काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै तीन दशकदेखि पार्टीको नेतृत्वमा हुनुहुन्छ । विभिन्न नाममा पार्टी परिवर्तन भइरहे पनि प्रचण्डको नेतृत्व फेरिएको छैन । माओवादीले सम्मेलन र महाधिवेशनका विभिन्न नाम दिएर नेतृृत्वको वैधानिकता लम्ब्याउनेबोहक अरू काम गरेको छैन । यो सुन्दा कसैलाई नौलो र अनौठो पनि लाग्दैन । माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी जस्तो बनेको छ । अब सायदै कसैले प्रचण्ड रहुन्जेल नेतृत्व फेरिने आशा गरेका होलान् ।
यो अवस्था माओवादी वा प्रचण्डको मात्रै होइन । वर्ष तलमाथि होला तर, नेतृत्वमा पुगिसकेपछि नछोड्ने प्रवृत्ति प्रायः सबै प्रमुख दलहरूमा छ । उस्तै उमेर समूहका नेताहरू लामो समयदेखि पार्टीको नेतृत्वमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विगत नौ वर्षदेखि पार्टीको नेतृत्वमा विराजमान हुनुहुन्छ । २०७१ सालको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका ओली अझै १०/२० वर्ष नेतृत्व गर्छु भन्दै फुइँ लाउँदै हुनुहुन्छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको अवस्था पनि उस्तै छ । कांग्रेसको नेतृत्वमा सभापति शेरबहादुर देउवा विगत आठ वर्षदेखि हुनुहुन्छ । अझै दुई वर्ष उहाँको कार्यकाल बाँकी छ । अध्यक्ष ओली र प्रचण्ड ७२ र देउवा ७८ वर्ष हुनुभयो । दुवैले अझै सहजै नेतृत्व छोड्ने मुड बनाउनुभएको छैन ।
उसो त अहिलेका मात्रै होइन नेतृत्वमा पुगेपछि नछोड्ने प्रवृत्ति नेपाली नेताहरूको पुरानै हो । २०६२–६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गिरिजाप्रसाद कोइराला २०५२ सालमा पार्टीको नेतृत्व लिएपछि २०६६ साल चैत ७ मा निधन नहुँदासम्म निरन्तर सभापति हुनुहुन्थ्यो । त्यसअघि निर्वाचित सभापति कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ २०३२ सालमा बिपी कोइरालाले कार्यवाहक सभापति दिएपछि १६ वर्ष पार्टीको कार्यवाहक सभापति र चार वर्ष निर्वाचित सभापति भएर काम गर्नुभयो । तर, त्यो विशेष परिस्थिति थियो । जुनसुकै विधिबाट होस् नेतृत्वमा पुग्ने, जस्तोसुकै हतकण्डा गरेर होस् नेतृत्वमा अडिइरहने र महाधिवेशन र राष्ट्रिय निर्वाचनमा व्यक्ति हावी भएर पुनः अर्को कार्यकालका लागि बलियो बन्ने चरित्रले पार्टीहरूको आन्तरिक लोकतन्त्र ध्वस्त छ ।
तीन दशकदेखि अनवरत प्रचण्ड
२०४६ सालको सुरुवातमै नेकपा मशालको महामन्त्री हुनुभएका प्रचण्ड २०४८ सालमा बाबुराम भट्टराईको संयुक्त जनमोर्चा, निर्मल लामाको नेकपा (चौम) रुपलाल प्रधानको सर्वहारा श्रमिक संगठन, हेटौँडामा सक्रिय सानो समूह जनमुखी पार्टीसहित मिलेर नेकपा एकता केन्द्रको महामन्त्री बन्नुभएको थियो । २०५१ सालमा पार्टी फुटेपछि नेकपा माओवादी बन्यो, प्रचण्ड नै महामन्त्री बन्नुभयो । उहाँकै नेतृत्वमा माओवादीले सशस्त्र विद्रोह सुरु ग¥यो । २०५७ सालमा प्रचण्डकै विचारबाट आन्दोलन सम्भव र सफल भएको भन्दै त्यसलाई प्रचण्डपथ नाम दिइयो । प्रचण्डपथ तयार भएपछि उहाँ नेकपा माओवादीको अध्यक्ष बन्नुभयो । अध्यक्षात्मक प्रणाली त्यहीँबाट सुरु भएको थियो । २०६४ सालको निर्वाचन परिणामपछि माओवादी र तत्कालीन एकताकेन्द्र मसाल र त्यसको खुला मोर्चा जनमोर्चा नेपालबीच एकता भएपछि एकीकृत नेकपा माओवादी बन्यो । त्यहीँबाट प्रचण्डको नेतृत्वले नयाँ कार्यकालको वैधानिकता लियो । त्यसयता झण्डै ७० वर्ष पुग्नुभएका उहाँ निरन्तर अध्यक्ष हुनुहुन्छ ।
दशक कटाउने दाउमा देउवा-ओली
शेरबहादुर देउवा २०७२ साल फागुनमा कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकालमा उहाँले समयमै महाधिवेशन नै गराउनुभएन । नियमित अधिवेशन समयमा नगरेपछि विधानको विशेष व्यवस्थाको प्रयोग गरेर एकवर्ष कार्यकाल थप गर्नुभयो । त्यसपछि महाधिवेशन बाध्यता थियो । तर, बाध्यतालाई कोरोनाको महामारीले टारिदियो र त्यसैले उहाँ साढे पाँचवर्ष कार्यकाल पूरा गर्नुभयो । त्यति हुँदा पनि उहाँलाई नेतृत्व पुस्तान्तरण र हस्तान्तर गर्ने जाँगर चलेन । १४औँ महाधिवेशनमा फेरि सभापति लड्नुभयो र जित्नुभयो । उहाँ पार्टीको नेतृत्वमा पुगेको एक दशक पुग्नै लागेको छ । अर्कोपटक नदोहोरिने ठानिएका देउवाले समयमै महाधिवेशन गराए पनि एक दशक त कट्ने नै छ । अझै यस अघिजस्तै कार्यकाल लम्ब्याउनुभयो भने एक÷डेढ वर्ष जानसक्छ । एमाले अध्यक्ष ओलीको अवस्था पनि लगभग उस्तै छ । उहाँ देउवाभन्दा एक वर्षअघि २०७१ सालको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । दशौँ महाधिवेशनमा अझै बलियो हुँदै अध्यक्ष चुनिनुभयो । पार्टीमा उहाँलाई अध्यक्षमा चुनौती दिने नेता अझै देखिएको छैन । आगामी महाधिवेशनमा पनि पुनः ओली नै दोहोरिने आँकलन छ । उहाँ स्वयंले पनि पुनः नेतृत्वमा दोहोरिने सार्वजनिक रूपमै बताउँदै आउनुभएको छ । उहाँ मात्रै होइन तत्कालीन एमाले महासचिव माधव कुमार नेपाल करिब १५ वर्ष नेतृत्वमा बस्नुभएको थियो । दुई महाधिवेशनको नेतृत्व गरेर उहाँ अहिले पनि एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ ।
सबैलाई पद नै चाहिने
प्रमुख दलहरू मात्रै होइन आफूलाई कडा कम्युनिष्ट भन्ने सानातिना दलमा पनि दशकौँ नेतृत्वमा बसिरहने प्रवृत्ति कायमै छ । २०३१ सालको नेकपा चौथो महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनुभएका नेकपा मशालका महासचिव मोहन विक्रम सिंह अहिले पनि पार्टीको नेतृत्वमै हुनुहुन्छ । २०४४ सालमा जनमोर्चा बनेपछि नेतृत्वमा पुग्नुभएका चित्रबहादुर केसी अहिलेसम्म राष्ट्रिय जनमोर्चाको अध्यक्ष हुनुहुन्छ । कम्युनिष्ट पार्टीमा उत्तर कोरियामा अभ्यास गरिएको शैलीको विचारधारा लिएर भक्तपुरका नारायणमान बिजुक्छेंले २०३१ साल माघ ३१ मा नेपाल मजदुर किसान पार्टी गठन गर्नुभएको थियो । त्यसयताका अहिलेसम्म पनि उहाँ अध्यक्ष नै हुनुहुन्छ । मधेश केन्द्रित दलको अवस्था पनि उस्तै छ । पाए ठूलै पार्टीको अध्यक्ष हुने नभए नयाँ खोलेर पनि नेतृत्वमै बसिरहने प्रवृत्ति उनीहरूमा पनि छ ।
२० वर्ष जति अरू कसैले आशा नगरे हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्ष जति अरू कसैले आशा नगरे पनि हुने बताउनुभएको छ । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले २० वर्ष जति अरू कसैले आशा नगरे पनि हुने बताउनुभएको छ । जुँगा काला भएको र झरेको कपाल पलाउन थालेको भन्दै अझै २० वर्ष नेतृत्वमा रहिरहने संकेत गर्नुभयो । ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उहाँले भन्नुभयो, ‘मैले पोहोर परार भनेको थिएँ । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफैँ पलाउन थालेको छ । अस्ति नै मैले भनँे २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’ एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने उहाँले बताउनुभयो । ‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ,’ उहाँले भन्नुभयो, ‘अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच