किशोरीको हत्या गर्ने युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो । प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरका २१ वर्षिय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक-पटक प्रेम प्रश्ताव राख्दापनि स्वीकार नगरिएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनि निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोष्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो । एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ । हात पेटीले कसेको र घाँटीमा टाईले कसेको अर्ध सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् ।

अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापी समेत बरामद भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?