कविता : बाबु नयाँ वर्षको शुभकामना

हिमालय टाइम्स
Read Time = 2 mins

बाबु !
तिम्रो देशको नक्सामै गम्भीर खोट छ
शासकीय चेतमा भयावह दोष छ
सबै रुग्ण, थङ्थिलो र बिरामी छ
अरु सबैसबै उही र पुरानै भएपनि
तिमीसँग साँच्चै एउटा दर्बिलो साथ छ
हरेक दिन फेरिने एउटा बिहानी छ
बाबु त्यसैले तिमीलाई उही
पुरानै शैली र ढर्राको शुभकामना ।

बाबु !
दैनन्दिन फर्कने काठको बाकस उही छ
अचेतन शासन गर्ने तिम्रो शासक उही छ
रोग, भोक, शोक अनि गरिबी  त्यही छ
अशिक्षा, अभाव र अवस्था पनि उस्तै छ
सबै नभएर पनि एउटा कुरा साँच्चै छ
पात्र र कुरा पटकपटक फेरिएको छ
बाबु त्यसैले तिमीलाई उही
पुरानै शैली र ढर्राको शुभकामना ।

बाबु !
पेट खाली छ, तिम्रो हाङ सर्वाङ्ग छ
यस्तैमा पनि तिमीले गर्ने एउटा काम छ
आज तिम्रो घरको असुरक्षित भित्तोमा
सबै तिथि, मिति प्रष्ट लेखिएको
तर, भविष्य असुरक्षित देखिएको
एउटा अनिश्चयको पात्रो फेरिएको छ
बाबु त्यसैले तिमीलाई
तिमी जस्तै उही तिम्रो साथीको
पुरानै शैली र ढर्राको शुभकामना ।

बाबु ! डराउँदै नडराउनु
किन्चित नहडबडाउनु
अनि कहिल्यै नसराप्नु
सतीले श्राप दिएको भनेर
यो गौतम बुद्धको देश हो ।
बाबु पटक्कै नरिसाउनु
र, प्रयास पनि नत्याग्नु
समृद्धि, खुशी र सुखको कुरा
अर्को नयाँ सालमा लेखुँला
हर्षका साथ अर्को वर्ष भेटुँला
साँच्चै नयाँ वर्षको नयाँ बिहान
अर्को वैशाख एकमा देखुँला
बाबु त्यसैले तिमीलाई यो वर्ष उही
पुरानै शैली र ढर्राको शुभकामना ।

  • राजेन्द्र गौतम / धुलाबारी, झापा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?