काठमाडौं । गत वर्ष नेपालमा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको एक प्रतिवेदनले देखाएको छ । सन् २०२३ मा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको देखिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी शंकास्पद कारोबार वाणिज्य बैंकहरूमा देखिएको छ । वाणिज्य बैंकमा मात्रै ३८ अर्ब ७२ करोड ८७ लाख बराबरको शंकास्पद कारोबार भएको छ भने दोस्रो स्थानमा विकास बैंकबाट ४७ करोड २२ लाख बराबरको यस्तो कारोबार भएको छ । तेस्रो नम्बरमा रहेका सेयर ब्रोकर कम्पनीबाट ४२ करोड ९६ लाख बराबरको शंकास्पद कारोबार भएको छ भने वित्त कम्पनीबाट २६ करोड ५१ लाख, रेमिट्यान्स कम्पनीबाट ११ करोड १३ लाख, जीवन बिमा कम्पनीबाट तीन करोड ६१ लाख, पिएसपी/पिएसओबाट एक करोड १५ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सहकारीबाट ४८ लाख, मर्चेन्ट बैंकबाट ४१ लाख र लघुवित्तबाट २२ लाख बराबरको शंकास्पद कारोबार भएको छ ।
सन् २०२३ मा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार २०२३ मा शंकास्पद कारोबार ५७.२० प्रतिशत बढेको देखिएको छ । २०२२ मा नेपालमा तीन हजार नौ सय ७९ वटा शंकास्पद कारोबार भएकोमा २०२३ मा छ हजार दुर्ई सय ५५ कारोबार भएको देखिएको छ । वाणिज्य बैंकमा मात्रै पाँच हजार दुई सय ८२ वटा शंकास्पद कारोबार भएको छ भने विकास बैंकमा तीन सय ३०, भुक्तानी सेवा प्रदायक (वालेट) मा दुई सय ११, रेमिट्यान्समा एक सय ५६, वित्त कम्पनीमा ९९, सेयर ब्रोकरमा ६२, भुक्तानी प्रणाली सञ्चालकमा ४९ र जीवन बिमा कम्पनीमा २६ शंकास्पद कारोबार भएका छन् ।
लघुवित्तमा २४, राष्ट्र बैंकमा ११, निर्जीवन बिमा कम्पनीमा दुई, सहकारीमा दुई र मर्चेन्ट बैंकमा एउटा शंकास्पद कारोबार भएको छ । कुल कारोबारमा सम्पत्ति शुद्धीकरणमा मात्रै तीन हजार एक सय ९९ वटा कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कर छलीमा एक हजार आठ सय ६८, बैंकिङमा एक हजार ४० र ठगीमा पाँच सय ६५ कारोबार भएको छ । विभिन्न निकायबाट सन् २०२३ मा छ हजार दुई सय ५५ वटा रसिद शंकास्पदको घेरामा आएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाई (एफआइयू)मा सूचित गरिएको थियो ।
वित्तीय अपराधका आधारमा सबैभन्दा बढी शंकास्पद कारोबार सम्पत्ति शुद्धीकरणसम्बन्धी छन् । सो अवधिमा यस प्रकारको लेनदेन तीन हजार एक सय ९९ वटा छन् । विशेष गरेर स्रोत नखुलेका सम्पत्ति यसभित्र पर्छन् । त्यसैगरी, कर छली/तस्करी/कर अपराधमा एक हजार आठ सय ६३ वटा लेनदेन शंकाको घेरामा रहेको र पैसा, बैंकिङ, वित्त, विदेशी मुद्रा एक हजार ४० वटा शंकास्पद लेनदेन रहेको बताइएको छ । धोखाधडी (फ्रड) पाँच सय ६५, क्यासिनो र गेमिङ गतिविधि प्रयोग चार सय पाँच लेनदेन शंकास्पद रहेका छन् भने फर्म, साझेदारी, कम्पनी, संघसम्बन्धी दुई सय ८८ गतिविधि शंकास्पद रहेका छन् । शिक्षा, स्वास्थ्य, चिकित्सा, वैदेशिक रोजगारमा समेत ७० केश सशंकित प्रकारका छन् । एक वर्षमा ४७ वटा भ्रष्टाचारका र २६ वटा जालसाजी गतिविधि र २० वटा घरजग्गा र सम्पत्तिसम्बन्धी लेनदेनसमेत शंकास्पद भेटिएका छन् ।
नागरिकता, अध्यागमन र राहदानीमा १८ शंकास्पद रहेकोमा अन्य क्षेत्र मानव बेचबिखन र आप्रवासी तस्करी, स्मग्लिङ, भित्री व्यापार, मार्केट म्यानुपुलेसन, नक्कली मुद्रा, डकैती वा चोरी, संगठित आपराधिक समूह/र्याकेटियरिङमा सहभागिता, नक्कली र उत्पादनको पाइरेसी/आइपिआर उल्लंघन, सञ्चार, प्रसारण, विज्ञापनसम्बन्धी, निर्वाचनसम्बन्धी, अपहरण, अवैध नियन्त्रण, बन्धक बनाउने गतिविधि शंकास्पद देखिएका छन् ।
त्यस्तै, बालबालिकाको यौन शोषणसहित नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ, हत्या र गम्भीर शारीरिक चोट, चोरी र अन्य सामानको अवैध ओसारपसार र फिरौतीका घटनासमेत रहेका छन् । सो अवधिमा थ्रेसहोल्ड लेनदेन रिपोर्ट (टिटिआ)मात्रै १७ लाख ८३ हजार भेटिएको छ । जुन सन् २०२२ मा १८ लाख ५१ हजारको हाराहारीमा थियो भने सन् २०२१ मा २६ हजार ८५ लाख ५१ हजार ७२ थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐनको अनुसूचीमा उल्लेखित सम्बद्ध कसुरसँग जोडिएका सम्भावित कसुरको सूचीअनुसार सम्बन्धित संस्थाले शंकास्पद लेनदेन तथा गतिविधिको प्रतिवेदन राष्ट्र बैंकको एफआइयूमा बुझाउने गरेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरी) निवारण ऐन, २०६४ र नियमावली २०७३ अनुसार उल्लेख गरिएका कारोबारलाई शंकास्पदको घेरामा राखिएकाले यस्तो कारोबारलाई सम्बन्धित संस्थालाई आशंका लागेमा उजुरी गर्न भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच