✍️ देवकी गौतम
सात दशकभन्दा लामो राजनीतिक इतिहास भएको पार्टी नेपाली कांग्रेसले आगामी फाल्गुन ७ गतेबाट महासमितिको बैठक गर्दैछ । बदलिँदो राजनीतिक परिवेशको बीचमा २१औं शताब्दीको डिजिटल युगलाई मध्यनजर गर्दै नेपाली कांग्रेस पार्टीलाई फेरि पनि जनताको पहिलो र महत्वपूर्ण रोजाइको पार्टी बनाउन केही महत्वपूर्ण कुराहरूमा घनीभूत रूपमा छलफल भई निर्णय हुनु आवश्यक देखिन्छ । विगतका राजनीतिक उत्साह र निराशाका उतारचढावका बीचमा यो महासमितिको बैठक पनि विगतको जस्तै कर्मकाण्डीमात्रै नभई बैठकले नेपाली कांग्रेस र समग्र नेपाली समाजको रूपान्तरणका लागि स्पष्ट दिशाबोध गर्नेछ भन्नेमा हामी आशवादी छौं ।
देशका ठूला-ठूला परिवर्तनमा अग्रणी भूमिका खेलेको पार्टी नेपाली कांग्रेसको कार्यकर्ता माझ पछिल्लो समय एउटा वाक्य चर्चित भइरहेको छ कि हामीलाई सक्किन मञ्जुर छैन-बेला छँदै सच्चिने यात्रामा लागौं । नेपाली कांग्रेस समय सुहाउँदो, माटो सुहाउँदो एउटा लोकतान्त्रिक पार्टी हो भन्नेमा कुनै दुविधा छैन । यदि यो लोकतान्त्रिक पार्टीमा सैद्धान्तिक र व्यावहारिक विचलन आयो भने मुलुक र जनताले निकास पाउँदैनन् भन्ने चिन्ताले केही महत्वपूर्ण विषयलाई उठान गर्ने जमर्को गरेको छु । पार्टी संगठन निर्माणको मुल खम्बा भनेको क्रियाशील सदस्यहरू हो ।
पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा गरेर निर्वाचनमा पराजित भएको मानिसलाई नेतासँग निकटताको आधारमा त्यसभन्दा माथिल्लो तहमा मनोनित गरिदिने, हारेका मानिस बसेर जितेका मानिसलाई टिकट वितरण गर्ने गलत र अप्रजातान्त्रिक अभ्यासको अन्त्य हुनुपर्दछ ।
यसको वितरण प्रक्रियालाई केही व्यवस्थित गर्नुपर्ने देखिन्छ । महाधिवेशन हुने वर्ष क्रियाशील वितरणलाई बन्द गरी, महाधिवेशन सकिएलगतै क्रियाशील सदस्य वितरणलाई निरन्तरता दिन सकिन्छ । हिजो २०१५ सालमा महिलालाई सम्मान गरेर रेकर्ड कायम गरेको पार्टी नेपाली कांग्रेसले २०८० सालसम्म आइपुग्दा पनि पार्टीभित्र निर्णायक तहमा महिलालाई उचित प्रतिनिधित्व गर्न नसकेको कुरा सत्य हो । त्यसैले आगामी महाधिवेशनबाट कार्यान्वयन हुनेगरी वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्मका हरेक तहगत कार्यसमितिको पदाधिकारीमा ३३ प्रतिशत महिला निर्वाचित गर्ने कुरा यो महासमितिको बैठकबाट निर्णय गरेर जानुपर्दछ ।
पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा गरेर निर्वाचनमा पराजित भएको मानिसलाई नेतासँग निकटताको आधारमा त्यसभन्दा माथिल्लो तहमा मनोनित गरिदिने र हारेका मानिस बसेर जितेका मानिसलाई टिकट वितरण गर्ने गलत र अप्रजातान्त्रिक अभ्यासको अन्त्य हुनुपर्दछ । वर्तमान समयमा देखिएको पार्टीका यस्ता बेथितिहरूको अन्त्य गर्न र आममानिसमा छाएको नैरास्यलाई कम गर्नका लागि एक तहको पार्टीको अधिवेशनमा उम्मेदवार भएका व्यक्तिलाई उक्त तहभन्दा माथिल्लो तहमा मनोनित गर्न नमिल्ने कुरा विधानमै स्पष्ट किटान गरेर जानुपर्दछ भन्ने आमकार्यकर्ताको आवाज हो ।
यो पार्टी सबैको हो भन्ने अनुभूति दिलाउन पार्टीभित्रको आन्तरिक संरचनामा एक व्यक्ति एक पदको अवधारणा सिर्जना गर्ने । बीपी कोइराला भन्नुहुन्थ्यो, यदि हामीले युवाका लागि केही गरेनौं भने उनीहरूले हाम्रा लागि केही गर्दैनन् । चर्चित नेपाली गीत ४० कटेसी रमाउँला भनेजस्तै राजनीतिमा ६० कटेसी टिकट दिउँला भन्ने उखान चरितार्थ हुँदैछ, जुन गलत छ । प्रजातन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो । अब हुने सबै निर्वाचनमा टिकट वितरण गरेर उम्मेदवार चयन गर्दा ६७४३ वटा वडा र संघ प्रदेशको निर्वाचनमा ५० प्रतिशत टिकट युवा र महिलालाई दिनुपर्ने बाध्यात्मक व्यवस्था विधानमै सुनिश्चित गरेर युवामा आएको नैराश्यतालाई चिरेर यही पार्टीमा युवाको भविष्य छ भन्ने विश्वास दिलाउनु अति आवश्यक छ ।
निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा सम्बन्धित तहको क्रियाशील सदस्यले मतदान गरी उम्मेदवार तय गर्ने वैधानिक व्यवस्था गर्न जरुरी छ । जसको कारण कार्यकर्ताहरू नेतामुखी नबनी जनतामुखी बन्न उत्प्रेरणा प्रदान गर्दछ र समाज विकासमा राजनीतिक कार्यकर्ताको सक्रियता रहन्छ अनि टिकट बेचबिखन गरेका समाचार सुन्नुपर्ने छैन । हाल गुटको रोगले गालेको पार्टीलाई तन्दुरुस्त बनाउन पार्टीको महाधिवेशनमा क्रियाशील सदस्यले सोझै मतदान गर्नसक्ने व्यवस्था गर्न सकिन्छ । देश विकासको गतिमा अवरोध पुर्याउने समाजको सबैभन्दा महारोग भनेको भ्रष्टाचार नै हो । नेपाली कांग्रेसबाट निर्वाचित वडादेखि केन्द्रसम्मका जनप्रतिनिधिहरूले भ्रष्टाचार नगर्ने सामूहिक प्रतिबद्धता गर्नुपर्दछ ।
नीति निर्माण तहमा पुगेका व्यक्तिले भ्रष्टाचारमा शून्य सहनशीलताको व्यावहारिक अनुभूति जनतालाई दिलाउनुपर्दछ । अघिल्लो महासमितिको बैठकबाट तत्कालीन वरिष्ठ नेता, वर्तमान सम्माननीय राष्ट्रपति श्रद्धेय रामचन्द्र पौडेलज्यू र सभापति श्रद्धेय नेता शेरबहादुर देउवाज्यूले एकअर्काको हात समातेर गरेको प्रतिबद्धता अनुसार केन्द्रीय समितिका नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्थालाई परिवर्तन गरी नयाँ प्रक्रिया अनुरूप सम्बन्धित निर्वाचन क्षेत्रबाट पुनः महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था महासमितिबाट गर्नुपर्छ भन्ने आमकार्यकर्ताको विचारलाई सम्मान गरेर जानुपर्दछ । तबमात्र नयाँ जनभावना अनुसारको नेतृत्वको विकास हुन्छ ।
वर्तमानमा सबैभन्दा चर्चामा रहेको र विवादित बनेको विषय हो समानुपातिक वितरण प्रणाली । नीतिले, विधिले भन्दा नेताको विवेकले वितरण गरिएको समानुपातिक कोटा नेताको नाताका लागि छुट्याइएको सुरक्षित वस्तुसरह भएको छ । तसर्थ यसलाई व्यवस्थित वितरणका लागि केही महत्वपूर्ण मापदण्ड बनाउनु जरुरी छ ।
संस्कृतमा एउटा श्लोक छ-समाजस्य संवृद्धि : पुरुशास्त्रीभ्याम । अर्थात् पुरुष र महिला मिलेरमात्र समृद्ध समाजको निर्माण हुन्छ वा समाज समृद्ध हुन्छ । समाज परिवर्तनका संवाहक आधा आकाश ढाकेका महिलाको उचित प्रतिनिधित्व गर्दै क्षमतावान महिलालाई राजनीतिमा समावेश गर्नका लागि देशभरिको १६५ निर्वाचन क्षेत्रमध्ये ३३ प्रतिशत क्षेत्रलाई महिला आरक्षण क्षेत्र घोषणा गरेर जाने बाटोमा नेपाली कांग्रेसले अगुवाइ गर्नुपर्दछ र महासमितिले यस विषयमा निर्यण गरी राज्यस्तरमा यो विषय प्रवेशका लागि तदारुकता देखाउनुपर्दछ । बीपीको बुझाइमा जनतालाई राजनीतिक रूपमा अधिकार सम्पन्न नबनाएसम्म आर्थिक विकास गर्न सकिँदैन र आर्थिक विकासविना राजनीतिक अधिकारको संरक्षण गर्न सकिँदैन ।
जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु राजनीतिको अन्तिम गन्तव्य हो । यसका लागि केवल रुखो नारा होइन वर्तमान समयको महँगी र बेरोजगारीको समस्या समाधानका लागि नीतिगत सुधारको प्रयत्नमात्र होइन परिणाममुखी छलफल जरुरी छ । नेपालको अहिलेको प्रमुख चुनौती भनेको विमानस्थलबाट दैनिक रूपमा विदेशिएका पाइलाहरूलाई स्वदेशमै रोक्नु र तिनीहरूको उचित व्यवस्थापन गर्नु हो । बढ्दो ब्रेनड्रेन (बौद्धिक पलायन)को समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा घनीभूत छलफल गरी हामी सरकारमा समेत सामेल भएको कारण कांग्रेसको सक्रियतामा विशेष नीति कार्यान्वयनमा जान ढिलो गर्न हँुदैन । विगतदेखि वर्तमानसम्म सबैभन्दा चर्चामा रहेको र विवादित बनेको विषय हो समानुपातिक वितरण प्रणाली । नीतिले, विधिले भन्दा नेताको विवेकले वितरण गरिएको समानुपातिक कोटा नेताको नाताका लागि छुट्याइएको सुरक्षित वस्तुसरह भएको छ ।
तसर्थ यसलाई व्यवस्थित वितरणका लागि केही महत्वपूर्ण मापदण्ड बनाउनु जरुरी छ । एउटा व्यक्ति जीवनमा कति पटक सांसद, मन्त्री र प्रधानमन्त्री बन्नसक्ने भन्ने कुरा तय गरेर जानुपर्दछ । विगतमा हामीले जानेर या नजानेर केही महत्वपूर्ण विषयमाथि अन्धधुन्ध निर्णय गरेकै हो । हामी कुन्नि केको प्रभावमा पर्यौं कसैलाई थाहा भएन तर विगतलाई समीक्षा गर्दै विश्वको एकमात्र सनातन राष्ट्र नेपालको आफ्नो पहिचान कायम राख्न धर्म निरपेक्षतालाई हटाएर सबै धर्म संस्कृतिको रक्षा गर्दै नेपाल धार्मिक रूपमा स्वतन्त्र देश हुनेछ भनी सैद्धान्तिक निर्णय गरेर जानुपर्ने देखिन्छ ।
अन्त्यमा बेलामा महाधिवेशन सम्पन्न गरी टेष्टेड भइसक्नुभएको नेतृत्वलाई ससम्मान बिदाइ गरी नयाँ म्यान्डेडसहित नयाँ नेतृत्वको चयन गर्न, स्थानीय निर्वाचनको मुखमा गएर पार्टीको महाधिवेशन गर्ने परिपाटी र त्यसबाट हुने नोक्सानीबाट पार्टीलाई बचाउन यही महासमितिको भेलाबाट आगामी १५औं महाधिवेशनको तिथिमिति तय गरेर जानु जरुरी छ । हामीले स्वीकार गर्नैपर्ने भएको छ कि अब हाम्रो पुरातन सोच, यही संगठानिक शैली र प्रवृत्ति एवं हाम्रो इतिहासको गाथाले मात्रै हामीलाई बचाउँन सक्दैन ।
फरक परिणामका लागि अब फरक तरिकाबाट सोच्न ढिलो गर्न हुँदैन । यसका लागि नेपाली कांग्रेसमा आमूल परिवर्तन ल्याउने गरी यसको पुनः निर्माणमा एकजुट भएर जुर्मुराउनु आवश्यक छ । जसले पार्टी, त्यसको कार्यकर्ताको मात्र होइन समग्र देश र जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकोस् । नेपालको जेठो पार्टी नेपाली कांग्रेसले फेरि एकपटक आफूलाई अब्बल भएको प्रमाणित गर्नु आजको आवश्यकता हो । (गौतम नेपाली कांग्रेस बागमती प्रदेश सदस्य हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच