काठमाडौं । त्रिमूर्ति निकेतनले नाट्यसम्राट् बालकृष्ण समको १२२औं जन्मजयन्तीको अवसर पारेर १७औं त्रिमूर्ति दिवस मनाएको छ । उक्त अवसरमा तीन सर्जक प्रा. मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई पुरस्कृत गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा भाषासाहित्य र छन्द कविताको सिर्जना एवं प्रचारप्रसारमा संलग्न स्रष्टा प्रा.उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’, नेपाली नाट्य विधामा क्रियाशील अभिनेता हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ र ६ दशकदेखि काव्य साधनामा निरन्तर लागिपर्नुभएका तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादन गरी प्रकाशन गरेबापत जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारका साथ ताम्रपत्र र जनही एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।
निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गर्नुभयो । यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच