बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस् : उपसभापति गुरुङ

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भइ आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गर्नुभयो । उहाँले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवं १० जना नेपाली अझै अलपत्र रहेको बताउनु भयो ।

उहाँले १५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताउनु भयो । ठगिएका युवाहरुलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गर्नुभयो । अलपत्र युवाहरुलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भए हिजो मात्रै म फर्किने क्रममा दोहा ट्रान्जिट भएर आउँदै गर्दा दोहाबाट कतार एयरवेजको जहाज चढ्दै गर्दा त्यहाँ ५ जना नेपाली युवाहरु बेलग्रेडबाट फर्काइएको जहाजहरु त्यसमा लिएर आएको सन्दर्भमा खबर मैले त्यहाँ सूचना पाएँ । ति युवाहरुलाई मैले त्यही जहाजमा भेटेँ । भेटेर के कारण यस्तो भयो भनेर सोध्दा उहाँहरुलाई झापाको खगोल भन्ने म्यानपावरमार्फत काठमाडौंको डायनामिक भन्ने मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको रहेछ । त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँच जनालाई फकाइसकिएको अवस्था छ । बाँकी १० जना बेलग्रेट एयरपोर्टमा बिचल्ली भएको अवस्था रहेछ । १५ जना मध्ये १४ जना झापा जिल्लाको मात्रै र एक जना बर्दिया जिल्लाको रहेछ । यसरी म्यानपावरले जथाभावी रुपमा कन्फर्म नभइकन युवालाई साढे ६ लाख रुपैयाँसम्म लिएर यसरी विदेश पठाउने र फर्काउने यसले मुलुकको शिर झुकाउने काम गरेको छ । युवाहरु ठगिने काम भएको छ । ठूलो रहर बोकेर गएकाहरुलाई फर्काइएको छ । उनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ । युवाहरुलाई अनियमित ढंगबाट र उनीहरुलाई त्यहाँ सरोकारवालासँग कुरा नभइकन विदेशको लोभ देखाएर पठाइ युवाहरु ठग्ने काम क्षम्य छैन । सरकारको ध्यानाकर्षण गराउँछु । कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरु त्यहाँ हुनुहुन्छ । त्यसमध्ये २७ हजार महिलाहरु गैरकानूनी रुपमा रहेको सूचना पाएको छु । गत ६ महिना भित्र १० हजार नेपाली महिलाहरु गैरकानूनी बाटोबाट त्यहाँ गएका छन् । यो दुःखलाग्दो कुरा हो । सरकारले ढोका बन्द गरेर झ्याल खुला गर्दा यो समस्या आएको हो ।’

उहाँले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैरकानूनी बाटो भइ गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?