गरिँदोरहेछ । ठीकै हो नि भन्ठानेका यात्रुलाई यसमा पनि महाराजको चलाखी रहेको भेउ पाउन धेरै समय लागेन । एकपटक कुरो हो, मोबाइल ‘लाउड स्पिकर’ मा रहेको यिनलाई हेक्का रहेन । यताबाट सोधिनासाथ उताबाट प्रतिकोठा तीन हजार भनियो, ‘अच्छा, अच्छा ठीक है चार हजार’ भन्ने यिनी, ‘नहीं तीन हजार’ भन्थ्यो ऊ । पर्दाफास हुँदा पनि यात्रुको ङ्यारङ्यार ङुरङुर काम लागेन, बरू वर्षमा एकपटक हरेकले कान जँचाउनुपर्ने आवश्यकता दर्शाउन उनी सफल रहे ।
अथाह ज्ञानसागर खत्याउन सदैव आतुर महाराज एकदिन आज्ञा गर्दै थिए, ‘अचम्म लाग्छ, हामी घरमा पनि त श्राद्ध गर्छौं, चेलीबेटी, इष्टमित्र बोलाउँछौं, पण्डितलाई राम्रै दानदक्षिणा दिन्छौं, यहाँ तीर्थमा चाहिँ तपाईंहरूलाई के हुन्छ खोइ ! अघिल्लोपटक कस्तो नराम्रो टोली प¥यो, पण्डालाई दक्षिणा दिने बेलामा कत्ति किचकिच गरेका, लाजै लाग्ने बनाए । पण्डालाई कति दिनुपर्ला भनी कतिपयले सोध्छन्, आफ्नो खुशी हेर्नोस्, दश हजार, बीस हजार, पाँच हजार जति दिनुछ दिनोस् तर पन्ध्र सयभन्दा कम दक्षिणा दिएर मलाई लज्जित चाहिँ नबनाउनोस् है भन्ने गरेको छु ।’
उनको उपदेशको सार त्यतिखेर छताछुल्ल भयो, जतिखेर अरू सबै दायाँबायाँ लागेपछि यिनी पण्डासित तीव्र असन्तुष्टि जाहेर गर्दै थिए, ‘यत्रो मान्छे ल्याएँ, त्यत्रो दिएका छन्, मलाई चाहिँ यत्तिमै टार्ने ?, खुरुक्क पन्ध्र सय थप्नोस् त ।’ ‘अरे महाराज जी, क्यों नाराज होते हो, आप और हम तो एक हैं’ भन्दै अँगालो हाली छ सय रुपैयाँ थपिदिएका पण्डाको मुहारमा बेग्लै कान्ति थियो भने दुनियाँ ठग्ने पण्डालाई समेत दच्क्याउनसक्ने हाम्रा महाराजजी पनि के कम ! पण्डासित एउटा गम्छै भए पनि कुम्ल्याउन सफल भए ।
महाराजजीका अनेक प्रतिभा प्रकाशन भइरहेका थिए । उनले नटेकेको भूमि र नजानेको कुरो बिरलै रहेछ । कहाँ, कोसित, कसरी, कति, किन र के लाभ लिनुपर्छ भन्ने कुराको ज्ञान उनलाई जति बिरलैलाई होला । अरूले आफ्नो झुठो पक्डिँदा पनि अनुहारमा रत्ती आँच आउन नदिई हाँसोमा उडाएर हुन्छ कि जङ्गिँदै कड्किएर हुन्छ अथवा अचानक प्रसंगै फेरेर पो हुन्छ कि जित उम्कन नदिनु उनको खासियत हो ।
‘तपाईंहरूको ठूलो तीर्थयात्रा पूरा भयो । मनमा केही नलिनुहोला । कसैप्रति कुविचार राख्नुभयो भने आफ्नै मन खराब हुने हो । यात्रा सुसम्पन्न गराउने मलगायत ड्राइभर, खलासी र भान्छे बाहुनलाई यात्रुहरूले टीका लगाई दक्षिणा दिने प्रचलन छ । अरू के भनुँ !’
यात्रुले उनको व्यक्तित्व राम्ररी पर्गेलिसकेको भेउ पाए पनि थाहा नपाए झैँ हरेक चरणमा उनी उही चरित्र दर्शाउन कहिले पछाडि परेनन् । हरिद्वारबाट ऋषिकेशतर्फ बस हुइँकिइरहेका बखत बडो चतुर्याइँसाथ ओकल्नसमेत भ्याए, ‘हेर्नोस्, तपाईंहरूलाई पत्यार नलाग्ला मलाई हनुमान सिद्धि छ । मेरो अहित चिताउनेको कहिले भलो हुँदैन । कसैले मनमा मात्रै गाली गरेको छ भने पनि उसले ठूलो दुःख पाउँछ । तैपनि म घमण्ड गर्दिन....’ उनी एकोहरो आलापमा मस्त थिए भने यात्रुहरू चाहिँ एक, अर्कालाई हेर्दै ओठ लेप्राइरहेका थिए ।
यमुनोत्री, गङ्गोत्रीपछि गन्तव्य बन्यो-केदारनाथ । सक्नेले पैदल, नत्र घोडामा, पालकीमा वा डोकामा बसी जानुपर्ने ठाउँ । गौरीकुण्डमा बासबसी भोलिपल्ट सखारै केदारनाथ बास बस्न जाने कुरो के उक्किएको थियो, कडकिइहाले महाराज जी, ‘त्यत्रो लामो बाटो हिँड्न सक्नुहुन्न तपाईंहरू । घोडामा जानुस् । त्यहाँ बास बस्नु ठीक हुँदैन । पानी दर्किए, हिउँ परे बित्यास पर्छ । भन्या’ मान्नुहुन्छ भने तीन/तीन हजार ल्याउनोस्, आतेजाते घोडाको व्यवस्था मैं गर्दिन्छु, यसभन्दा बढी मैले के गर्नु !’
बद्रीनाथमा चालक र खलासीसित महाराजजीको अनमन भयो । जहाँ पनि ‘हुरहुर-हुरहुर’ हुर्दुराउँदो चाला मन परेको रहेनछ तिनलाई । मान्छेको जिउ न हो, थाक्छ नि, बिस्तारै जाऔं भन्दारहेछन् तिनीहरू । दुई दिनमात्रै छोट्याउन पाइयो भने पनि पचास हजार बच्ने धुनमा रहेछन् महाराज जी । केदारनाथ नबसी गौरीकुण्डै फर्कन लगाउनुको रहस्य यहींनिर उदाङ्ग हुनपुग्यो । फर्कंदा नैनिताल घुमाउने बाचा ‘छुमन्तर’ भइसकेको पनि कसैले चाल पाएनन् । काठगोदाममा रात बिताई भोलिपल्ट कोहलपुरमा निद्रा पूरा गरेका यात्रु अर्को दिन देवघाट पुगे ।
‘तपाईंहरूको ठूलो तीर्थयात्रा पूरा भयो । मनमा केही नलिनुहोला । कसैप्रति कुविचार राख्नुभयो भने आफ्नै मन खराब हुने हो । यात्रा सुसम्पन्न गराउने मलगायत ड्राइभर, खलासी र भान्छे बाहुनलाई यात्रुहरूले टीका लगाई दक्षिणा दिने प्रचलन छ । अरू के भनुँ !’ फटाफट भनी महाराजजी सरासर भान्छातिर लम्किए ।
कन्सिरी तताएका यात्रुहरू महाराजका एक-एक लीला स्मरण गर्दै तिनका आन्द्राभुँडी केलाउन थाले । उकुसमुकुसिएका भावनासमेत पोखिए । बाक्लिएको ‘महाराज-निन्दा’ छड्कन लागेको के थियो, निकै गम्भीरतासाथ एक यात्रु बोले- ‘हो, म पनि भन्छु महाराज ठीक छैनन् तर के हामी ठीक छौं ? पेशाले गर्दा यस्तो रूप धारण गरेको उनले प्रष्टै भनेका छन् । तोकिएको भाडा लिएर पनि सबैतिरबाट किन सोहोरेको भन्नुहोला, पेशै यही भएपछि सकेसम्म फाइदा लिनखोजे त खोजे ! हामी पनि कुन ड्याङका मूला हौं र ! मेरै कुरो गरौं, मास्टर हुँ, ‘ट्युसन’ मजाले पढाउँछु तर स्कुलमा आलटाल गर्छु ।
हामीमध्ये कोही व्यापारी छौं, ढक, तराजुमा बदमासी गरेको छैन/उपभोक्ता ठगेको छैन भन्नसक्नुहुन्छ ? चुनावका बेला हृयानत्यान गर्छु भन्ने र जितेपछि बेपत्ता हुने नेताको त झन् के कुरा गर्नु ! कर्मचारीलाई घुस्याहा भन्छौं, घुस खान उक्स्याउने हामी चाहिँ के ? मुखले एकथोक भन्ने, व्यवहारले अर्कोथोक नगर्ने कोही छ भने भन्नोस् !
गंगा नुहाएर के हुन्छ ? पिण्डदान गरेर के हुन्छ ? भनी ऊ ढकाल सर अस्ति भन्दै हुनुहुन्थ्यो ।
केही हुँदैन भने किन नुहाएको, हामी किन आएको ! अरूलाई ठग भन्छौं, आफू सद्दे छौं त ? आफू चाहिँ नसच्चिने, अरूमा शुद्धता खोज्ने ! यस्तो दोहोरो मानसिकता ठीक होइन । बरू उनी जे छन्, छर्लंग छन्, यतिखेर पनि हेर्नू न ! गाली गरिरहेको थाहा हुँदाहुँदै पनि हामीतिर कस्तरी प्रफुल्लतापूर्वक हेरिरहेका छन् । तपाईंहरू जेसुकै गर्नोस्, म चाहिँ त्यता लागेँ है ! महाराजहरूलाई टीका लगाई दक्षिणा दिएर मोडिएका माड्साबले जसै, जे देखे, एकछिन् त विश्वासै गर्न गाह्रो भयो, हात÷हातमा टीका लिई सबै यात्रु प्रसन्न मुद्रामा त्यतै लम्किँदै रहेछन् । acharya.nik@gmail,com
नवौं वाक्यको पाचौं शब्द
पहिलो अनुच्छेद, छैठौं वाक्यको आठौं शब्द जगन्नाथ पुरी हुनुपर्नेमा अन्यथा पर्न गएकोले सच्याई पढ्नुहुन हार्दिक अनुरोध छ !