
काठमाडौं । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियमित भेटघाटले नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ । ओलीसँग सभापति शेरबहादुर देउवाले ‘सकरात्मक संवाद’ गरेपछि कांग्रेस उत्साहित देखिएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचेत देखिनुभएको छ ।
कांग्रेस सभापति देउवाले शनिबार दिउँसो एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर सरकारको नेतृत्व लिन आग्रह गर्नुभएको थियो । सम्भावित सत्ता सहकार्यको रणनीतिलाई परिपक्व नहुँदासम्म सार्वजनिक गर्न देउवा र ओली दुवैले चाहनुभएको छैन । यही बीचमा प्रधानमन्त्री प्रचण्डले भने पटक-पटक ओलीसँग छलफल गरी सत्ता गठबन्धनको निरन्तरताको सुरक्षा खोजिरहनु भएको छ । सोमबार दिनभर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सम्भावित सत्ता समीकरणकै छलफलमा व्यस्त रहे । कांग्रेस पदाधिकारी बैठकमा एमाले सँगको सहकार्यबारे छलफल भयो भने एमाले अध्यक्ष ओलीले निकटस्थ नेताहरूसँग समसामयिक विषयमा परामर्श गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले ओलीसँग संवाद गरेर मन्त्रीहरूलाई सत्ताको निरन्तरताबारे ढुक्क पार्ने प्रयास गर्नुभयो ।
कांग्रेस वृत्तमा उत्साह
सभापति देउवाले एमालेसँग सहकार्यको प्रस्ताव गरेपछि कांग्रेस वृत्तमा उत्साह बढेको छ । पदाधिकारी बैठकमै सभापति देउवाले एमालेसँग सम्बन्ध सु्ध्रिएको बताउनुभएको छ । ‘ओलीले चिया पिउन बोलाएर गएको थिएँ । लामो कुराकानी भयो । एमालेसँग सौहाद्र्धता बढेको छ । सकारात्मक छलफल भएको छ’, पदाधिकारी बैठकमा सभापति देउवाले भन्नुभयो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिले एमाले अध्यक्षसँग गरेको छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले संसद्को पहिलो पार्टी भएकाले कांग्रेस सरकारमा हुने र त्यसका लािग प्रयास गर्ने विषय सामान्य रहेको बताउनुभयो । ‘कांग्रेस सरकारमा हुने कुरा स्वाभाविक छ । त्यसका लागि सभापतिले अन्य दलसँग छलफल गर्नु पनि सामान्य हो । अहिले नै सबै कुरा टुंगो लागेको छैन तर एमालेसँग छलफल राम्रो भएको छ’, महतले बताउनुभयो । उहाँले संविधान संशोधन, अर्थतन्त्र सुधार, राजनीतिक स्थायित्व लगायतका विषयमा कांग्रेस-एमाले सहकार्य हुनु सुखद हुने दाबी गर्नुभयो ।
माओवादी वृत्तमा चिन्ता
विपक्षी दलका नेतासँग प्रम्ुख सत्ता घटक एमाले अध्यक्षले गरेको संवादपछि उत्पन्न चर्चाले प्रधानमन्त्री प्रचण्डलाई सचेत बनाएको छ । पाँच वर्ष नै आफूले सरकारको नेतृत्व गर्ने दाबी गर्दै आउनुभएका उहाँले एमाले अध्यक्ष ओलीसँग सरकारको निरन्तरताबारे चासो राख्नुभएको छ । सोमबार दिउँसो प्रचण्ड र ओलीबीच तीन घण्टा जति छलफल भएको थियो । छलफल सकारात्मक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री स्वयंले सम्पर्क सूत्रहरूमार्फत पछिल्लो राजनीतिक घटनाक्रमबारे सूचना लिइरहेको सचिवालय स्रोतको भनाइ छ । सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आफूले लामो संवाद गरेको र सरकार संकटमा नरहेको जानकारी गराउनुभएको छ । उहाँले ओली–देउवा भेटपछि राजनीतिक वृत्तमा चलेका चर्चाहरू निराधार रहेको र एमालेसँगको सहकार्य लामो समय जानेमा आफू ढुक्क रहेको बताउनुभएको थियो । मन्त्रिपरिषद्मा सरकारको निरन्तरताबारे विश्वास दिलाउन खोजे पनि प्रधानमन्त्री प्रचण्ड आफैँ भने सरकारको निरन्तरताको विषयमा चिन्तित र सचेत देखिनुभएको छ । ‘प्रधानमन्त्रीले हामीलाई सरकार ढल्दैन भनेर विश्वास दिलाउन चाहनुभयो तर सरकार ढल्छ कि भन्ने डर उहाँलाई नै छ’, एक मन्त्रीले हिमालय टाइम्ससँग भन्नुभयो । माओवादीका एक नेताले हावा नचली पात नहल्लिने भएकाले नयाँ समीकरण बन्नसक्ने विषयमा पार्टीपंक्ति सशंकित र सचेत रहेको बताउनुभयो ।
परिपक्व हुनै बाँकी
कांग्रेस-एमाले सम्भावित सहकार्यको आधार बनाउन खटिएका दुवै पार्टीका नेताहरू परिस्थिति परिपक्व हुनै बाँकी रहेको दाबी गर्छन् । देउवा र ओली दुवैले दोस्रो तहका नेताहरू परिचालन गरेर नयाँ समीकरणको राजनीतिक आधार र शक्ति बाडँफाँडको मोडालिटीबारे छलफल गराइरहनु भएको छ । मुख्यतः संविधान संशोधनमार्फत निर्वाचन प्रणाली सुधार गर्ने विषयलाई दुवै पार्टीले प्राथमिकतामा राखेका छन् । ‘नयाँ गठबन्धनको सैद्धान्तिक आधार, निरन्तरताको सन्दर्भमा उठेका प्रश्नहरूको निवारण र शक्ति बाडँफाँडको विषयमा अझै छलफल हुन बाँकी छ । विषय उठान भएको हो तर नयाँ सरकार निर्माणको परिपक्व वातावरण अझै बनेको छैन’, अन्तरपार्टी संवादमा सक्रिय एक कांग्रेस नेताले भन्नुभयो । ती नेताका अनुसार देउवा र ओली दुवैले परिपक्व आधार तयार नहुँदासम्म समीकरणको संकेत नदिने सहमति गर्नुभएको छ ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ- ‘अहिलेको सरकार लामै समय जान्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नुभएको छ । सोमबार अपराहृन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरणबारे बाहिर आएका हल्लाहरूमा सत्यता नभएको ब्रिफिङ गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्तासमेत रहनुभएकी सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘यो गठबन्धन लामै समय जाने ब्रिफ गर्नुभएको छ । जसरी मिडियामा आएको छ, त्यो अवस्था छैन भन्नुभयो ।’ बाहिर चर्चा भएजस्तो सत्ता समीकरणमा असमझदारी भयो भन्ने कुरा असत्य रहेको र सकारात्मक ढंगले छलफल अघि बढिरहेको प्रधानमन्त्रीले बताएको शर्माले बताउनुभयो । मन्त्री शर्माले एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो । ‘अघिल्लो समीकरणमा राष्ट्रिय सरकारको कुरा उठेको थियो तर अहिले त्यस्तो कुरा पनि छैन । कैयन कामहरू गर्दा राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा निरन्तर छलफल भएकै छ’, शर्माले भन्नुभयो, ‘टिआरसीलगायत बिलहरू पास गर्नु भन्ने छ । त्यसैले राष्ट्रिय सहमति भनेको राष्ट्रिय सरकार होइन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच