
काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौँ संस्करणअन्तर्गत पाँचौँ दिन सम्पन्न दुईवटा खेलमा सनराइज एघार तिलाठी कोइलाडी र तिरहुट टाइगर्स विजयी भएका छन् । मंगलबारको पहिलो खेलमा सनराइज एघार तिलाठी कोइलाडीले बलान बिहुल सुपर किंग्सलाई १० विकेटले पराजित गर्यो । बलान बिहुलले दिएको ५१ रनको लक्ष्य सनराइज एघारले ३ ओभरमै भेट्टायो । वर्षाका कारण ढिला सुरु हुँदा खेल ५ ओभरमा घटाइएको थियो ।
लक्ष्य पछ्याउने क्रममा सनराइज तिलाठी कोइलाडीका ओपनर तृतराज दासले आक्रामक ब्याटिङ गर्दै मात्र १४ बलमा ४२ रन बनाउनुभयो । प्लेयर अफ द म्याच घोषित दासले १ चौका र ६ छक्का प्रहार गर्नुभयो । विनोद भण्डारीले ४ बलमा १ छक्का मद्दतले ८ रन बनाउनुभयो ।
टस जितेर ब्याटिङ गरेको बलान बिहुलले ५ ओभरमा ४ विकेट गुमाएर ५० रन बनायो । उसका लागि ओपनिङ गर्नुभएका कप्तान विवेक यादवले ३२ रनको योगदान दिनुभयो । १२ बलमा यादवले ४ छक्का प्रहार गर्नुभयो । तुलबहादुर थापाले १० तथा सन्तोष कार्कीले ५ रन योगदान दिनुभयो । तिलाठी कोइलाडीको बलिङमा तृतराज दासले २ तथा अभिषेक तिवारीले १ विकेट लिनुभयो ।
मंगलबारको दोस्रो खेलमा तिरहुट टाइगर्सले राजविराज राजदेवी एघारलाई ७७ रनले पराजित गर्यो । तिरहुट टाइगर्सले दिएको १८० रनको लक्ष्य पछ्याएको राजविराज राजदेवीले १३.५ ओभरमा सबै विकेट गुमाएर १०२ रनमात्र बनायो ।
टाइगर्सको जितमा देब्रे हाते स्पिनर दिपेश कँडेलले हृयाट्रिक विकेटसहित ५ विकेट आफ्नो नाममा गर्नुभयो । कँडेलले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्लेयर अफ द म्याच घोषित कँडेलले इनिंग्सको नवौँ ओभरको पहिलो, दोस्रो, तेस्रो तथा चौथो बलमा लगातार विकेट लिनुभयो । यस्तै, अर्का देब्रे हाते स्पिनर बसिर अहमदले ३ तथा रूपेश सिंह र अनिल यादवले १/१ विकेट लिनुभयो ।
राजविराज राजदेवीको ब्याटिङमा श्रवन यादवले सर्वाधिक ३७ तथा हिमांशु दत्ताले १८ रन बनाउनुभयो । यसअघि टस हारेर ब्याटिङ गरेको तिरहुट टाइगर्सले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो । तिरहुटका लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए । ओपनर अमित यादवले ६३ रन बनाउनुभयो जुन क्रममा ४१ बलमा १ चौका र ८ छक्का प्रहार गर्नुभयो । यस्तै, छैटौँ नम्बरमा ब्याटिङ गर्नुभएका अभिषेक कार्कीले २७ बलमा २ चौका र ७ छक्का मद्दतले ६१ रन बनाउनुभयो । रूपेश सिंहले १९ तथा अनिल यादवले १३ रन बनाउनुभयो ।
राजविराज राजदेवी एघारको बलिङमा रिजन ढकाल, रञ्जित कुमार र श्रवण यादवले समान २ विकेट लिनुभयो । प्रतियोगिताको अंक तालिकामा छिन्नमस्ता लायन्स, तिरहुट टाइगर्स र कञ्चनरूप राइनोज समान चार अंकसहित नेट रन रेटका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । दुई/दुई अंकसहित राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी चौथो र पाँचौँ तथा जितविहीन बलान बिहुल सुपर किंग्स पुछारमा छ ।
प्रतियोगिताअन्तर्गत छैटौँ दिन बुधबार पनि दुई खेल हुनेछन् । बिहानको खेलमा कञ्चनरूप राइनोज र राजविराज राजदेवी एघार तथा दिउँसोको खेलमा छिन्नमस्ता लायन्स र बलान बिहुल सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
जेठ २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कञ्चनरूप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुट टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच