
ललितपुर । ललितपुरको नागबहालमा चैत १ गते उपत्यकाका ३२ महाविहार (बहाःबही) का एक सय २५ देवीदेवताको दर्शन एवं पूजा गर्न पाइने भएको छ । पाँच वर्षपछि इतिल्हन सम्यक महादान पर्वका अवसरमा चापागाउँ, बुङमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एकै स्थानमा प्रदर्शनी र दर्शन गर्न पाउने अवसर जुरेको हो । ललितपुरमा पाँच वर्षको एकचोटि फाल्गुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व मनाउने परम्परा रहेको छ । सोहीअनुरूप सम्यक महादान पर्वको मुख्य दिन चैत १ गते बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म देवीदेवताको दर्शन तथा पूजाआजा गराउने कार्यक्रम रहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले जानकारी दिनुभएको छ ।
बज्राचार्यका अनुसार सोही दिन दिउँसो नागबहाल परिसरमा रहेको ढुंगेधारामा धाः बाजा र बाँसुरी बाजा प्रदर्शन गरिनेछ । दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमिशोधन पूजाका साथै दान प्रदान गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । सोही दिन बज्रयानी बौद्ध परम्पराअनुसार मौलिक पोशाकमा सजिएका हिरण्यवर्ण महाविहारका २० स्थविर आजु (ज्येष्ठ)लाई पनि दान दिने गरिन्छ । सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यलाई समेत धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ ।
दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ-आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ । दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । सोही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्येता लोकरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्यक महादान लिच्छविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ ।’ सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुन ३० गते राती भने बढी रौनकता छाउने गर्छ । राती १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनको लावाँलस्कर, परम्परागत धाः बाजाका साथ देवीदेवतालाई खटमा राखेर, बोकेर नागबहाल पु¥याउने गरिन्छ ।
नागबहालमा देवीदेवता पुर्याउनुअघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ । त्यसपछि ललितपुरको टंगालस्थित ज्येष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएका देवीदेवतालाई नागबहालमा क्रमबद्धरूपमा देवीदेवता विराजमान गराइने परम्परा रहेको आयोजकले जनाएको छ ।
सम्यक दान प्रदान गर्न राखिने देवताको लर्कोमा अतित बुद्धका रूपमा गौतम बुद्धभन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रूपमा गौतम बुद्ध र भविष्यका बुद्धका रूपमा मैत्री बुद्धको भव्य सुवर्णमय मूर्ति पनि राखिन्छ । सम्यक दानमा खिर, लाखामरी गरी मिठाइका विविध परिकार सामग्री, रोटी, फलफूल दान दिने गरिन्छ ।
समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यका अनुसार सम्यक महादान पर्वअघि नै विभिन्न धार्मिक विधि र परम्परा गर्नुपर्ने हुन्छ ।
सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुन २ गतेदेखि सुरु गरिएको थियो भने फागुन ३ गते नागबहालमा प्रतिस्थापित वासुकी र चम्पक नागराजको प्राणप्रतिष्ठा निकालिएको थियो । फागुन २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुन २८ गते सम्यक महादानमा भाग लिन परम्पराअनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिएको थियो ।
ललितपुरमा सात सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवका पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ । १८६१ सम्म बर्सेनि भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा हुँदै आएको छ । यसपटकको ५४औँ सम्यक महादान पर्व हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच