
काठमाडौं । यही वैशाख १५ गने हुने उपनिर्वाचनका लागि इलाम-२ को चुनावी प्रचारमा सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरूको लर्को लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेक शीर्ष तहका अधिकांश नेताहरू चुनावी प्रचारमा सहभागी हुन इलाम-२ पुगेका छन् । इलाममा चुनावी सरगर्मी चरम विन्दुमा पुगेको छ । मतदाता रिझाउन उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवार मात्रै होइन प्रचार प्रसारमा केन्द्रीय नेताहरूको समेत लर्काे लागेको छ ।
उपनिर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी समूहले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ वैशाखमा भएको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा उपाध्यक्ष रामबहादुर थापा, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शेरधन राईलगायत चुनावी सभामा सहभागी हुनुभएको थियो । त्यसअघि उपमहासचिव प्रदीप ज्ञवाली इलाम २ पुग्नुभएको थियो । एमालेले इलाम–२ को चुनावी कमाण्डर स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ । माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्दै आफ्नो पार्टीबाट उम्मेदवार उठाएको छैन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जिल्ला जाने नेताका लागि निश्चित मापदण्ड बनाएको छ । कांग्रेसमा आफूखुसी प्रचारमा जान नपाउने र जान परे केन्द्रीय सचिवालयबाट स्वीकृति लिने विधि बनाइएको छ । कांग्रेसले इलाम–२ को उपनिर्वाचनमा महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । महामन्त्री शर्मा उम्मेदवारी दर्तासँगै चुनावी क्षेत्रमा क्रियाशील रहनुभएको छ । पार्टी महामन्त्री गगन थापा चुनावी अभियानका लागि दोस्रोपटक शुक्रबार इलाम पुग्नुभएको थियो । शुक्रबार महामन्त्री थापा घरदैलो कार्यक्रममा सहभागी हुनुभयो । शनिबार कांग्रेसले निर्वाचन क्षेत्रमा आमसभा गरेको छ । आमसभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्नुभएको थियो । प्रचार अभियानका क्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्म आङ्देम्बे, पूर्वमहामन्त्री शशांक कोइराला लगायतका नेताहरू चुनावी क्षेत्रमा पुगिसकेका छन् । कांग्रेसले अघिल्लोपटक पराजित नेता डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।
पार्टीको सिंगो पंक्ति नै चुनाव केन्द्रित हुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीले अरूको तुलनामा धेरै नेतालाई खटाएको छ । पार्टीका शीर्ष नेता, मन्त्री, केन्द्रीय सदस्य र सांसदलाई चुनावी क्षेत्रमा खटाउनेमा रास्वपा अन्य दलको तुलनामा अगाडि देखिएको हो । रास्वपाको पदाधिकारीमा रहेका अधिकांश नेता चुनावी प्रचारमा पुगिसकेका छन् । रास्वपाले चार जना मन्त्रीलाई नै चुनावी प्रचारमा खटाएको छ । चुनावी प्रचारका लागि सभापति एवं गृहमन्त्री रवि लामिछाने दोस्रोपटक इलाम पुग्नुभएको छ । लामिछाने वैशाख १२ गतेसम्म इलाममै रहने बताइएको छ ।
लामिछाने शुक्रबार र शनिबार चुनावी सभामा सहभागी हुनुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं रास्वपा उपसभापति डिपी अर्याल पनि चुनावी प्रचारमा सहभागी हुनुभएको थियो । मन्त्री, शीर्ष तहका सबैजसो नेता प्रचार अभियानमा पठाएको रास्वपाका धेरैजसो केन्द्रीय सदस्य र सांसदहरू पनि चुनावी क्षेत्रमा पुगेका छन् ।
सत्तारूढ दल एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गरेको छ । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईका पक्षमा मत माग्न पार्टीका सम्मानित नेता झलनाथ खनाल आफैँ लाग्नुभएको छ । खनाल एकीकृत समाजवादीका उम्मेदवार राईका चुनावी कमाण्डरसमेत हुनुहुन्छ । खनाल चुनावी प्रचारमा समेत सहभागी हुनुभएको थियो । पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका डकेन्द्रसिं थेगिमलाई जनता समाजवादी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् । थेगिमको चुनावी प्रचारमा धरानका मेयर हर्क साम्पाङसमेत लाग्नुभएको छ । कोशी प्रदेशको नामकरण पछाडि एकजुट भएका पहिचान पक्षधर पनि यसपटक साझा उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएका छन् । पहिचानवादीको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न ४१ वटा घटक दल र संघ-संस्थाको समर्थनमा उम्मेदवार बनेका थेगिमको समर्थनमा अधिवक्ता स्वागत नेपाल, लेखक युगपाठक इलाम आउनुभएको छ । इलाम २ मा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम-२ मा उपचुनाव हुन लागेको हो । इलाम-२ मा चुनावी प्रचार तीव्र भइरहँदा नयाँ मतदाता भने कसलाई मतदान गर्ने भनेर खुलेका छैनन् ।
वर्तमान गठबन्धन सरकार आउँदो माघसम्म पनि टिक्दैन : थापा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनाव अघिको गठबन्धन बेइमानी हो भन्ने पुष्टि हुने जिकिर गर्दै भन्नुभयो, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्न सक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरूको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको ।’ महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको र चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको उल्लेख गर्दै भन्नुभयो, ‘चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’
महामन्त्री थापाले स्वर्गीय सुवास नेम्वाङलाई आफूले संविधानसभा अध्यक्ष र गणतन्त्र आवश्यक छ भनेर वकालत गर्ने व्यक्तिका रूपमा सम्झिने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘म पात्रको कुरा गर्दिनँ तर पुत्र वा पुत्री भएकै कारण अवसर पाउँछ भने त्यो गणतन्त्र होइन । कुनै पनि व्यक्तिले आफ्नो मिहिनेतले उभिनुपर्छ । इलाममा राजतन्त्र फर्किएको हो ? गणतन्त्र कि राजतन्त्रको पक्षमा मतदान गर्ने हो ? प्रश्न गर्ने बेला तपाईंको हो ।’
निर्वाचन अघिको गठबन्धन गलत : शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने टिप्पणी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताउनुभयो । उहाँले इलामले अब परिवर्तन खोजेको पनि बताउनुभयो । उहाँले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नु हुनेछ । हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ ।’
‘उपनिर्वाचनमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउनुस्, २४ घण्टाभित्र कारबाही गर्छौं’ : लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहनुभएका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो, ‘अन्तिम समय, मौन अवधि पनि आउँदैछ । कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला । २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ, यो गाउँमा पैसा बाँड्दै हिँड्ने व्यक्तिलाई देशमा चिनाउने इच्छा छ । नागरिकलाई सचेत गराउन चोक-चोक गौँडा- गौँडामा खटिनुहोला । पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ । कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ ।’
धर्मगुरु आत्मानन्द लिङ्देनको सहयोग खोज्न नेताहरूको लस्कर
वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शनभेट तीव्र पारेका छन् । इलाम–२ मा हुने उपनिर्वाचनमा किराँत धर्मको राम्रो प्रभाव पर्ने भएकाले नेताहरूले भेट बढाएका हुन् । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि शुक्रबार लिङ्देनलाई भेट्न पुग्नुभएको थियो । इलामको माङसेबुङ-५ स्थित गुरु निजी आश्रममा खनालले धर्मगुरुसँग वार्ता गर्नुभएको हो । खनालसँग कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु र कोशी प्रदेशका पूर्वमन्त्री खिनु लङ्वा पनि सहभागी हुनुहुन्थ्यो । गठबन्धनमा आबद्ध नेकपा एसले इलाम २ मा आफ्नै उम्मेदवार उठाएको छ । खनालले भेटेर धर्मगुरुसँग आफ्नो उम्मेदवारको पक्षमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ । धर्मगुरु कहाँ केही दिन अघि नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पनि पुग्नुभएको थियो । उहाँले पनि आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवार डम्बर खड्काको पक्षमा खुल्न आग्रह गरेर फर्किनुभएको थियो । दलहरूले इलाम-२ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर प्रस्तुत हुँदा करिब पाँच हजार मत प्रभाव पार्नसक्ने धर्मगुरुसँग नेताहरूले भेट बढाएका छन् । विगतका चुनावी परिणाममा पनि धर्मगुरु लिङ्देनको प्रत्यक्ष प्रभाव पर्ने गरेको राजनीतिक दलका नेताहरूले बताउँदै आएका छन् । स्वर्गीय नेम्वाङ्को निरन्तर विजयीको मुख्यकारण धर्मगुरु लिङ्देनको समर्थन नै रहेको स्थानीय नेताहरूको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच