
काठमाडौं । जनगायक जेबी टुहुरे स्मृति सम्मान-२०८१ वरिष्ठ जनवादी गायक खुसिराम पाख्रिनलाई मरणोपरान्त प्रदान गरिएको छ । जेबी टुहुरे फाउण्डेशनले हरेक वर्ष गर्ने स्रष्टा सम्मान कार्यक्रमअन्तर्गत यसवर्ष स्वर्गीय पाख्रिनलाई सम्मान गरिएको हो ।
टुहुरेको तेस्रो स्मृति दिवसको सन्दर्भमा काठमाडौंको इच्छुक प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय पाख्रिनकी श्रीमती सुकमाया पाख्रिनलाई एक लाख रुपैयाँ राशिको पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्डले वरिष्ठ जनगायक जेबी टुहुरे र खुसिराम पाख्रिन दुवैले नेपाली समाजको रूपान्तरणमा अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । २०३८ सालदेखि जनपक्षीय गीत गाउन थाल्नुभएका पाख्रिनले आफ्नो जीवकालमा एक सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिनुभएको छ । पाख्रिनका ‘सगरमाथाको काखमा नेपाल देश छ’, ‘उठ जाग युवाहरू’, ‘लाल झुपडीका मान्छेहरू’ जस्ता गीत चर्चित छन् ।
जेबी टुहुरे प्रतिष्ठानले-२०७९ सालदेखि गीतसंगीतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गर्दै आएको छ । २००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिनुभएका जुठबहादुर खड्गी (जेबी टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । उहाँको योगदानको कदर गर्दै २०८० भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच