बागलुङ । निसीखोला–६ जाउलेपानीमा सोमबार साँझ भएको बस दुर्घटनाका घाइतेहरूले बागलुङको धौलागिरि अस्पतालको आकस्मिक कक्ष भरिएको छ । स्वास्थ्यकर्मीहरूलाई घाइतेको उपचार र आफन्तको प्रश्न सम्हाल्नै धौ–धौ परिरहेको छ । अधिकांश घाइतेहरू अझै सामान्य अवस्थामा फर्किन सकिरहेका छैनन् । घाउ दुःखाइले उनीहरू चिच्याएको आवाज बाहिरैसम्म सुनिन्थ्यो । हिटाकर्मी मंगलबार बिहान अस्पताल पुग्दा देखिएको दृश्य हो यो ।
आकस्मिक कक्ष प्रवेशद्वारमा नाक, मुख र टाउकोमा चोट लागेको अवस्थामा भेटिनुहुन्छ, दशरथ नेपाली । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपाली सोमबार दिउँसो पसलका लागि सामान खरिद गर्न र आफन्तसँग भेटघाट गर्नका लागि सो बसमार्फत काठमाडौं जाँदै हुनुहुन्थ्यो । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बर बसले रुकुम पश्चिममै ढिला गरेको थियो । साढे १ बजे त्यहाँबाट छुटेको बस साँझ सवा ५ बज्न लाग्दा बागलुङको निसीखोलामा आएको थियो ।
रुकुमबाटै ढिलो हुन्छ भन्दै तीव्र गतिमा हुइँकिएको बस अन्ततः जाउलेपानीमा आएर दुर्घटनामा प¥यो । यात्रु कुर्दा रुकुमबाटै ढिला गरेको बस रानीकोट भन्ने स्थानमा जाम हुने भन्दै तीव्र गतिमा गुडाएको थियो । रुकुम र बागलुङको सिमाना पातीहाल्ने आइपुग्दा पनि चालकले गाडीको गति घटाएको थिएन । पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुम्ती र ओरालो छ । ओरालोमा यात्रुहरूले गाडीको गति घटाउन आग्रह गरेका थिए । तर, चालकले वास्तै गरेनन् ।
३७ यात्रु बोकेर आएको बस दुर्घटना पर्दा हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् भने धेरैजसो गम्भीर छन् । घाइतेमध्ये २१ जना धौलागिरि अस्पताल बागलुङ र अन्य पोखरास्थित मणिपाल अस्पतालमा छन् । धौलागिरि अस्पतालमा उपचार गराइराख्नु भएका दशरथले बससडकबाट अनियन्त्रित भएर बाहिर जान लाग्दा यात्रुहरूले हामफाल्न खोजेको तर कोही पनि सफल नभएको सुनाउनुभयो ।
बस सडकदेखि १५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका छन् ।
बस दुर्घटनामा आफू काल्नामा खसेको तर धेरै यात्रुहरू तलैसम्म पुगेको उहाँले बताउनुभयो । बसबाट खसेपछि आफू धेरैबेर बेहोस भएको र जाग्दा चारैतिर लाश र घाइतेहरू देखेको उहाँको भनाइ छ । आफ्नो दाहिने हात नचले पनि रूख र ढुंगा मुठाले च्यापिएका घाइतेलाई उद्धारसमेत गरेको दशरथले बताउनुभयो ।
‘गाडीले रुकुममै ढिला गरेको थियो, बाटोमा रानीकोट आइपुग्दा जाम हुन्छ भनेर गाडी निकै तीव्र गतिमा हुइँकाएको थियो, तर त्यहाँ जाम भएन, रुकुमबाट बागलुङतिर पुग्दा बढी स्पिडमा हाँकेको थियो, ओरालोमा पनि स्पिड नै थियो, पछि ब्रेक फेल भएछ, घुम्तीमा घुमाउन खोज्दा घुम्ती नै मोड्न नसकेर गाडी खस्यो, म सिट समातेर बसेको थिएँ, तर खस्दा अन्धकार भएको थियो, मैले केही देखिनँ, म बीचमै खसेँ, पछि आँखा खुलेर हेर्दा गाडी तलै पुगेको थियो,’ उहाँले भन्नुभयो, ‘मेरो आँखा खुल्दा पाखाभरी मान्छे कराइरहेका थिए, कोही बचाऊ बचाऊ भन्थे, कोही गुराँसका रूखले च्यापिएका थिए, मेरो दाहिने हात चल्दैनथ्यो, तै पनि उठेर ५/६ जनालाई रूखमुनिबाट निकालेँ, लाशहरू छरपष्ट थिए, आधा घण्टापछि प्रहरी आएर उद्धार ग(यो ।’
उहाँले प्रहरीले उद्धार गरेपछि बुर्तीबाङ लिएर सामान्य उपचार गराएको र राति नै बागलुङ लगेको बताउनुभयो । आफ्नो दाहिनेपट्टिको भाग चल्दैन भन्दै डाक्टरले ठिक हुन्छ नआत्तिनु भनेको दशरथको भनाइ छ । अहिले गाउँबाट छोरा आएर आफ्नो रेखदेख गरिरहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार गाडीको अघिल्लोपट्टि बसेको धेरैको मृत्यु भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा दशरथकै छेउमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का हेमराज केसी पनि पल्टिराख्नु भएको थियो । टाउको र नाकमा चोट देखिने केसीको देब्रेपट्टिको भाग राम्रोसँग चल्दैन । टाउकोमा पट्टी बाँधेर पल्टिराख्नु भएका केसीले चालकको लापरबाहीले गाडी दुर्घटनामा परेको बताउनुहुन्छ । जाउलेपानीको ओरालोमा चालकले गतिलाई कम गराएको भए यो दुर्घटना नै नहुने उहाँको भनाइ छ । आफू गाडीको पछिल्लो सिटमा बसेको सुनाउँदै गाडी पल्टिन थालेपछि आफू दौडिँदै ढोकासम्म पुगेको तर ढोका नखुलेपछि गाडीसँगै दुर्घटनामा परेको केसी बताउनुहुन्छ । गाडी पल्टिएको १५ मिनेटपछि आफू होसमा आएको र रूखले च्यापिएको हुँदा उठ्नै नसकेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘बस पल्टिएपछि मैले केही थाहा पाएको थिइनँ, धेरै बेरपछि होसमा आउँदा मलाई रूखले च्यापेको थियो, मलाई साथीले निकालेको हो, उसले ननिकालेको भए म पनि मर्थें, म होसमा आएर हेर्दा कोही रूखमा झुण्डिएको अवस्थामा थिए, कोही काल्नामा पल्टिएका थिए, त्यो अवस्था निकै दर्दनाक थियो, कोहीले बचाऊ बचाऊ भन्दै थिए, मैले आफ्नै शरीर समाल्न सकेको थिइनँ, उनीहरूलाई चाहेर पनि उठाउन सकिनँ, यो गाडी ड्राइभरको लापरबाहीले दुर्घटना भएको हो, निकै स्पिडमा चलाएको थियो, ओरालोमा विस्तारै चलाएको भए यो स्थिति आउने थिएन ।’
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनु भएको छ । सरिताको ढाड र टाउकामा चोट लागेको छ । सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लीलासहित काठमाडौं जाँदै हुनुहुन्थ्यो । घरबाट खाना खाएर सोमबार बिहान साढे ९ बजेतिर चारैजना बसमा चढ्नुभयो । मंसिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौंमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार हुनुभयो । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो ।
बस दुर्घटना हुँदा सरिता छोरीलाई काखमा सुताएर निदाइरहनु भएको थियो । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले । सरिता पनि झल्यास्स हुनुभयो र काखको छारीलाई च्याप्प समाउनुभयो । बस एक बल्डङ खाएको सरितालाई याद छ । उहाँ त्यहीँ अड्किनुभएछ । मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भन्नुभयो, ‘एक्कासि बस गयो, गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी÷छोरी भनेर चिच्याएँ ।’ काखमा छोरी नदेखेपछि सरिता चिच्याउनुभयो । भाञ्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुग्नुभयो । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किनुभयो ।
धौलागिरि अस्पतालले विपद् व्यवस्थापन टिममार्फत घाइतेको उपचार गरिरहेको छ । अस्पतालकी सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको भन्दै सात जनालाई पोखरा रेफर गरेको बताउनुभयो । घाइतेमध्ये धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उहाँको भनाइ छ । पोखरा पठाइएका घाइतेहरूको अवस्था भने गम्भीर रहेको भण्डारीले बताउनुभयो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिम रुकुम मुसिकोट–१ बस्ने २७ वर्षीया विनिता केसी, रुकुम पश्चिम मुसीकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसीकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसीकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर हुनुभएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
बस सडकदेखि १५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव संकलन गरी सोमबार राति नै रुकुम पठाएको उहाँको भनाइ छ । दुई जनाको शव भने बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको केसी बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच