जनताले आशा, भरोसा गरेका नयाँ राजनीतिक दलहरू नै सत्ता स्वार्थमा लिप्त बन्दै गएका छन् । सत्ताको चास्नीमा डुब्दा उनीहरू पनि सत्तादेखि बाहिर आउन खोज्दैनन् । नेपालको राजनीति साना दलहरूको च्याँखे दाउले अस्थिरतातर्फ अघि बढिरहेको छ । केन्द्रदेखि प्रदेश सरकारसम्म साना दलहरूको च्याँखे दाउल लाभान्वित हुने गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय नागरिक उन्मुक्ति पार्टी, मधेस केन्द्रित दलजस्ता साना दलहरूले केन्द्रदेखि प्रदेश सरकारसम्म सरकारमा जाने अबसर पाएका छन् ।
नयाँ राजनीतिक दलहरू पनि सत्ताकै वरिपरि केन्द्रित छन् । देश र जनताको भविष्य बनाउने कुरामा साना दलहरू पनि खासै चिन्तित बनेको देखिएन । जनताले पुराना दलहरूवाट वाक्कदिक्क भएर नयाँ दल रोजेका हुन् । नयाँ दलहरू पनि पुराना दलहरूजस्तै हुने हो भने यसको के अर्थ ? नयाँ दलहरू नयाँ सोच, नयाँ चिन्तन, नयाँ योजना लिएर जनता सामु जानुपर्ने देखिन्छ । यी पार्टीहरू पनि पुरानै दलको पारामा चल्ने हो भने काम छैन । पुराना दलहरूमा भ्रष्टाचार, अनियमितता र परिवारवादको आरोप लाग्दै आएको छ । गृहमन्त्री रवि लामिछाने माथि सहकारी ठगी प्रकरणमा आरोप लाग्ने गरेको छ । यो वास्तविकता हो कि के हो विस्तारै खुल्दै जाला ।
जनताको पक्षमा बोल्नुपर्नेमा उनीहरू सरकारमा जाने कुरामात्र गर्दछन् । साना दलहरू पनि कुन मन्त्रालय, कुन प्रदेशको मुख्यमन्त्री आफूले पाउने, नपाए सरकारबाट बहिरिने धम्की दिँदै आएका छन् र पद पनि पटकाएकै छन् ।
उनीमाथि जुन आरोप लागेको छ त्यो गम्भीर छ । नयाँ दलहरू र तिनका नेताहरू कुनै न कुनै काण्डमा मुछिएका समाचार आउने गरेका छन् । यो खासै राम्रो संकेत हुँदै होइन । राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको ६ महिनाभित्रमै यस पार्टीमाथि जनताले अत्यधिक विश्वास गरे । समग्र राजनीतिमा एउटै वैकल्पिक शक्ति बन्ने र भविष्यको नेतृत्व गर्नसक्ने दलको रूपमा जनताले रास्वपालाई मत दिएका थिए तर राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुरानै दलहरू जस्तै सत्ता स्वार्थमा केन्द्रित बनेको छ । दुई पटक सरकारमा जाने अवसरसमेत पाएको छ ।
यो पार्टी पनि जनताको विश्वासमाथि घात गर्दै गयो भने जसरी उदाएको थियो त्यसैगरी अस्ताउने निश्चित छ । यो पार्टीमाथि पनि पदलोलुपता र सत्तालिप्साको आरोप लाग्ने गरेको छ । यो पार्टीको धार कुन हो ? अहिलेसम्म स्पष्ट छैन । राष्ट्रिय स्वतन्त्र पार्टी विनाकुनै त्याग, समर्पण, बलिदान, आन्दोलन विना स्थापित भएको पार्टी हो । जनताले यो पार्टीमाथि विश्वास गर्नु चुनावमा गरिएका प्रतिबद्धता हुन् । देशको राजनीतिमा सुधार ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने आर्थिक पारदर्शिता कायम गर्ने, सुशासन ल्याउने जस्ता प्रतिबद्धता गरेको थियो ।
तर, त्यसअनुसार यो पार्टीले सरकारमा गएर पनि काम गरेको छ कि छैन भन्ने अझै मूल्यांकन गर्ने बेला भएको छैन । नेपालको राजनीतिमा विकृति आएको छ । नेताहरू पद र कुर्सीविना बाँच्नै नसक्ने भएका छन् । देशमा राजनीतिक दलहरूको कुनै काम छैन भन्न बाध्य हुन थाले आमजनता । राजनीतिमा व्याप्त भ्रष्टाचारको विरोध गरेर चर्चा कमाएका र चुनावमा जनताको समर्थन हासिल गरेका नयाँ दलहरू पनि सत्ताकै लागि मरिमेटन लागे । नयाँ दलहरू पनि आफ्ना पूर्वघोषित प्रतिबद्धता विपरीत काम गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि कतिपय नेताले सरकारमा पार्टीको सहभागितालाई मन पराएका छैनन् । गत आमनिर्वाचनमा रास्वपालाई जनताले किन विश्वास गरे ? जनताले कुन अपेक्षा र आशाले यस पार्टीलाई मत दिएका थिए ? यो कुरा रास्वपाका नेताहरूले बुझ्न जरुरी छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले नेपालको वर्तमान राजनीतिमा देखिएका विकृति, विसंगतिलाई हटाउने उद्घोष गरेकाले राजनीतिक विकल्पको रूपमा जनताले उनीमाथि आशा र भरोसा गरेका थिए । तर उनले त्यसअनुसार काम गर्न सकिरहेका छैनन् । उनी सरकारमा जानु नै ठूलो गल्ती हो । सरकारमा गएर केही हुने होइन ।
उनले संसद्को सदुपयोग गर्नुपर्दथ्यो, देश र जनताका जल्दाबल्दा समस्यालाई प्रभावकारी रूपमा संसद्मा उठाउनुपर्दथ्यो तर सत्तालाई महत्व दिए । जुन राजनीतिक दलहरूलाई गलत, भ्रष्ट र जनविरोधी भनेका थिए । तिनीहरूसँगै मिलेर सरकार जानु यो कस्तो राजनीति हो ? यो पार्टीको आर्थिक नीति के हो ? यो पार्टीले धर्मको विषयमा के सोच राखेको छ । नेपालको संविधान २०७२ को बारेमा के धारणा छ ? यी प्रश्न उठने गरेका छन् । विचार, शिद्धान्त, नीति नभएका दलहरूको पतन हुन पनि बेर लाग्दैन । पुराना दलहरूले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन नसकेकै कारण नयाँ दलको उदय भएको हो ।
जनताको निराशाको मत नयाँ दलहरूतर्फ पोखिएको हो । यसलाई ठूलो कुरा लिन जरुरी छैन । पुराना दल र तिनका नेताहरू सुर्धन नसकेकै कारण नयाँ दलहरूले अवसर पाएका हुन् । अहिले साना दलहरू मौकाको फाइदा उठाउन उद्यत् छन् । अहिलेको गठबन्धनमा रहेको नेकपा एसले देखाएको तमासा झन् घतलाग्दो बन्दै गएको छ । उसले आफ्नो हैसियत बिर्सेर बार्गेनिङ गर्दै आएको छ र सरकारमा राम्रा मन्त्रालय हात पारेको छ । पछिल्लो अवस्थालाई हेर्ने हो भने राजनीति घिनलाग्दो बन्दै गएको छ । नेकपा एसको हैसियत र उसले बार्गेनिङ गर्दै आएको कुरा सुन्ने हो भने लाजले मुख छोप्नुपर्ने अवस्था देखिन्छ ।
अस्थिर राजनीतिक चरित्र बोकेका साना दलहरूले राष्ट्र, राष्ट्रियता, जनताका समस्या समाधान गर्नेतर्फ भन्दा पनि आफ्नो स्वार्थ पूर्तिमा तल्लिन छन् । ठूला दललाई खुशी बनाउने र सत्तामा जाने दाउबाहेक साना दलहरूको अरू कुनै ध्यान छैन । यसले जनतामा निराशा त बढाएको छ नै ती साना दलहरूको राजनीतिक भविष्यमाथि समेत प्रश्नचिहृन उठेको छ । उनीहरूको राजनीति भविष्य पनि त्यति राम्रो देखिँदैन । किनभने उनीहरूले पनि सत्ताबाहेक अरू हेर्न छोडे । जनताले उनीहरूलाई सिध्याउने अवस्था नआउला भन्न सकिँदैन ।
जनताको पक्षमा बोल्नुपर्नेमा उनीहरू खाली सरकारमा जाने कुरामात्र गर्दछन् । साना दलहरू पनि कुन मन्त्रालय, कुन प्रदेशको मुख्यमन्त्री आफूले पाउने, नपाए सरकारबाट बहिरिने धम्की दिँदै आएका छन् र पद पनि पड्काएकै छन् । ती दलहरूले आफ्नो निष्ठालाई सत्तासँग बेचबिखन गरिरहेका छन् । सत्ताका लागि पार्टीमा देखिएको विचलन र स्खलनले समेत नयाँ जन्मिएका दलहरूको हैसियतलाई समेत चिन्ने मौका मिलेको छ । बिग्रेका संरचना बनाउने र भ्रष्ट कर्मचारीतन्त्रविरुद्ध लागेर मुलुकलाई समुन्नत बनाउन लाग्नुपर्नेमा यी दलहरू आआफ्नै स्वार्थमा लाग्दा जनता निराश छन् ।
अहिले साना दलले ठूला दललाई जसरी खेलाएका छन् यसले आउँदो राजनीतिक भविष्यमाथि प्रश्नचिहृन खडा गरेको छ । मुलुकको तेस्रो दलले सरकारको नेतृत्व गरिरहेको छ । प्रमुख दुई ठूला दल आलोपालो उसको सारथी बन्न पुगेका छन् ।
जुन जोगी आए पनि कानै चिरेका भनेझैँ भएको छ । यी दलहरूबाट पनि थप आस गर्नुपर्ने आवश्यकता देखिँदैन । यिनीहरूबाट जनताले जे अपेक्षा गरेका छन् त्यो पूरा हुने देखिँदैन । सत्ताविना कुनै राजनीति दल अडिन नसक्ने भए । अहिले साना दलले ठूला दललाई जसरी खेलाएका छन् यसले आउँदो राजनीतिक भविष्यमाथि प्रश्नचिहृन खडा गरेको छ । मुलुकको तेस्रो दलले सरकारको नेतृत्व गरिरहेको छ । प्रमुख दुई ठूला दलहरू आलोपालो उसको सारथी बन्न पुगेका छन् । नेपालको राजनीतिमा यस्ता खेल पहिलेदेखि नै धेरै हुँदै आएका हुन् । देशलाई अरू देशको तुलनामा हामीले कस्तो बनाउने भन्ने सोच चिन्तन कुनै दलमा देखिएन । हामी सधैंभरि यस्तै अवस्थामा रहन पनि सक्दैनौं ।
अहिलेको राजनीति संस्कारबाट भावी पुस्ताले के सिक्ने ? सिक्न लायक कुरा के छन् ? नेपालको राजनीति गिजलिएको अवस्था छ । राजावादीहरू राजा ल्याउनुपर्छ भन्दै सडकमा उत्रिएका छन् । मुलुकलाई पछाडि फर्काउने गतिविधिहरू पनि भइरहेका छन् । मुलुकका लागि यो पटक्कै राम्रो कुरा होइन । लोकतन्त्रवादी शक्तिहरू विभाजित बन्दा अराजक तत्वहरूले खेल्ने मौका पाएका हुन् । अब ठूला प्रमुख दलहरू देश, जनताको भाग्य र भविष्य निर्माणका लागि चिन्तित बन्नुपर्ने जरुरी देखियो । अझै समय बिग्रिएको छैन । पुरानो सोच, चिन्तन र मानसिकता परिवर्तन गरेर पुराना दल सुधार हुनसके भने जनताले विश्वास गर्न सक्छन् । गुमेको विश्वास फिर्ता हुनसक्छ ।
पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भविष्यबारे सत्ता गठबन्धनकै नेताहरूले आशंका व्यक्त पनि गर्न थालेका छन् । प्रदेशहरूमा देखिएको मतभेद र गृहमन्त्री रवि लामिछानेबारे उठेको सहकारीको विषयले यतिबेला भित्रभित्र वर्तमान सरकार अनिश्चित बन्दै गएको बताइन्छ । सरकारको आयुबारे यतिबेला सरकारभित्रैका नेताहरूले संशय प्रकट गरिरहेका छन् । साना दलको कोकोहोलो देख्दा राजनीतिक स्थायित्वका लागि ठूला दल मिलेर सरकार चलाउँदा नै राम्रो हुन्छ ।
एमाले र कांग्रेससँगको सत्ता सहकार्य मुलुकको हितमा हुने देखिन्छ । वर्तमान अस्थिरताबाट मुलुकलाई जोगाउन पार्टीगत स्वार्थमा नअलमलिएर यो सहकार्य गर्न अब ढिला गर्नु हुँदैन भन्ने आमबुद्धिजिवीको राय रहेको पाइन्छ । सहकार्यको मिलनबिन्दु पहिल्याउन यी दुई दलले ढिला गर्नु हुँदैन । राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको मुलुकलाई यहाँबाट निकाल्नु अहिलको विकल्प ठूला दलको सहकार्यबाहेक अर्को हुन सक्दैन । नेपालको राजनीतिमा अस्थिरता अभिशाप सावित भएको छ । समयमै सबैमा चेतना भया । भवतु सब्व मंगलम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच