
विमला निरौला
नयाँ वर्ष
सपनाको सिरानी च्यापेर एक अञ्जुली मिर्मिरे
चिहाउँछ जीवन झ्यालका खट्प्वालहरूबाट
फूलजस्तो कोमल बिहानी
हरेक धुर्मिला रातहरू च्यातेर अघि बढ्छन्
धुकधुकीका पदचापहरू
लमतन्न दिनले डोर्याएको घडी, पला
हरपल भेट्छ नयाँ परिवेश र परिस्थिति ।
घण्टाघरको साइरनले बिदाइ र स्वागतको संयुक्त शङ्खनादपछि
नयाँ वर्ष तिथि, मिति र भित्तेपात्रोको फेरिन्छ नयाँ रूप
बेहुलीको भानसँगै देखिन्छ भौतिक उमंगको झिनो आधार
तर भेट्नु त छ हरेक पल,
हर निमेष नौलो उत्साह नवीन क्षण
मौलाएर हृदयमा विश्वासको हरिया दुवो
मधुरसमा सम्बन्धको मिठास
हुर्काएर चमेली कर्महरू
छिचोल्दै जानु छ उमेरले तारेभिरको उकालो
पल पल नव्य-रागको गीत सुसेल्दै ।
उषाका लालीमा, साँकुराको डालीमा
वसन्तीको वागमा, गुराँसका पत्रमा
नबिलाउने कर्मका डोबहरू
नहराउने वचनका लयहरू
भेट्नु छ नूतन पल, समेटेर ज्वाज्वल्यता
आफ्नै चमकताले जगाए स्वयंको दिव्य ज्योति
हरक्षण नै प्रारम्भ र बनायौँ नवीन, सर्वदा खुसी हर्ष
पल पल शुभकामना, स्वागत छ नयाँ वर्ष ।।
महासचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
भर्जिनिया, अमेरिका
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच