काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नोतर्फबाट सुझाव पेश गरेको छ । क्यान महासंघका अध्यक्ष रणजित पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. किरण रूपाखेतीलाई २४ बुँदे सुझाव बुझाएको हो ।
क्यान महासंघले सरकारको आगामी नीति तथा कार्यक्रममार्फत् सूचना प्रविधि क्षेत्र(आइटी)लाई उद्योगका रूपमा सम्बोधन गर्नुपर्ने माग गरेको छ । पछिल्ला आर्थिक वर्षमा मात्रै नेपालबाट ६७.८ अर्बको सफ्टवेयर निर्यात भएको उल्लेख गर्दै महासंघले देशको आयमा निजी क्षेत्रले सफ्टवेयर र सर्भिस बिक्रीमार्फत् ठूलोमात्रामा सहयोग गरिरहेकाले आइटीलाई उद्योगका रूपमा सम्बोधन गर्न माग गरेको हो । आइटी क्षेत्रमा राज्यले थप सुविधा दिए सोभन्दा बढीमात्रामा आम्दानी गर्न सकिने महासंघको भनाइ छ ।
क्यानले नेपाली सफ्टवेयर उत्पादनलाई सरकारतर्फबाट नै सफ्टवेयरमा आत्मर्निभरताका लागि पहल गर्नसमेत ध्यानाकर्षण गराएको छ । नीति तथा कार्यक्रममा हरेक प्रदेशमा एउटा फिनिसिङ स्कुल स्थापना गर्ने विषय समावेश गर्न पनि क्यानले सुझाव दिएको छ । आइटी पढेपछि उद्योगलाई कस्तो जनशक्ति आवश्यक छ, सोहीअनुसार पठाउन फिनिसिङ स्कुलले सहयोग पुर्याउने र नेपालमै आइटी जनशक्तिको उचित व्यवस्थापन हुने महासंघको विश्वास छ ।
सरकारी डेटा सेन्टर (जिआइडिसी) को कतिपय लाइसेन्स एक्सपायर हुन लागेको भन्दै क्यानले जिआइडिसी सञ्चालनका लागि ठोस फ्रेमवर्क बनाउन पनि सुझाएको छ ।
साइबर सुरक्षा रेस्पोन्स टिम, सूचना प्रविधिमा आधारित कन्टेन्ट नियन्त्रणभन्दा उचित नियमन व्यवस्था, विद्युतीय सुशासनमा जोड, आइटी विद्यार्थीलाई छात्रवृत्तिलगायतका कार्यक्रम समावेश गर्न क्यानले माग गरेको छ । त्यस्तै, नेसनल आइसिटी काउन्सिल स्थापना, डिजास्टर रिकभरी, डेटा सेन्टर स्वचालितरूपमा सञ्चालन गर्नुपर्ने, सरकारले महत्वपूर्ण सूचना प्रविधि प्रणालीमा स्वदेशी स्रोत र जनशक्तिलाई प्राथमिकता दिनुपर्ने, डेटा सुरक्षा र गोपनीयतासम्बन्धी स्पष्ट कानुनी व्यवस्था, सरकारी सफ्टवेयरमा एकरूपता, प्रत्येक नेपालीको ‘युनिक आइडेन्टिफिकेसन नम्बर’, नयाँ प्रविधिको हस्तान्तरणमा निजी क्षेत्रलाई प्रोत्साहन, नागरिकको बायोमेट्रिक पहिचानका लागि एक एकद्वार केन्द्रीकृत प्रणाली, भन्सार कर मूल्य समय अनुकूल परिमाजन गर्नुपर्ने, डिजिटलाइजेसनमार्फत् भन्सार नाकालाई ‘आइल्याण्ड अफ एक्सिलेन्स’ (उत्कृष्टताको टापु)कै रूपमा अघि बढाउनुपर्नेलगायतका कार्यक्रम राख्न पनि सुझाव दिइएको छ ।
सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधन गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा योजना समेट्न सुझाव दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
महासंघ अध्यक्ष पोदारले नीति तथा कार्यक्रमले सरकारले निजी क्षेत्रसँग मिलेर हातेमालो गर्दै नेपाललाई आइटी हबका रूपमा स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । क्यानका सुझाव ग्रहण गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रूपाखेतीले प्राप्त सुझाव सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच