काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु घटनाले नयाँ मोड लिएको छ । त्रिवि शिक्षण अस्पतालमा आइतबार गरिएको पोष्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएपछि घटनाले अर्कै मोड लिएको हो । स्रोतका अनुसार अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका थिए । १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) पोष्टमार्टमबाट खुलेको छ । ‘हृयाङ्गिङ’(झुण्डिनु)का कारण उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।
किशोरीको परिवारका सदस्यले बलात्कार भएको आशंका गरेपछि प्रहरीले जाँच गरेको थियो । ‘शालिनको पोष्टमार्टम रिपोर्ट हामीकहाँ आइपुगेको छ’, चितवन प्रहरीका एक अधिकारीले भन्नुभयो, ‘पोष्टमार्टम रिपोर्टले शालिनको बलात्कार भएको पुष्टि गरेन । उनको मृत्युको कारण प्रष्टसँग ‘ह्याङ्गिङ’ भन्ने छ । अर्थात्, उनको मृत्युको कारण आत्महत्या हो भन्ने पोष्टमार्टम रिपोर्ट अस्पतालले दिएको छ ।’
कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा पोखरेलको शव होस्टेलको कोठामा भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालका पाँचजना फरेन्सिक विशेषज्ञ चिकित्सकको टोलीले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोष्टमार्टम रिपोर्टअनुसार शरीरमा ठूलो चोटपटक देखिएको छैन । अनुसन्धानमा संलग्न चितवन प्रहरीका एक अधिकृतका अनुसार उनको खुट्टामा कोरिएको चोटपटक देखिएको थियो ।
घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-१० बस्ने ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताउनुभयो ।
गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टेलमा बसेर पढ्थिन् । उनका र आमा सगुनबीच सम्बन्धविच्छेद भएपछि शालिन रत्ननगर नगरपालिका–१५, माधवपुरमा रहेको मामाघरमा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनलाई मावलीले विद्यालयको होस्टेलमा राखिदिएका थिए ।
छात्रावासमा मृत भेटिएकी बालिका शालिनको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ । शालिनका बाबुले नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो । त्यसका लागि प्रहरीले किशोरीको पुरानो नोट बुकहरू समेत मगाएको छ । चितवन प्रहरीले शालिनको शवसँगै सुसाइट नोट पनि बरामद गरेको थियो । सुसाइट नोटमा, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मी बाबालाई सम्झिएको छ भनिदिनु,’ लेखिएको छ ।
वास्तवमा शालीन आफ्नो बुवा र आमाको काखबाट वञ्चित थिइन् । १० वर्षअघि नै बुवा र आमा अलग बस्न थालेका थिए । दुई वर्षअघि उनीहरूको औपचारिक डिभोर्स भएको थियो । डिभोर्सपछि उनीहरू आ-आफ्नो घरजम गरेर बसिरहेका छन् र शालीनलाई छात्रावासमा थन्क्याइदिएका छन् । यसरी बुवा-आमाको सामिप्यता गुमाएका बच्चाहरू कस्तो मनोदशामा हुर्किरहेका हुन्छन् भन्ने यो घटनाबाट उजागर भएको आवाज उठ्न थालेको छ ।
प्रहरी प्रशासनबाट गृहमन्त्रीको ‘ब्रिफिङ’
बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ दिनुभएको छ । गृहमन्त्री श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डिएसपी श्रीराम भण्डारीसँग आइतबार संयुक्त ब्रिफिङ दिनुभएको हो । सिडिओ कार्यालयबाट फोनमार्फत् गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको हो । घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि शालिनको मृत्युबारे गम्भीर छानविन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्देशन दिनुभएको थियो । घटनाका विषयमा गम्भीर हुन प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
विद्यालय तथा छात्रावासलाई बालमैत्री बनाउन समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बालिकाको मृत्युको घटनाप्रति गम्भीर छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अझ प्रभावकारी छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको समिति सभापति भानुभक्त जोशीले बताउनुभयो । बालिका मृत्युबारे गृहमन्त्रालयमार्फत् छानविन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रूपमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको उहाँले बताउनुभयो ।
समितिले विद्यालय तथा छात्रावासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्रावासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्नसमेत निर्देशन दिएको छ । बैठकमा सांसदहरूले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानविन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
घटनालाई अतिरञ्जित नगरौँ : अजिरकोट गाउँपालिका
शालिनको मृत्युसम्बन्धी घटनामा गोरखाको अजिरकोट गाउँपालिकाले अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको लागि पहलकदमी लिन प्रतिबद्ध रहेको जनाएको हो । साथै गम्भीर विषयमा सम्बन्धित निकायलाई निष्पक्ष ढंगले अनुसन्धानको लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
छानविनको माग राख्दै नेविसंघको प्रदर्शन
नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघले शालिन मृत्यु प्रकरणलाई लिएर प्रदर्शन गरेको छ । आइतबार नेविसंघले काठमाडौंको नयाँ बानेश्वर र त्रिचन्द्र कलेजअगाडि विरोध प्रदर्शन गरेको हो । घटनाको निष्पक्ष छानविनको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । शालिनको मृत्युको घटनाप्रति ध्यानाकर्षण गर्न र न्यायपूर्ण समाज निर्माण गर्न प्रदर्शन गरिएको नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच