
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रूफटप सौर्य ऊर्जा प्रणाली प्रवद्र्धनका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) सँग सहकार्य गर्ने भएको छ । केन्द्रले देशभरका सात हजार निजी तथा आवासीय विद्यालयमा रूफटफका सौर्य ऊर्जा प्रणाली जडान गर्न सहकार्यको तयारी गरेको हो । सो सम्बन्धमा मंगलबार सरोकारवाला निकाय प्याब्सन, सौर्य ऊर्जा व्यवसायी र केन्द्रबीच छलफल भएको छ ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हाल सञ्चालित दुई कार्यक्रमअन्तर्गत रूफटफ सौर्य ऊर्जा प्रणालीबाट ३१ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएकाले देशभरमा सञ्चालित सात हजार निजी तथा आवासीय विद्यालयमा पनि उक्त प्रणाली जडान सम्भावना रहने बताउनुभयो ।
सौर्य ऊर्जा प्रविधिमा आधारित रूफटप प्रणालीले उद्योग व्यवसायमा दैनिकरूपमा प्रयोग हुने डिजेल खपतमा कमी ल्याई हरित ऊर्जाको उपयोगबाट कार्बन उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउनुका साथै दिउँसोको समयमा ऊर्जा उत्पादन हुने भएकाले स्टोरेज क्षमता भएका जलविद्युत् आयोजनामा विद्युत्को माग बढी हुने समयका लागि पानीको भण्डारण गरी विद्युत् सुरक्षालाई समेत सहयोग गर्ने उहाँको भनाइ थियो ।
रूफटफ सौर्य ऊर्जा प्रणालीलाई नेट मिटरिङका माध्यमबाट राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नसमेत सकिने हुँदा औद्योगिक क्षेत्रमा उत्पादित विद्युत् खपत नहुने समयमा ग्रिडमा आपूर्ति गरी प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन सहयोग पुग्ने केन्द्रले जनाएको छ ।
प्याब्सन उपाध्यक्ष कृष्ण अधिकारीले निजी तथा आवासीय विद्यालयमा रूफटप सौर्य ऊर्जा प्रणाली जडानका लागि प्याब्सन सकारात्मक रहेको बताउनुभयो । तर, सौर्य ऊर्जा प्रविधिबाट उत्पादित विद्युत् तथा विद्युत् उत्पादनका उपकरण विश्वसनीय, गुणस्तरीय एवं भरपर्दो हुनुपर्नेमा उहाँको जोड थियो । विद्युत् कटौतीको समयमा विद्युत्को वैकल्पिक स्रोतका रूपमा उपयोग गर्न सकिने भएकाले मन्टेश्वरीसहित करिब १२ हजार संख्या हाराहारी रहेका निजी तथा आवासीय क्षेत्र सौर्य रूफटप प्रणाली जडानको महत्वपूर्ण क्षेत्र बन्न सक्ने उहाँको भनाइ थियो । चाँडै नै प्याब्सनले सौर्य रूफटप प्रणालीका सम्बन्धमा केन्द्रसँगको सहकार्यमा प्याब्सनकै कार्यालयमा कार्यशाला आयोजना गरी सरोकारवाला विद्यालयहरूसँग थप छलफल गर्ने पनि उपाध्यक्ष अधिकारीले जानकारी गराउनुभयो ।
प्याब्सनका महासचिव आरबी कटुवालले आगामी दिनमा केन्द्रसँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिम्यान) का अध्यक्ष कृष्णप्रसाद पराजुलीले रूफटप सौर्य प्रणालीका सेवामा शतप्रतिशत ग्यारेन्टी प्रदान गर्ने बताउनुभयो । नेपालका सौर्य ऊर्जा कम्पनीहरू ग्राहकले चाहेजस्तो सेवा प्रदान गर्न सक्षम रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा केन्द्रका निर्देशक डा. नारायणप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पनि नवीकरणीय ऊर्जाले महत्वपूर्ण योगदान गर्ने भन्दै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रमा प्याब्सनसँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।
हालको नीतिगत व्यवस्था सरलीकृत गर्दै प्याब्सनमा आबद्ध निजी तथा आवासीय विद्यालयमा रूफटप सौर्य प्रणाली प्रवद्र्धनमा जोड दिइने उहाँको भनाइ थियो ।
नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका सल्लाहकार बद्रीनाथ बरालले कार्यक्रमको कार्यान्वयन ढाँचा तथा कार्यक्रमबाट हुने आर्थिक प्राविधिक सहयोग सम्बन्धमा प्रस्तुति दिनुभएको थियो भने डिकेटिआई आयोजनातर्फबाट डिपुटी टिम लिडर खेमराज भण्डारीले कार्यक्रमका समग्र पक्षबारेमा प्रस्तुति दिनुभएको थियो ।
केन्द्रका अनुसार हाल केन्द्रअन्तर्गत जर्मन सरकार (जर्मन सहयोग नियोगअन्तर्गत केएफडब्लु) को सहयोगमा सञ्चालित ग्रामीण तथा अर्धशहरी क्षेत्रका लागि सौर्य ऊर्जा प्रवद्र्धन आयोजना (डिकेटिआई आयोजना) एवं केन्द्र र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत डिजेल खपत भइरहेका उद्योग तथा निजी व्यवसायमा हरित गृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्न सौर्य रूफटप प्रणाली जडान गर्ने कार्य भइरहेको छ । नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ बमोजिम सौर्य रूफटप प्रणाली जडानका लागि व्यावसायिक प्रयोजनमा एक हजार पाँच सय वाट पिक क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैंक ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदानस्वरूप बैंकमार्फत् उपलब्ध गराइने प्रावधान रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच