
-डा. उद्धव पुरी
बुद्धकालमा बुद्धले आफ्ना कुनै पनि कुराहरूलाई लिपिवद्ध गर्न इच्छा देखाएनन् । केही अनुयायीहरूले यसलाई लिलिवद्ध गराउन पर्ने राय दिए पनि उनले मानेनन् । त्यस समयमा अरू धर्मका ग्रन्थहरू संस्कृतमा लेखिएका थिए । उनका वचनहरू पनि संस्कृतमा लेखेर राख्न सुझाएका थिए । अरू काममा बोलिचालीको भाषा प्रयोग भएपनि विशेष कुराहरू संस्कृतमा लेख्ने लेखाउने चलन थियो । बुद्धले सर्वसाधारणले आफ्ना कुरा सहज रूपमा बुझुन् भन्ने हेतुले मगधी वा पाली भाषाको प्रयोग गरेका थिए । तर लिखतमा उनका कुनै पनि कुराहरू संग्रहित भएका थिएनन् । बुद्धले बिभिन्न स्थानमा दिएको उपदेश वा भिक्षु र भिक्षुनीहरूका लागि निर्देशित गरेका कुराहरू पनि कतै संग्रह थिएनन् ।
त्यसो त बुद्धले समय, अवस्था र परिणामका आारमा आफ्ना नियमहरू अनुकूल बनाउदथे । त्यसैले यसलाई व्यवहारिक वा मध्यममार्ग भनियो । बुद्ध रहन्जेलसम्म सबै विषयका अन्तिम निर्णायक बुद्ध आफै हुन्थे । यसरी नै बौद्ध शासन र अनुशासन चल्दै आएको थियो । तर भगवान बुद्धको महापरिनिर्वाण भएको सात दिन बित्न नपाउदै भिक्षु संघमा अनेकौ भावनाहरू उत्पन्न भए । संघ र बौद्ध शिक्षालाई अब कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा बिभिन्न बिचारहरू बहसमा आए । एक बृद्ध भिक्षुले त अब हामी महाश्रमण वा बुद्धबाट मुक्त भयौं । अब हामी आफू खुसी गर्न स्वतन्त्र भयौं भन्नेसम्मको तर्क निकालेर अरूलाई समेत भड्काउन थाले । सुभद्र जस्ता सच्चा अनुयायीहरू यस्ता बिचारहरूबाट चिन्तित बने ।
बौद्धधर्मलाई दुषित हुनबाट कसरी जोगाउने भन्ने चिन्ता बढ्न थाल्यो । सबैको मनमा बुद्धका उपदेशहरू संकलित हुनुपर्ने र त्यसैलाई आधार मानी बौद्ध धर्म र संघलाई अगाडि बढाउन सकिने राय आउन थाल्यो । त्यसपछि बुद्धको महापरिनिर्वाणको चौथो मासमा प्रबुद्ध भिक्षुहरूको राजगृहको वैभार पर्वतको सप्तपर्णी गुफामा एक सभा सम्पन्न भयो । जसमा बौद्ध ग्रन्थहरूले पाँच सय भिक्षुहरू सहभागी भएको उल्लेख गरेका छन् । बुद्धले आफ्नो बुद्ध जीवन पछिको करिव पौतालीस वर्षभरमा ८२ हजार उपदेश दिएका रहेछन् र प्रज्ञावान् अर्हतहरूले दुई हजार उपदेश गरेका रहेछन् भन्ने देखियो । सभाले यस्ता सबै कुराहरूलाई संग्रह गर्नु पर्ने निर्णय निकाल्यो । निकै लामो समय लगाएर तीन छुट्टाछुट्टै भागमा पाली भाषामा सबै कुराहरू संग्रह गरिए ।
सुत्तपिटक बुद्धका सबै उपदेशहरू समावेशगरी बनाइएको पिटक हो । यो त्रिपिटकको सबैभन्दा ठूलो भाग पनि हो । जसमा बुद्धत्वप्राप्तिदेखि महापरिनिर्वाण हुदासम्म बुद्धले कहाँ को कोसँग के कस्तो उपदेश र सम्बाद गरे ती सबै सुत्तपिटकमा संग्रह गरिएका छन् ।
जसलाई त्रिपिटक भनी बौद्ध मूल ग्रन्थ मानिन्छ । त्यसलाई पछि संस्कृतमा बनाइएको देखिन्छ । जसमा धेरै कुराहरू थपघट भएको मानिएको छ । बुद्ध उपदेशलाई पाली त्रिपिटकमा जस्ताको तस्तै संग्रह गरिएको मानिन्छ । त्रिपिटकको तीन भाग छन् । त्रि को अर्थ तीन हो र बुद्धका उपदेश वा ज्ञानको भण्डार गरिएको संग्रह बाकस भएकोले यस अर्थमा पिटक भनिएको हो । सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक त्रिपिटकका मूल ग्रन्थहरू हुन् ।
१, सुत्तपिटक बुद्धका सबै उपदेशहरू समावेशगरी बनाइएको पिटक हो । यसलाई त्रिपिटकको सबैभन्दा महत्वपूर्ण अंग मानिन्छ । यो त्रिपिटकको सबैभन्दा ठूलो भाग पनि हो । जसमा बुद्धत्वप्राप्तिदेखि महापरिनिर्वाण हुदासम्म बुद्धले कहाँ को कोसँग के कस्तो उपदेश र सम्बाद गरे ती सबै सुत्तपिटकमा संग्रह गरिएका छन् । यसलाई दीघनिकाय, मज्जिमनिकाय, संयुक्तनिकाय, अंगुत्तरनिकायर खुद्दकनिकाय गरी पाँच भागमा बिभाजन गरिएको छ । सुत्तपिटकको यी पाँच भागलाई पनि अरू वग्ग वा वर्गमा बिभाजन गरिएको छ । विशेषगरी खुद्दकनिकायका अरू १५ वग्गहरू छन् । यो तत्कालीन समाजको वास्तविकता र परिवेशको जानकारी मूलक दस्तवज पनि हो ।
यसले इशापूर्व छैटौं र पाँचौं शताब्दीको सामाजिक एवम् भौगोलिक ज्ञानलाई पनि सविस्तार गरेको मानिन्छ । यी सुत्त वा सूत्रहरू गद्य र पद्य दुबैमा संग्रहित छन् । यसमा बुद्ध, बुद्धका वंशज, पूर्व बुद्धहरू, बुद्ध धर्मको मूल स्वरूप, अरू धर्मसँगको भिन्नता, सुगति वा दुर्गतिको भेद, मैत्री र करूणाका अर्थ, भूत भविष्य, चित्त, शून्यता, कर्म, प्रतीत्य समुत्पाद, ध्यान, काम तृष्णा, देवलोक, बुद्धसँगको जातक कथा, दान लगायतका धर्मसंग सम्बन्धित, तत्कालीन राजनीतिसँग सम्बन्धित, तत्कालीन भूगोगसँग सम्बन्धित, तत्कालीन सामाजिक र सांस्कृतिसँग सम्बन्धित विषयहरू यसमा समावेश छन् ।
२, विनयपिटक बौद्ध धर्मको अर्को महत्वपूर्ण पिटक हो । जसलाई बौद्धमार्गीहरू बौद्ध धर्मको संविधान नै मान्दछन् । यसको पनि पाँच भाग रहेका छन् । जसलाई पराजिकापालि, पाचित्तियपालि, महाबग्गपालि, चुल्लाबग्गपाली र परिवारपालि भनिएको छ । यो बौद्ध धर्मको परम्परालाई निरन्तरता दिने मूल नियम हो । बुद्ध संघको एकता, पवित्रता र अनुशासनको मुख्य नियमको विधि हो । अर्थात बुद्ध शासनको मार्ग हो । विशेषगरी भिक्षु भिक्षुणीका लागि यो आचारशास्त्र पनि हो । थेरवादका लागि यो सबैभन्दा महत्वपूर्ण पिटक हो । जसले बौद्ध धर्मलाई चिरस्थायी बनाउदै ल्याएको छ । यस भित्र भिक्षु, भिक्षुणीले संघमा बसेर गर्नु हुने, गर्न नहुने र नियमित गर्नु पर्ने सबै वियम र विधिहरू समावेश छन् ।
यसमा संघको स्थापना, प्रवज्या, उपासक र उपासिका आदिका विषय लगायतका सबै कुराहरू समावेश छन् । बौद्ध शासनलाई नियमितता दिन, त्यसलाई शुद्ध र पवित्र बनाउन अनि त्यसलाई सामाजिक व्यवहारमा धारण गरी सुशासन कायम गर्न महत्वपूर्ण भूमिका विनयपिटकबाट हुन्छ । विशेषगरी तत्कालीन समयको परिवेशमा बुद्ध वचनबाट तय भएका विनयका कतिपय विषयहरू अहिले जस्ताको तस्तै हुन सकिरहेको छैन । भिक्षु र भिक्षुणी संघहरूमा पैसा, विलासिताका सामान, वैभव सुविधा जस्ता कुराहरू विनयपिटकका विपरित बढ्दै गएका छन् । उपासक उपासिकहरूको दिनचर्या पनि विनयपिटक भन्दा फरक ढंगले अगाडि बढ्दै गएको देखिन्छ ।
अभिधम्मपिटक बुद्ध वचनको तत्व दर्शनको व्याख्या हो । अभिधम्मपिटकको सात भागहरू छन् । अभिको अर्थ उच्च वा विशेष भन्ने हो । धम्मको अर्थ धर्म हो । यसमा बुद्धको देशनाको तत्व रूपका बारेमा उल्लेख छ ।
३, अभिधम्मपिटक बुद्ध वचनको तत्व दर्शनको व्याख्या हो । अभिधम्मपिटकको सात भागहरू छन् । अभिको अर्थ उच्च वा विशेष भन्ने हो । धम्मको अर्थ धर्म हो । यसमा बुद्धको देशनाको तत्व रूपका बारेमा उल्लेख छ । अर्थात यो बौद्ध दर्शनशास्त्र हो । यसलाई धर्मसुत्रको दार्शनिक रूप मानिन्छ । यसका सात भागमा धम्मसंगिणी, विभग्ग, धातुकथा, पुग्गलपञ्ञीत्ति, कथावत्थु, यमक र पट्ठान रहेका छन् । यस पिटकमा विशेषगरी बौद्ध धर्मको तत्वरूपका बारेमा, नीतिशास्त्र, मनोविज्ञानको मूल धार, शुभ अशुभ कर्म र बुद्ध धर्म शासनको बिभिन्न भागमा विभाजन गरी व्याख्या गरिएको पाइन्छ । यसमा बुद्धका उपदेशसँग जोडिएका बिभिन्न विषयलाई दार्शनिकता दिएर अर्थ र व्याख्या गरिएको छ ।
यसले बुद्ध धर्मको भित्री मर्मसम्म लैजान सहयोग गर्दछ । त्यसैले अभिधम्मपिटकलाई बौद्ध दार्शनिक विवेशचनाको मूल भाग मानिन्छ । यसले धर्म र वियको सबै मर्महरूलाई बिस्तारित गरी प्रश्नविहीन बनाउन सक्ने छ । त्रिपिटकको संग्रह बुद्धको महापरिनिर्वाण लगतै सुरु भए पनि तीन वटै पिटकहरू तयार हुन धेरै वर्ष लागेको देखिन्छ । यसले करिव दुई शताब्दी भन्दा बढीको समय पार गरेको देखिन्छ । सम्राट अशोकको शासनकाल अर्थात इसापूर्व तेस्रो शताब्दीमा यो पूर्ण भएको हो ।
यसका लागि बिभिन्न कालखण्डमा चार पटक पूर्ण बौद्ध संगीति सम्पन्न भएको थियो । त्रिपिटककोपूर्णता मगधी पालीभाषामा सम्पन्न गर्ने कार्य श्रीलंकामा सम्पन्न भएको हो । त्यसबेलाको बोलिचालीको भाषामा बुद्धले देशना गरेका कारण यो सोही अनुरूप तयार भएको मानिन्छ । जसलाई बुद्ध वचन भनिन्छ । त्रिपिटकलाई बौद्ध धर्मका अन्य निकायहरूले भन्दा थेरवादवालाहरूले यसको पूर्ण पालना गर्दछन् भन्ने ठानिन्छ । त्रिपिटक पाली पछि संस्कृत र पछि चिनिया भाषामा अनुवाद भएको भए पनि मूल ग्रन्थ पालीभाषाकैलाई मानिन्छ । तर सबै बौद्ध समुदाय र तिनका सहायक वग्ग, ग्रन्थहरूको मूल आधार पनि त्रिपिटकनै हो र गौतम बुद्धनै मूल स्रोत हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच