फिलिपिन्समा आँधीका कारण ८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । फिलिपिन्सको मेट्रो मनिला काउन्सिलले बुधवार राष्ट्रिय राजधानी क्षेत्रमा आधिकारिक रूपमा विपद्को अवस्था घोषणा गरेको छ । त्यस ठाउँमा आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाइफुन गेमीले ल्याएको वर्धित दक्षिणपश्चिम मनसुनको वर्षाले फिलिपिन्सको राजधानीका विभिन्न भागहरूमा बाढी आएको छ । बाढी केही क्षेत्रमा सात फिट गहिरोसम्म आएको बताइएको छ । सरकारले मनिला खाडी र नदीहरू नजिकका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न र विद्यालय र कार्यालयहरू बन्द गर्न चेतावनी दिएको छ ।

मेट्रो मनिलालाई विपत्तिको अवस्थाअन्तर्गत राखिएको छ । स्थानीय अधिकारीहरूले मध्य र दक्षिणी फिलिपिन्स क्षेत्रहरूमा तटीय क्षेत्रका बासिन्दाहरूलाई खाली गरेका छन् । मनिलाको दक्षिणी भागमा रहेको बटाङ्गस प्रान्तको एगोनसिल्लो शहरमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । बाटाङ्गस प्रान्तको नासुग्बो शहरमा तिव्र हावाहुरी र भारी वर्षाले ढलेको रुखले ढलेर एक ४६ वर्षीय पुरुषको मृत्यु भएको छ भने मनिला शहरमा विद्युत करेन्ट लागेर अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

मनिलाको उत्तरमा रहेको पम्पाङ्गा प्रान्तको एन्जलस शहरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । र मनिलाको पश्चिममा रहेको बातान प्रान्तमा दुई जना बेपत्ता भएको बताइएको छ । बाढीका कारण कतिपय क्षेत्रमा विद्युत सेवा अवरुद्ध पनि भएको छ । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण लुजोनका धेरै एयरपोर्टहरूले सञ्चालन स्थगित गरेको बताएको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा टाइफुन आउँछन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?