
रैथाने शब्दको शब्दिक अर्थ परम्परागत भन्ने हुन्छ । रैथाने बाली भन्नाले परम्परागत रूपमा सदियौंदेखि किसानहरूले संरक्षण र प्रबद्र्धन गर्दै आएका कृषि बालीहरू हुन् । रैथाने बाली अन्नका त्यस्ता प्रजातिहरू हुन् जुन नेपालमा अहिलेसम्म व्यावसायीकरण वा पञ्जीकरण नभएको प्रजातिहरूभित्र पर्छन् । नेपालका प्रमुख रैथाने बालीहरूमा कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टे, भागो, कालो र सेतो भट्ट, घैया, अनदी, आँगा, जेठो बूढो, जोरायल, बास्मती धान, फूल उठ्ने सठिया मकै आदि हुन् । सामान्यतया रैथाने प्रजातिहरू बाली प्रजनन् अनुसन्धान र विकासका लागि मूल्यवान र महत्वपूर्ण ठानिन्छन् । रैथाने बालीहरू सामाजिक र आर्थिक दृष्टिकोणले दूरगामी प्रभाव पार्ने बालीभित्र पर्छन् ।
रैथाने बाली मानव भोजन, पशु आहार विशेषतः औषधीजन्य प्रयोजनका साथै खाद्य तथा पोषण सुरक्षा तथा बाली विविधीकरणका लागि महत्वपूर्ण मानिन्छ । रैथाने बालीहरूमा विभिन्न रोग, किरा, सुख्खा, खडेरी, अनावृष्टि, अतिवृष्टि जस्ता प्राकृतिक प्रतिकूलतालाई सहन सक्ने शक्ति हुन्छ । यस्ता विशेषताहरू र गुणहरू बाली प्रजनन् तथा सुधार र खाद्यान्न आपूर्तिका दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् । देशका युवाहरूलाई गाउँघरमा रोजगारी, खाद्यान्न उत्पादन र आपूर्ति व्यवस्थामा हुने सुधारले देशको रोजगारी, खाद्य संकटलाई एकैसाथ सम्बोधन हुने यस्ता खाद्यान्न उत्पादनले समस्याको समाधान आफैं गर्न सकिन्छ भन्ने सन्देश आत्मनिर्भर अर्थतन्त्रका दृष्टिकोणले महत्वपूर्ण विषयहरू हुन् । रैथाने बालीहरूको प्रबद्र्धन अभियानले देशको विकट भेगमा रोजगारी, खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणले वरदान भन्नुपर्छ ।
रैथाने बजार भन्नाले परम्परागत कृषि वस्तुहरूको क्रयबिक्रय हुने बजार भन्ने बुझिन्छ । अझ अर्को अर्थमा यसलाई खाद्य वस्तुहरूको आपूर्तिका दृष्टिकोणले अग्र्यानिक उत्पादनहरूको बजारको अर्थमा पनि व्याख्या यदि भयो भने पक्कै अन्यथा नहोला । खासगरी यो बजार उत्पादक र उपभोक्तबीच प्रत्यक्ष सम्पर्क हुने दुबै एकैसाथ लाभान्वित हुने थलो हो ।
रैथाने बालीको उत्पादन कुनै स्थान विशेषको हावापानीमा हुन्छ । हिमाली, पहाडी र तराई क्षेत्रहरूमा छुट्टाछुट्टै रैथाने बालीहरूको खेती गर्न सकिन्छ । यसले हाम्रो भौगोलिक विविधतालाई उत्पादन र रोजगारीसँग एकैसाथ जोड्ने अवसर भनेको देशले समस्याबाट मुक्ति पाउने वातावरणको श्रीगणेश हो । देशका सुगमदेखि दुर्गममा समेत रोजगारी र खाद्यान्न आपूर्तिमा रैथाने बालीहरूको महत्व र भूमिका अतुलनीय हुन्छ । देशमा विद्यमान रोजगारी खाद्यान्नको विकराल समस्याहरूको समाधान एकैसाथ गर्ने रैथाने बालीको प्रबद्र्धन र विकासले अल्पकालीनदेखि दीर्घकालीन समस्याहरूको समाधान गर्न देश सक्षम हुन्छ । यस्ता रैथाने बालीहरूको उत्पादनलाई बजारका सहयोगले देशका विभिन्न भागसम्म पुर्याउन सकिन्छ ।
देशको एक क्षेत्रको उत्पादन अर्को क्षेत्रमा सजिलोसँग पुर्याउने वातावरण आफैंमा देशको खाद्य समस्यालाई समाधान गर्ने यो अनुपम जुक्ति हो । यसले उत्पादन र रोजगारीको स्थानीय बजार वृद्धि हुन्छ । यसलाई विस्तारै व्यवसायीकीकरण गर्ने अभियानलाई सघनरूपमा सञ्चालन गर्ने विधि र प्रविधिको विकासमा देशले यथेष्ट ध्यान पुर्याउन सके युवाहरू विदेशिने क्रमलाई रोक्न सकिन्छ । यस्ता उत्पादनलाई प्रशोधन अभियानका माध्यमले आन्तरिक बजारका अतिरिक्त देश बाहिरसमेत बजार विस्तार गरेर अहिलेको चुलिएको व्यापार घाटालाई सम्बोधन गर्ने अस्त्र बन्न सक्छन् हाम्रा रैथाने बालीहरू । गाउँ नै गाउँले बनेको देशमा ग्रामीण रोजगारीका अवसर सिर्जना गर्न रैथाने बालीहरूको भूमिका अवर्णनीय हुन्छ ।
रोजगारीका अवसरहरूको सिर्जना र खाद्यान्नको आपूर्ति एकैसाथ हुने व्यवस्था र अवस्थाको निर्माणका दृष्टिकोणले यस्ता रैथाने बाली प्रबद्र्धन र विकासलाई राष्ट्रिय प्राथमिकताको रूपमा राज्यका योजनाले अंगिकार गर्न अब ढिलो गर्नु हँुदैन । बालक, युवा, वृद्ध सबैले शारीरिक श्रम गर्न पाउने र स्वस्थ्यकर भोजन आफ्नै घरमा उत्पादन हुने दृष्टिकोणले यी रैथाने बालीहरूको आर्थिक महत्व, स्वास्थसम्बन्धी महत्व र उपयोगिताको प्रशंसा जति गरे पनि कम हुन्छ । नेपालका सन्दर्भमा रोजगारी र खाद्यान्न संकटको समाधान गर्ने यसभन्दा अर्को उत्तम विकल्प के हुनसक्छ ? यस्ता रैथाने बालीसँग सम्बन्धित विषयलाई स्कुल, कलेज र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरेर हाम्रो भौगोलिक विविधताको लाभ लिने वातावरणले नेपाली अर्थतन्त्रको कायापलटमा रैथाने बाली अचुक सूत्र बन्ने सम्भावनालाई देशले सदुपयोग गर्न सक्नुपर्छ ।
दरबार मार्गमा सुरुवात भएको रैथाने बजारको राष्ट्रिय महत्वका विषयमा नेपालका घरघरमा छलफल, विश्लेषण साथै यसको यथेष्ट प्रचारप्रसार हुन जरुरी छ । रैथाने बजार भन्नाले परम्परागत कृषि वस्तुहरूको क्रयबिक्रय हुने बजार भन्ने बुझिन्छ । अझ अर्को अर्थमा यसलाई खाद्य वस्तुहरूको आपूर्तिका दृष्टिकोणले अग्र्यानिक उत्पादनहरूको बजारको अर्थमा पनि व्याख्या यदि भयो भने पक्कै अन्यथा नहोला । खासगरी यो बजार उत्पादक र उपभोक्तबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा यस बजारमा बिचौलियाको उपस्थिति हँुदैन भन्ने अर्थमा यो बजारबाट उपभोक्ता र उत्पादक दुबै एकैसाथ लाभान्वित हुन्छन् भन्दा अत्युक्ति हुँदैन ।
बजारमा बिचौलियाहरूको उपस्थितिले उपभोक्ताको शोषण हुन्छ तर यो रैथाने बजारमा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष कारोबार हुने हुँदा बिचौलियाको शोषणबाट उपभोक्ता मुक्त हुने अवस्थाले उपभोक्ताले आफू नठगिएको अनुभव र अनुभूति गर्ने अवस्था आफैंमा प्रशंसनीय र स्वागतयोग्य छ । हाम्रो सामान्य बुझाइमा यो बजारमा अग्र्यानिक वस्तुहरूको मात्रै बिक्रीवितरण हुन्छ । यस्ता खाद्यवस्तुहरू स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुन्छन् । अर्थात् स्वास्थ्य मैत्री खाद्यवस्तुको आपूर्ति यो बजारले गर्छ । मिसावट र विषादीको डरबाट उपभोक्तालाई मुक्त गर्ने यो बजार उपभोक्ता र उत्पादकलाई एकै ठाउँमा भेटघाट र कारोबारको अपूर्व मिलनको अवसर जुटाउँछ ।
यस्तो बजार दरबार मार्गमा मात्रै सीमित नभएर देशका विभिन्न भागहरूमा सञ्चालन हुन सके यस्तो बजारले उपभोक्ताले स्वस्थकर वस्तुहरू प्राप्त गर्ने र उत्पादकहरूले पनि आफ्नो श्रमको उचित मूल्य पाउने वातावरणले यस्तो बजार उत्पादक र उपभोक्ता दुबैका लागि बरदान सावित हुन्छ । रैथाने बजार दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको पूर्वाधार होभन्दा पनि फरक पर्दैन । उत्पादकहरूले श्रमको उचित मूल्य पाएको अनुभूतिले देशमा कृषि उत्पादन वृद्धिको वातावरण निर्माणमा यस्तो बजार कोसोढुंगा प्रमाणित हुनसक्छ । नेपालको सन्दर्भमा कृषि उत्पादन वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्ने, अवसरलाई विस्तार गर्ने कार्यनीति, रणनीतिका रूपमा यस बजारको विश्लेषण र व्याख्या गर्न जरुरी छ । रैथाने बजार अहिलेको सन्दर्भमा देशका समस्याहरूको समाधानको प्रारम्भिक र सफल प्रयास हो ।
अबको सन्दर्भमा रैथाने बजार काठमाडौंमा मात्रै होइन देशका विभिन्न भागमा यस्तो बजारको व्यवस्था गर्न वाञ्छनीय भएको छ । यसले बाँझो जमिनलाई आवाद गुल्जार गरेर किसानले उत्पादन लिने अवस्था र परिस्थिति निर्माणमा रैथाने बजारको भूमिका महत्वपूर्ण हुन्छ । अहिले प्रायः सबै खाद्यवस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था र परिस्थितिमा किसानहरू उत्पादनमा लाग्ने अवस्था सिर्जना गर्ने रैथाने बजारको प्रबन्ध र योजनाले देशलाई आत्मनिर्भर हुन मार्गनिर्देशन गर्छ भने विदेशबाट हुने आयातलाई घरेलु उत्पादनले विस्थापित गर्ने अवस्थाले देश खाद्यवस्तुमा विस्तारै आत्मनिर्भर हुन मार्ग प्रशस्त गर्छ ।
खाद्यान्न, फलफूल, तरकारी आदिमा आत्मनिर्भर बनाउने सन्दर्भमा रैथाने बजारको विस्तारले खाद्यान्न र रोजगारीमा देश आत्मनिर्भर बन्ने आधार निर्माण गर्छ । कालान्तरमा यो दरबारमार्गबाट सुरुवात भएको रैथाने बजार देशको आर्थिक विकासमा कोसेढुंगा बन्नसक्छ । रैथाने बजार बारे हल्ला सुनेको तर आफूले प्रत्यक्ष नदेखेको हुनाले त्यसको आकार, परिस्थिति र बजारमा उपलब्ध के कस्ता वस्तुहरू पाइन्छन् भन्ने खुल्दुली मेट्न पनि हामीले यो बजार हेर्न, अध्ययन गर्न र आफूलाई यदि ठीक लाग्यो भने किन्नेसमेत मनोविज्ञान लिएर हामी २०८१ साल असोज पाँच गते शनिबार घरबाट निस्केका थियौं । दरबारमार्गको बीच भागमा नै सानु परिसरभित्र यो बजार अवस्थित रहेछ ।
रैथाने बजारको विस्तारले स्वस्थ्यकर वस्तुहरू उपभोक्ताले पाउने वातावरणले जनस्वास्थ्यमा पर्ने सकारात्मक प्रभावका दृष्टिकोणले बजारको सरकारले उच्च मूल्यांकन र उच्च प्राथमिकता दिनुपर्छ । खासगरी बजारमा अखाद्य वस्तुहरूको बिक्रीवितरणले जनस्वास्थ्यमा परेको नकारात्मक प्रभावको लेखाजोखा अब हामीले नगर्ने हो भने जनस्वास्थ्यको स्तर अझै खस्कन सक्छ ।
भर्खरै सुरुवात भएको कारणले होला त्यति व्यवस्थित लागेन । रैथाने खाद्य वस्तुहरू अहिले बजारमा नपाइने विषय जगजाहेर छ । स्वास्थ्यको सम्बन्धमा अहिले तुलनात्मक रूपले जनचेतनामा विस्तारै वृद्धि भएको हो कि जस्तो लाग्न थालेको छ । यसको मुख्य कारण हो अहिले विभिन्न रोगहरूका कारण मानिस संख्यात्मक रूपमा धेरै रोगी भएको अनुभूति सम्भवतः हामी सबैमा हुनुपर्छ । मानिसहरू नयाँनयाँ रोगको सिकार भएको र रोगको उपचार अत्यन्तै खर्चिलो भएको हुनाले यस्ता रोगहरूको उत्पत्तिका कारण उपचारमा एकातिर मानिसको अनगिन्ती धनराशि खर्च भएको छ भने अर्कोतिर बढ्दै गरेको रोगका कारण रोगीहरूको संख्या पनि दिनप्रतिदिन बढ्दै जाने विषय देश र समाजको लागि चिन्ता र चासोको विषय हुने विषय स्वाभाविकै भन्नुपर्छ ।
कृषिमा विषादी प्रयोग गर्ने प्रचलन छ तर त्यो विषादी कहिले प्रयोग गर्ने, कति प्रयोग गर्ने र त्यसरी प्रयोग भएको विषादीको प्रभाव कहिलेसम्म पर्छ भन्ने जस्ता जननस्वास्थ्यसँग सम्बन्धित विषयमा हाम्रो समाज अहिलेसम्म प्रवेश नै गरेको छैन । विषादी तरकारी, फलफूल र खाद्यपदार्थ खानुपरेको तितो सत्य हामी सबैले अनुभव गर्न बाध्य भएको विषय हो । अहिले धेरै मानिस शहरको साँघुरोमा बस्ने र यावत् वस्तुहरूमा बजारमा निर्भर रहनुपर्ने अवस्था छ । बजारमा पाइने खाद्य वस्तुहरूमा बढ्दो मिसावट र विषादीको अत्यधिक प्रयोगले खाद्य पदार्थहरू अहिले सबै शंकाको घेरामा छन् । बाँच्नका लागि तरकारी, फलफूल र खाद्यान्न अनिवार्य छ । त्यतिमात्र होइन स्वस्थ रहनका लागि आवश्यक पर्ने खाद्य सामग्री बजारमा प्राप्त नहुँदा उत्पन्न बेचैनीको लेखाजोखा गर्न कठिन छ ।
त्यसैले रैथाने बजारको विस्तारले स्वस्थ्यकर वस्तु उपभोक्ताले पाउने वातावरणले जनस्वास्थ्यमा पर्ने सकारात्मक प्रभावका दृष्टिकोणले यस्तो बजारको समाजले र सरकारले उच्च मूल्यांकन र उच्च प्राथमिकता दिनुपर्छ । खासगरी बजारमा अखाद्य वस्तुको विक्रीवितरणले जनस्वास्थ्यमा परेको नकारात्मक प्रभावको लेखाजोखा अब हामीले नगर्ने हो भने जनस्वास्थ्यको स्तर अझै खस्कन सक्छ । जनतालाई निरोगी बनाउने अभियान सफल नहुँदासम्म देश किमार्थ समृद्ध हुँदैन । देशलाई समृद्ध बनाउने पूर्वाधार भनेकै निरोगी नागरिक हुन् । निरोगी नागरिक बनाउने अभियान भनेको फेरि रैथाने बाली प्रबद्र्धन अभियान हो ।
रैथाने बालीको विषयलाई यदि जनस्वास्थ्य र रोजगारीका कोणबाट हेर्ने हो भने यी विषयलाई देशले सर्वाधिक प्राथमिकता दिनुपर्छ । जनस्वास्थ्य र रोजगारीका विषय जुन देशले प्राथमिकतामा राख्छ त्यो देशले पक्कै पनि आर्थिक समृद्धिमा फड्को मार्छ । दरबार मार्गबाट प्रारम्भ भएको यो रैथाने बजारको महत्वलाई राज्यको नीति निर्माणका तहमा काम गर्नेहरूले यसलाई आत्मसात गरेर यो अभियानलाई विस्तार गर्ने योजनाले देशको अर्थतन्त्रमा अत्यन्तै छिटो परिवर्तन ल्याउन सक्छ । देशभर छरिएर रहेका युवा जनशक्तिलाई परिचालन गर्ने यस्ता बजारलाई रैथाने उत्पादनका माध्यमले विस्तार गर्न हामी सफल भयौं भने अहिलेसम्म आर्थिक उत्थानमा देखिएको असफलतालाई चिर्ने दिगो र भरपर्दाे उपाय हुनसक्छ ।
भर्खरै मात्र सुरुवात भएको यो दरबारमार्गको रैथाने बजार भोलिका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणमा सहयोगी बन्ने वातावरण बन्यो भने रैथाने बजारका योजनाकारको सपना पूरा हुनेछ । रैथाने बजारका योजनाकारको सपना भनेको अर्को अर्थमा नेपालीहरूको आर्थिक उत्थान गर्ने सपना हो । स्वस्थ नागरिक र घरघरमा रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको विकासको यो हाम्रो परम्परागत मोडल दिगो विकास र रोजगारी सिर्जना साथै देशको समृद्धिमा कोसेढुंगा बन्नेछ । अब आफ्नै बिउ, आफ्नै माटो, आफ्नै जनशक्तिलाई उच्चतम परिचालन गर्ने अभियानमा हामी लागेनौं भने हाम्रो स्वास्थ र अर्थतन्त्र दुबै संकटमा पर्छन् । त्यसैले देशको र नागरिकको संकट मोचनको सूत्रका रूपमा रैथाने खेती र रैथाने बजारलाई हामीले आत्मसात गर्न किंचित ढिला गर्न हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच