बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमाया

हिमालय टाइम्स
Read Time = 4 mins

भोजपुर । बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उहाँ हाटबजारमा बदाम बेच्न पुग्नुहुन्छ । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थाल्नुभएकी उहाँ अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जानुहुन्छ ।

“आफूले सकेको काम गर्नुपर्छ”, वृद्धा कार्कीले भन्नुभयो, “धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।” जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको उहाँले बताउनुभयो । आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । “बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई-चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ”, उहाँले भन्नुभयो ।

किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उहाँले बताउनुभयो । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उहाँले बदाम बेच्दै आउनुभएको छ । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उहाँले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गर्नुभयो ।

विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उहाँको अनुभव छ । “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवर्द्धन गर्नुपर्छ ।”

गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका-६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताउनुभयो । पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उहाँले बताउनुभयो । “बदामखेती व्यावसायिक बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।” बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भन्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?