काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकास्थित मार्कीचोकबाट भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइनको काम छिटो सक्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि उक्त प्रसारण लाइन महत्वपूर्ण रहेकाले निर्माणमा तीव्रता दिन निर्देशन दिएको हो ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा जानकारी लिएको छ । आयोजनातर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिमा रहेको कानुनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्य सम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त खण्ड आगामी असारभित्र निर्माण सम्पन्न गर्न नसकिएमा दुई-तीन सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले चालु रहेको मस्र्याङ्दी भरतपुर र दमौली-भरतपुर १३२ केभी प्रसारण लाइन सिंगल सर्किटमात्र छन्, जसबाट करिब ८०/८० मेगावाटमात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारण लाइन क्षमताले नधान्ने हुँदा काठमाडौंबाट हेटौंडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारततर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ । त्रिशुली करिडोरबाट माथिल्लो त्रिशुली ३ ए, रसुवागढी, साञ्जेनलगायतका आयोजनाको विद्युत् काठमाडौं आउँछ, मार्कीचोक-नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौंडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ, नत्र विद्युत् कतै प्रवाह गर्न नसकी हृयागिङ हुने अवस्था आउने देखिएको छ ।’
घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रिया सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइन निर्माण जति सक्दो छिटो गर्न आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार दुई सय २५ रुख कटान गर्नुपर्नेछ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो ।
वन क्षेत्रको जग्गा प्रयोगबापत सोही बराबरको जग्गा उपलब्ध गराउनुपर्ने वन नियमावली, २०७९ मा भएको व्यवस्थाबमोजिम आयोजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएका र समान भौगोलिक पारिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू-बनोट भएको निजी जग्गा बिक्रीका लागि प्रस्ताव आहृवान गरेकोमा जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताउनुभएको छ । प्राधिकरणका अनुसार मार्कीचोक-नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्नेछ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ भने पाँचवटा टावर खडा गरिएको छ ।
मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभीका चारवटा सबस्टेसनको निर्माण हुँदैछ । चितवनमा नयाँ भरतपुर सबस्टेसन सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक(इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच