नेपालमा धर्मनिष्ठ तथा देशभक्त शासक पाउनु भनेको मृगमरिचिका भइसक्यो । मरुभूमिमा त मरुद्यान हुन्छ, यहाँ त्यो पनि कतै दृष्टिगोचर हुँदैन । देश शोकमा भएको बेला सत्ताको लुछाचुँडी गर्नेहरूमा किञ्चित मात्रामा पनि मानवता छैन । यिनीहरूले दिने खोक्रो सहानुभूति र समवेदना यी स्वैरिणी चरित्रका वारवनिताहरूको ओठको मुस्कान जस्तै हो । सरकार परिवर्तन जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तै हो । जो आए पनि देश र जनतालाई लुट्न आउने हुन् । यो यस्तो मुलुक हो जहाँ राजाले जनताका लागि आफ्नै बलिदान दिन्थे तर आजका राजाहरूले आफ्नो र आफ्नो परिवारको स्वार्थको लागि देश र जनताको बलि चढाउँछन् ।
जनतामा आफ्नो विवेक प्रयोग गर्ने क्षमता छैन । मानसिक रूपमा उनीहरू दलहरूका दास भइसकेका छन् । जनता सचेत भइदिएको भए अहिलेसम्म नेपालबाट राक्षसतन्त्रको समाप्ति भइसक्ने थियो । देशमा न धर्म रहृयो न न्याय र स्वतन्त्रता नै रहृयो । हाम्रो सरकार विदेशीले बनाइदिनुपर्ने । यो सरकार पनि विदेशी शक्तिको कृपा जबसम्म वर्षिरहन्छ तबसम्मका लागि मात्र हो । शासक वर्गमा देशभक्तिको भावना छैन, काममा इमान्दारिता छैन, देशलाई विदेशी शक्ति सामु बन्धकी राखेर यहाँ शासन चलाइरहेका छन् । शासकमा जनताप्रति कुनै उत्तरदायित्व नै छैन ।
हाम्रो प्राचीन गौरवमय इतिहास हेर्दा अहिले बत्तीसपुतलीमा राजा विक्रमादित्यको दरबार थियो । उनका नवरत्नमध्ये कालिदासलाई आज न चिन्ने को होलान् ? विक्रमादित्य नेपालका मात्र राजा थिएनन् उनको राज्य उज्जयनसम्म थियो, दुबै ठाउँमा उनको दरबार थियो । रुरु क्षेत्रको नजिक अलका (अर्घा) मा जन्मेका कालिदासलाई नै उनले उज्जयन लिएर गएका थिए । इतिहासकारहरूका अनुसार राजा विक्रमादित्य उज्जयिनी बस्न जाँदा यहाँको शासनभार धर्मदेवका नाति विश्वदेवलाई दिएर गएका थिए । विश्वदेवले आफ्ना पुर्खाले बनाएको नारायणहिटीमा जलधारा आउन बन्द भएपछि राजा चिन्तित भए । उनका पुर्खाले यो नारायणधारा बनाउँदा शतरुद्र पर्वतका मुनि रहेका जलशायी नारायणले खुशी भई आज्ञा भए अनुसार बनाएका थिए ।
हाम्रो देशका शासकहरू तिनका सन्तानले देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नुको सट्टा आफ्नो स्वार्थका लागि देशको बलि चढाउँछन् । विदेशी शक्तिको आदेशमा सरकार ढाल्ने, सरकारमा जाने र राष्ट्रघात गर्दै भ्रष्टाचार गरेर अकूत कमाउनेमात्र यिनीहरूको एकमात्र लक्ष्य हो ।
उनले नारायणधारामा पानी ल्याउन नारायणको पूजा अर्चना र सेवा गर्न थाले । उनको सेवाबाट सन्तुष्ट भएका नारायणले, ज्योतिषिहरूबाट सल्लाह लिई काम गर, तिम्रो मनोरथ पूर्ण हुनेछ भनेर आर्शीवाद दिए । ज्योतिषिहरूले प्रश्न विचार गर्दा ठूलो कष्टका काम गर्नुपर्ने देखिएपछि चूप लागे । राजाले कर गरेपछि उनीहरूले भने, ‘त्यस धारामा बत्तीस लक्षणले युक्त मनुष्यको बलि दिएमात्र धारा खुल्छ ।’ राजाले सोचे बत्तीस लक्षणले युक्त प्रजा पाउन गाह्रो छ, त्यसैले आफ्नै बलि दिएर धारा खोल्ने संकल्प गरे । बत्तीस लक्षणले युक्त छोरा भए तापनि उनले आफ्नो बलि दिने निश्चय गरे । उनले यो निर्णय न त आफ्नी पत्नी सुशीलालाई भने न त पुत्र मानदेवलाई ।
उनले मानदेवलाई बोलाएर, ‘बाबु, आजको चारौं दिनको रात्रिमा हाम्रा बन्द भएका धारामाथि कपडाले मुख छोपी कुनै एक मनुष्य सुतिरहनेछ । त्यहाँ गएर तिमीले मुखै नेहेरी काटिदिनू । त्यसपछि बन्द भएको त्यो धारो खुली सरासर पानी आउनेछ तर यो कुरा कसैलाई पनि थाहा नदिनू ।’ चौथो रात्रि नारायणधारामुनि मुख छोपेर राजा विश्वदेव सुते । राति छोरा आएर उनको मुखै न हेरी उनलाई काटे र काटिसकेपछि नारायणधाराबाट पानी सललल बग्न थाल्छ ।
कुनै-कुनै इतिहासकारले राजा विश्वदेव नभएर ती राजा विक्रमादित्य थिए भनेका छन् । नारायणहिटीबाट पानी निकाल्न र देशमा परेको खडेरीबाट प्रजालाई निजात दिन विक्रमादित्यले बत्तीस लक्षणले युक्त मानिस खोज्न पठाए । विक्रमादित्यका छोरा बिहान (बिहान स्वच्छ वायु सेवनका लागि दरबारबाहिर डुल्न निस्कन्थे । बत्तीस लक्षणले युक्त मानिस खोज्न निस्केको दरबारियाले राजकुमारलाई देखे तर चिनेनन् । उनले बत्तीस लक्षणले युक्त मानिस भेटेको कुरा राजालाई सुनाए । विक्रमादित्यको छोराले ज्योतिषिहरूले भनेको कुरा थाहा पाएपछि देश र प्रजाको लागि आफ्नो जीवन बलिदान दिने निश्चय गरे र सेनाको एउटा सिपाहीलाई निर्धारित मुहूर्तमा राति सेतो च्यादर ओढेर नारायणधारामा सुतेको मानिसलाई काट्नू भनी आदेश दिए ।
निर्धारित मुहूर्तमा ती सिपाहीले सेतो च्यादर ओढेर नारायणधारामा सुतेको मानिसलाई काट्यो । त्यसपछि धाराबाट पानी पनि आयो र आकाश बादलले ढाक्यो । जे होस्, इतिहासकारहरूको भिन्नाभिन्नै मत छ तैपनि कथा साँचो हो । यस्तो गौरवशाली इतिहास भएको यो मुलुकको गणतन्त्रवादी शासकवर्ग आफू पनि भ्रष्टाचार गर्छन् र आफ्ना सन्तानबाट पनि भ्रष्टाचार गराउँछन् । देशको लागि आफ्नो जीवन उत्सर्ग गर्ने जनताको दुःख कष्ट, पीडासँग उनीहरूलाई कुनै वास्ता छैन । यिनीहरू र यिनीहरूका सन्तानले देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नुको सट्टा आफ्नो स्वार्थका लागि देशको बलि चढाउँछन् । विदेशी शक्तिको आदेशमा सरकार ढाल्ने, सरकारमा जाने र राष्ट्रघात गर्दै भ्रष्टाचार गरेर अकूत कमाउने मात्र यिनीहरूको एकमात्र लक्ष्य हो । यिनीहरूले यो देवभूमिलाई राक्षसभूमिमा परिणत गरेका छन् ।
आज न्याय न गोर्खामा छ न बत्तीसपुतलीमा न त सिंगो नेपालमै । यहाँ न त देशले न्याय पाएको छ र न जनताले । शासनसत्ता स्वैरिणी चरित्र भएकाहरूको हातमा छ, यहाँ राजनीतिक वारवनिताहरूको राज्य छ ।
न्याय न पाए गोर्खा जानु भन्ने भनाइ छ । ईसापूर्व शय शताब्दीमा न्याय पाउन बत्तीसपुतली जानुपथ्र्यो जहाँ राजा विक्रमादित्यको दरबार थियो । विक्रमादित्यको शेषपछि बाह्र शय वर्षपछिको एउटा कथा छ । जहाँ उनको सिंहासन थियो, त्यहाँ ठूलो चौर थियो । त्यहाँ गोठालाहरू गाईवस्तु चराउन जान्थे । विक्रमादित्यको सिंहासन पुरिएको ठाउँबाट सिंहासनको थोरै माथिल्लो भाग निस्केको थियो । गोठालाहरूले दौड प्रतियोगिताबाट आफ्नो राजा चुन्थे । लिगलिगकोटको दौड हामीले सुनेकै छौं । एक दिनको गोठालो राजाले त्यहाँ न्याय दिन्थे । गोठालो राजाको न्यायप्रियताको चर्चा चारैतिर फैलिएपछि मानिस राजाकहाँ नगएर न्यायका लागि त्यहीँ आउन थाले ।
एकपटक उज्जयिनीबाट विक्रमादित्यको दरबारमा काम गर्ने एकजना नेपालीले आफ्नी पत्नीलाई नेपाल आउने मानिससँग रत्न पठाएछ । तर, त्यस मानिसलाई बहुमूल्य रत्नको लोभ लागेपछि उनकी पत्नीलाई दिएन । पछि ती मानिस नेपाल फर्केर आफ्नी पत्नीलाई रत्न पठाएको कुरा गर्दा उनले नपाएको बताइन् । त्यो मानिस ती मानिसकहाँ गएर रत्न किन नदिएको भनी सोध्दा उसले मैले दिइसकेँ भनेर ढाँट्यो । मुद्दा राजाकहाँ पुग्यो ।
त्यस फटाहा मानिसले झुठो साक्षीको बलमा मुद्दा जित्यो । पछि रत्न पठाउने मानिसले बत्तीसपुतलीमा गोठाला राजाको न्यायको चर्चा सुनेपछि ऊ त्यहाँ गयो । गोठालो राजाले दुवै पक्षलाई सम्मन पठाए । निर्धारित दिनमा दुवै पक्ष राजाकहाँ आए । गोठालो राजा विक्रमादित्यको पुरिएको सिंहासनमाथि बसे र रत्न पठाउने र ल्याउने दुवैलाई अलग अलग राखेर रत्नको तस्वीर बनाउन भने । दुवैले रत्नको तस्वीर बनाएपछि गोठालो राजाले न्याय दिँदै आदेश गरे, रत्न ल्याउने मानिसले रत्न पठाउने मानिसकी पत्नीलाई रत्न नदिएकोले फिर्ता गर । यसरी उनले न्याय दिए ।
यो खबर राजाले पाएपछि उनी अचम्ममा परे र गोठालो राजा बस्ने ठाउँको उत्खनन गराए । सिंहासन बाहिर आएपछि त्यसबाट बत्तीसपुतली उडेर गए । सिंहासनबाट बत्तीसपुतलीहरू उडेर गएकोले त्यस ठाउँको नाम बत्तीसपुतली रहन गयो । राजा र उनका मन्त्रीहरू यो सिंहासन राजा विक्रमादित्यको भएको निर्णयमा पुगे । किनकि विक्रमादित्यको दरबारबाट कसैले अन्याय पाएका थिएनन् । राजाले त्यहाँ भगवान रामको मूर्ति बनाई सिंहासनमाथि राखे । राजा विक्रमादित्यले न्याय दिने स्थानबाट सिंहदरबार, संसद् भवन र अदालत धेरै टाढा छैन तर त्यहाँ न्याय मरेर अन्यायको सिंहासन विराजमान छ । नेपालमा आज अधर्मीहरूको शासन व्यवस्था छ ।
आज न्याय न त गोर्खामा छ न त बत्तीसपुतलीमा न त सिंगो नेपालमा । अधर्मीहरूको हातमा सत्ता छ, त्यसैले यहाँ न त देशले न्याय पाएको छ र न जनताले ।
शासनसत्ता स्वैरिणी चरित्र भएकाहरूको हातमा छ, यहाँ राजनीतिक वारवनिताहरूको राज्य छ । कालिदासले आफ्नो जन्मभूमि, आफ्नो मातृभूमि यो हिमवत्खण्डप्रति श्रद्धानत भएर भनेका थिए ‘दिवं यदि प्रार्थयसे वृथा श्रमः । पितुः प्रदेशा स्तव देवभूमयः ।।’ स्वर्ग जान प्रार्थना गर्नु वृथा श्रम हो, पितृप्रदेश (मातृभूमि) तिम्रो देवभूमि हो । तर आज यो देवभूमि कसरी राक्षसभूमिमा परिणत भएको छ । आज कालिदास जिउँदो भएको भए यो हिमवत्खण्डलाई के भन्ने थिए ? आज देशको युवाशक्ति दिनहूँ पन्ध्र सय (दुई हजारका दरले) विदेश पलायन भइरहेका छन् ।
आज यो हिमवत्खण्ड देवभूमि रहिरहेको भए के युवाहरू विदेश पलायन हुनुपथ्र्यो ? यो हिमवत्खण्डका महान् पुत्र कालिदासको शब्दमा ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी वगाहृया स्थितः पृथिव्या इव मानदण्डः ।। भावार्थ ः उत्तर दिशामा हिमालय नाम गरेका देवताको निवास छ जसका दुई छेउ महासमुन्द्रसम्म फैलिएका छन्, जो पृथ्वीको मापन छडी हो । आज यो हिमालयका काखमा बसेका देवताहरूको भूमिमा देवताहरूको वास छैन । हिमालयको दुबैतिर महासमुन्द्रसम्म फैलिएको यो हिमवत्खण्ड आज साँघुरिएको छ । भएको भूभाग पनि यो दैत्यराजमा विदेशीलाई सुम्पिएको छ ।
यी विधर्मी नेताहरूलाई सत्तामा टिकाउने जनता पनि उत्तिकै जिम्मेवार छन् । दुराचारीहरूको साथ दिने पनि एकदिन समाप्त भएर जान्छन् भन्ने शिक्षा दुर्योधनबाट लिनुपर्ने हो तर जनताले लिन सकेका छैनन् । गणतन्त्रवादी नेताहरू प्रत्येक कुरामा छल, कपट र प्रपञ्च रचिरहन्छन् । छलकपट र प्रपञ्च रच्नेहरू केही कालसम्म सत्ता सुख भोग गर्न त सक्छन् तर उनीहरूको अन्त्य निश्चित छ भन्ने कुरा स्वैरिणी चरित्रका नेताहरूले शकुनिबाट शिक्षा लिनुपर्ने हो तर लिँदैनन् । विनाशकाले विपरीत बुद्धिः ।
(ऐतिहासिक स्रोत : पुरातत्व विभागबाट प्रकाशित एन्सेन्ट नेपाल र प्रा. मुरलीधर भट्टराई रचित पुस्तक नेपाल बर्थ प्लेस अफ कालिदास)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच