काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पनि जारी रहृयो । जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बैठकमा प्रस्तुत विभिन्न ११ एजेण्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बुधबारदेखि सुरु बैठकको पहिलो दिन गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टी महासमितिमा पेस भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, भ्रातृ संगठनहरूको अधिवेशनको समयमा निर्देशन समिति बनाउने, १०० दिने सांगठनिक अभियान (भदौ १५ देखि मंसिर २५) सम्म सञ्चालन गर्ने लगायतको एजेण्डा प्रस्तुत भएका थिए । प्रतिवेदनहरूमाथि नेताहरूले धारणा राख्नेक्रम सकिएपछि सरकार र पार्टी चलायमान बनाउनेबारे निर्णय हुने नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
जारी केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले परिमार्जनसहित महासमिति बैठकले पारित गरेका प्रतिवेदनहरू प्रस्तुत गरेका छन् । चुनावअघि गठबन्धन गर्न नहुने भन्दै महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा राखेको मत परिमार्जन नगरी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको छ । तर, उपसभापति पूर्णबहादुर खड्काले माओवादी जनयुद्धबारे प्रतिवेदनमा उल्लिखित भाषा भने सच्याइएको छ । परिमार्जनपछि पनि महामन्त्री थापाले राखेको चुनावी गठबन्धन गर्न नहुने मत भने यथावतै रहेको र उपसभापति खड्काले माओवादी युद्वबारे गरेको टिप्पणीको भाषा सच्याएर केही लचक बनाइएको नेताहरूले बताएका छन् । बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘गगन थापाको प्रतिवेदन महासमितिमा पेस भएभन्दा खासै फरक छैन । तर, उपसभापतिले माओवादी युद्धबारे राख्नुभएको धारणाको भाषा अलि सच्याएर लचक बनाइएको छ ।’ महामन्त्री थापाले गत महासमिति बैठकमा पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन गर्न नहुने उल्लेख छ । ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ । तर, निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्णविश्वास दिलाउँदै दृढ संकल्प गर्छ–हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिहृन रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदनमा भने माओवादीले करिब एक दशक सञ्चालन गरेको सशस्त्र संघर्षबारे कडा टिप्पणी गरिएको थियो । माओवादी जनयुद्धलाई अनावश्यक भन्दै त्यसले ध्वंस मात्रै गरेको उहाँको धारणा थियो । ‘कथित जनयुद्धका नाममा अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरु भयो । विकास र समृद्धिको यात्रा अवरुद्ध भयो । ध्वंस विध्वंसहरू भए । विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो । यति धेरै क्षति हुनेगरी यो विध्वंसको आवश्यकता थिएन ।’ उपसभापति खड्काले पेस गरेको परिमार्जन सहितको प्रतिवेदनमा अनावश्यक र विध्वंस भन्ने शब्द हटाइएको स्रोतको जिकिर छ ।
शर्मा पनि थापाकै लाइनमा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमितिमा पेस भएको आफ्नो समसायिक राजनीतिक प्रतिवेदनमा संशोधन गर्नुभएको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले संशोधित प्रतिवेदन पेस गर्नुभएको हो । जसमा चुनावी गठबन्धन अनुपयुक्त भएको उल्लेख गर्नुभएको छ । फागुन २०८० मा भएको महासमिति बैठकका क्रममा कांग्रेसमा चुनावअघि गठबन्धन गर्ने वा नगर्नेबारे चर्को बहस भएको थियो । महामन्त्री थापा आगामी चुनावमा गठबन्धन नगर्ने घोषणा गरेर जानुपर्ने प्रस्ताव राख्नुभएको थियो भने पार्टी सभापति शेरबहादुर देउवा यसको विपक्षमा रहनुभएको थियो । दुईथरी मत आएपछि महामन्त्री शर्माले भने चुनावी गठबन्धनबारे उपयुक्त समयमा निर्णय लिनुपर्ने तर्क गर्नुभएको थियो । महासमिति बैठकमा पेस भएको महामन्त्री शर्माको प्रतिवेदनमा भनिएको थियो, ‘निर्वाचन आउनुभन्दा चार वर्षअघि नै निर्वाचनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय होइन ।’
कांग्रेस महासमितिमा गठबन्धन गर्ने वा नगर्ने विषयमा छलफल भयो । तर, माओवादी केन्द्रसँग सत्ता गठबन्धनमा रहेका कारण कांग्रेसले कुनै निर्णय लिएन । महासमिति सकिएको ११ दिनपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्नुभयो र एमालेसँग नयाँ गठबन्धन बनाउनुभयो । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ सहमति भयो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा बिहीबार महामन्त्री शर्माले अहिलेको सत्ता समीकरण अनुकूल प्रतिवेदन पेस गर्नुभएको छ । चुनावपछि सरकार निर्माणका लागि गठबन्धन स्वाभाविक हुने तर चुनावअघि गठबन्धन गरेर मत माग्नु अनुपयुक्त हुने अनुभव साझा निष्कर्ष रहेको शर्माको निचोड छ । महामन्त्री शर्माले कांग्रेसका परम्परागत मतदाताले अन्य चिहृनमा मत दिन पार्टीले गरेको आग्रहलाई अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । समानुपातिकतर्फ कांग्रेसको मत अघिल्लो पटकभन्दा करिब सात प्रतिशत घटेकाले त्यसको वास्तविकता पहिचान र निदान गर्नुपर्ने शर्माको प्रतिवेदनमा उल्लेख छ । चुनावी तालमेलका लागि बनेका गठबन्धन निर्वाचनपछि कायम राख्न नसकिएको महामन्त्री शर्माले बताउनुभएको छ । सांगठनिक प्रतिवेदन पेस गरेका अर्का महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने मत फागुनको बैठकमा नै पेस गर्नुभएको थियो ।
शर्माको प्रतिवेदनबाट हट्यो ‘कोशी प्रकरण’
महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमा रहेको कोशी प्रकरणलाई पनि हटाउनुभएको छ । गत वर्ष कांग्रेसको एक पक्षले विद्रोह गरेर कोशीमा एमाले सहितको सरकार बनाएको थियो । केन्द्रको गठबन्धनविरुद्ध हुनेगरी कांग्रेस-एमालेको सरकार बनेको थियो । डा.शेखर कोइराला पक्षका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेले सघाएको थियो । ‘कोशी प्रकरणबाट उब्जिएको प्रश्न’ शीर्षकमा महामन्त्री शर्माले त्यहाँको घटनाक्रमको गम्भीर समीक्षाको आवश्यकता रहेको उल्लेख गर्नुभएको थियो । तर, अहिले महामन्त्री शर्माले आफ्नो प्रतिवेदनबाट कोशी प्रकरणको सम्पूर्ण विषयलाई हटाउनुभएको छ ।
एमालेसँगको समीकरण सही रहेको गृहमन्त्रीको ब्रिफिङ
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली कांग्रेस र एमालेबीचको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्नुभएको छ । बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कांग्रेसले धोका पाएर विपक्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले सुझबुझपूर्ण रूपमा दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणमा नेतृत्व दिएको जिकिर गर्दै गृहमन्त्री लेखकले बैठकमा भन्नुभयो, ‘कांग्रेस सबैभन्दा ठूलो हुँदाहुँदै पनि संघमा मात्र होइन सातवटै प्रदेशमा विपक्षमा बस्नुपर्ने परिस्थिति पार्टीका साथीहरूका लागि, सबै लोकतन्त्रवादी जनताका लागि पीडादायी विषय भयो । पछिल्लो समय पार्टी सभापति देउवाजीले अत्यन्त सुझबुझसहित दीर्घकालीन सोचका साथ नयाँ समीकरणको विषयलाई नेतृत्व दिनुभयो । हामी नयाँ समीकरणमा लागौँ ।’ एमालेसँग पटक-पटकको वार्ता र संवादबाट असार १७ गते नयाँ समीकरण बनाउने सहमति भएको जानकारी दिँदै लेखकले भन्नुभयो, ‘सात बुँदे सहमतिपत्रमा शेरबहादुर देउवा र माननीय केपी शर्मा ओलीजीले हस्ताक्षर गर्नुभयो । त्यसपछि यो सरकार बन्ने मार्गप्रशस्त भयो । हामीले सरकार गठन ग¥यौँ ।’ सत्ता समीकरणमा सबै कुरा सहज ढंगले अगाडि बढेको उहाँको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच