काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्रको आन्तरिक असन्तुष्टि झन् बढ्दै गएको छ । गत भदौ दोस्रो साता निर्वाचनमार्फत पदाधिकारी चयन गरेसँगै बढ्न थालेको अन्तरकलह समाधान हुनको सट्टा झन् झांगिँदै गएको छ । पदाधिकारी चयनका लागि भएको निर्वाचनले पार्टीभित्रको गुटबन्दी छताछुल्ल बनाएको थियो । पदाधिकारी चयनमा शीर्ष नेताहरूबीच नै गुटबन्दी भएपछि त्यसको असर स्थानीय तहसम्म समेत पुगेको छ ।
एकीकृत समाजवादीको गत असार १६-२० गते काठमाडौंमा आयोजना गरेको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । त्यसबाहेक अन्य पदाधिकारी सहमतिमा टुंगो लगाउने पटक-पटक प्रयास भए पनि सहमति नजुटेपछि मतदानबाट पदाधिकारी चयन गरिएको थियो । पदाधिकारी चयनबाट चुलिएको असन्तुष्टि अहिले पार्टी परित्याग गर्ने चरणसम्म पुगेको छ ।
नेकपा एसका प्रतिनिधि सभाका सांसदहरू किसान श्रेष्ठ र प्रेम आलेमगर पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नको लागि एमालेको नेतृत्वसँग अनौपचारिक छलफलमा रहेको निकट नेताहरूको भनाइ छ । यद्यपि, सांसदहरू पार्टी प्रवेशको प्रक्रिया जटिल भएकाले श्रेष्ठ र आलेमगरको एमाले प्रवेशमा ढिलाइ भएको एमालेका कतिपय नेताहरूको दाबी छ । युवा नेतृ रामकुमारी झाँक्रीले पनि पदाधिकारी चयनलगत्तै पार्टी परित्याग गर्ने संकेत गर्नुभएको थियो । पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आउनुभएकी नेतृ झाँक्रीले तत्कालै पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने तयारी गरेको नेताहरूको दाबी छ । आफूलाई पदाधिकारीमा हराउन पार्टी अध्यक्ष माधवकुमार नेपालले नै सक्रिय भूमिका खेलेको उहाँको आरोप छ । एमाले विभाजन गरेर नेकपा एस गठन गर्दाताका माधव नेपाललाई दरिलो साथ दिनुभएकी झाँक्रीले असोज १ गते सामाजिक सञ्जाल फेसबुकमा ‘यात्रामा जब मोडहरू आउँछन् नि त्यो बेला मोडिनुपर्छ ।’ भन्ने स्टाटस लेखेर पार्टी छोड्ने संकेत गर्नुभएको छ ।
अध्यक्ष नेपालको चेतावनी- ‘हारेपछि असन्तोष पोख्दै हिँड्नेलाई धेरै छुट दिन सकिन्न’
पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा अध्यक्ष माधवकुमार नेपालले पार्टीकै नेता-कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै अबदेखि पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी बागमती प्रदेश कमिटीको १०औँ राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही केही नेता कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने गरेको टिप्पणी गर्दै भन्नुभयो, ‘केही केही साथीहरूले अनेक ढंगले निराशा पैदा गर्नेगरी लेख्ने गरिरहेका छन्, बोल्ने गरिरहेका छन् । त्यो तरिका गलत हो । जे लागेको छ पार्टीभित्र राख्नुस्, कमजोरी छन् भने छलफलको विषय बनाऔँला । तर, चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो त्यसलाई छुट दिन सकिँदैन । पार्टीप्रतिको जनताको विश्वासलाई कमजोर बनाउने कुनै पनि काम पार्टीमा माया भएको मानिसले गर्न हुँदैन । रिसको झोंकमा लेख्नुको साटो बरु घरमा गएर पानी पिउनुस्, मोबाइलसमेत नचलाउनुस् ।’ अध्यक्ष नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने चेतावनीसमेत दिनुभएको छ । अध्यक्ष नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिको विषयलाई गीत बनाएर हिँड्न आवश्यक नभएको जवाफ फर्काउनुभएको छ ।
पश्चमागी ढंगले संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिन्छ : सम्मानित नेता खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस र एमालेले संविधान पश्चमागी ढंगले संशोधन गरे देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी दिनुभएको छ । शुक्रबार पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै खनालले भन्नुभयो, ‘यो संविधानमा रहेका समाजवादी पक्षधरलाई कसैले तलमाथि गर्छ भने हामी त्यसविरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ । यो संविधानको रक्षाको लागि । केही काम नलाग्ने कुरा पनि छ । तर, संविधानलाई संशोधन गर्नुपर्छ भनेर ठूला पार्टीहरूले चलाइरहेका छन् । संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिन्छ भने त्यसमा यो देशमा अर्को जनआन्दोलन निम्याउँछ ।’
माओवादी हरेक दिन कमजोर बन्दै गएको छ : महासचिव भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको टिप्पणी गर्नुभएको छ । पार्टी बागमती प्रदेश कमिटीको १०औँ राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्नेक्रममा महासचिव भुसालले अब माओवादीको कुनै प्रयोग काम नलाग्ने टिप्पणी गर्दै भन्नुभयो, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरूले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ ।’ नेपाली कांग्रेस आफैँ बलियो हुने पार्टी नभएको तर, अरू कमजोर हुँदा मात्रै बलियो हुने जिकिर गर्दै भुसालले भन्नुभयो, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दै छन् ।’ महासचिव भुसालले केपी शर्मा ओलीका कारणले नेकपा एमालेका नेताहरूको ज्ञान सत्यानाश भइरहेको आरोपसमेत लगाउनुभएको छ ।
आसन्न उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । पार्टी बागमती प्रदेश कमिटीको १०औँ राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘मंसिरको १६ गते उपनिर्वाचन हुँदै छ । ३९ सिटमा प्रमुखदेखि वडाध्यक्ष सम्मको पद खाली छन् । ती खाली पदमा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीको भविष्य तय गर्छ, कमसेकम केही क्षेत्रमा हामीले जितेर देखाउनुपर्छ । यो चुनावी अभियानमा सफल बनाउन लाग्नुस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच