काठमाडौं । १२२औं सम जयन्तीको अवसरमा विविध कार्यक्रम गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तर्क्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले प्रदर्शन गरिएको वृत्तचित्रले बालकृष्ण सम रंगमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान् कलाकार हुन् भन्ने स्पष्ट पारेको बताउनुभयो । उहाँका कृतिहरू ‘पहृलाद, भीमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो’ लगायतका कृतिमाथि कलाकारहरूले बनाउने चित्र हेर्न आतुर रहेको कुलपति शर्माले बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बालकृष्ण सम साहित्य र चित्रकलाका विधामा अब्बल स्रष्टा भए तापनि उहाँलाई नाटककारका रूपमा बढी चर्चा गरिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले समको योगदानको चर्चा गर्नुहुँदै सेक्सपियरको नाट्यशैलीलाई बालकृष्ण समले नेपालीकरण गर्नु भएर नेपाली नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुहुँदै समलाई समग्र कला र साहित्य क्षेत्रका अभिभावकको रूपमा चित्रण गर्नुभयो ।
कार्यक्रममा डा.अशोक थापाले बालकृष्ण समले नाटकमा पुर्याउनुभएको योगदान र नाटकमा प्रयोग भएका बहुआयामिक पक्षलाई समेटेर ‘समको गुणात्मक नाट्य योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि विष्णु ज्ञवालीले टिप्पणी गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, राधा कार्की, विष्णु ज्ञवाली, सन्ध्या पहाडीलगायतले कविता वाचन गर्नुभएको थियो भने कार्यक्रममा रमेश खनालद्वारा लेखन तथा निर्देशन गरिएको बालकृष्ण समको चित्रकारितामा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू कर्णबहादुर गौतम विद्रोही, डक्टर किरात, बखतबहादुर हमाललगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच