विस लाख बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् ।

उहाँका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट  बुझाएका छैनन् । “रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्”, उहाँले भन्नुभयो, “हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।”

उहाँका अनुसार हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । दादुरा-रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

भारतसँग सीमा जोडिएका दादुरा-रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइँदै छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ । शाखाका प्रमुख डा गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा-रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?