
काठमाडौं । नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्रीवितरण अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन एवं सोअन्तर्गतका सुपथ मूल्यका पसल, सुपर मार्केट र खुद्रा किराना पसल तथा काठमाडौं उपत्यकाका बल्खु, कलंकी, नयाँ बसपार्क, गौशाला र कोटेश्वर क्षेत्रमा रहेका यातायात व्यवसायी केन्द्र र सेवाग्राहीसँग जानकारी लिएको छ ।
अनुगमनका क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले सुपथ मूल्यका पसल सञ्चालन गरेको, दशैँ, तिहार, छठ नजिकिदै जाँदा तरकारीजन्य सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामानमा खुद्रा पसलभन्दा ठूला सुपरमार्केटको मूल्यमा अधिकांशमा धेरै बढी मूल्य रहेको पाइएको आयोगले जनाएको छ । यातायाततर्फ चाडपर्वमा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउन अग्रिम टिकट बुकिङका लागि अनलाइन व्यवस्था गरिएको र यातायात व्यवस्था विभागलगायतका निकायबाट तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरिए पनि काठमाडौंदेखि हेटौंडासम्म चल्ने सवारी साधनहरूले नियमविपरीत झण्डै दोब्बर भाडा लिने गरेको पाइएको आयोगले जनाएको छ । सबै टिकट काउन्टरमा भाडा सूची राखिएको तर केहीबाहेक सवारी साधनमा भने भाडा सूची नराखिएको, ठूला बसपार्कहरूमा शौचालय व्यवस्था भए पनि पर्याप्त नभएको, यात्रुलाई सहचालकबाट मर्यादित व्यवहार नभएको, साना सवारी साधनमा आरक्षण सुविधा नरहेको लगायतका कैफियत अनुगमनका क्रममा पाइएको छ । सवारी साधनमा आरक्षण सुविधामा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिएको नपाइएको पनि आयोगले जनाएको छ ।
आमउपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन, सवारी साधनमा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिन, उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमन थप प्रभावकारी बनाउन आयोगले तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभएको छ ।
यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित अनुगमनका लागि खटाएका दुर्ईवटा टोलीले बिहीबार काठमाडौं उपत्यकाका नौ स्थानमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभएको छ ।
त्यस्तै अनुगमन टोलीले प्राप्ति फुड प्रोडक्ट्स सिनामंगलमा बिक्रीमा राखिएको घ्यूको गुणस्तरमा शका लागेपछि बिक्री बन्द गरी परीक्षणका लागि नमुना संकलन गरेको छ । उक्त पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलित घ्यूको नमुना विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको पनि विभागले जनाएको छ । उक्त घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यसैगरी टिथ्री थकाली समूह सिनामंगलमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ भने कमी–कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । बेकर्स बेकरी उद्योग बानेश्वरलाई कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि बानेश्वरमा फ्रिजमा भेटिएको बिनालेबलका ढुसी परेको एक केजीका १५ प्याकेट खुवा नष्ट गरिएको छ । बिनालेबलका खाद्य पदार्थ बिक्री नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको विभागले जनाएको छ । मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरठिमी नगरपालिकालाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुरठिमीमा पनि लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।
सिफान स्टोर, मध्यपुरठिमीमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमीकमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताउनुभएको छ । जय माँ दुर्गा किराना पसल मध्यपुरठिमीमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको छ ।
त्यसैगरी वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । सोहीक्रममा विभागको अनुगमन टोलीले काठमाडौंको शान्तिनगरको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो । अंकित मूल्यभन्दा दोब्बर मूल्यमा मिनरल वाटर बिक्री गरेको भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्तालाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई सय रुपैयाँसम्म लिएको गुनासोसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले रेस्टुरेन्टमा अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभएको छ । उक्त रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाहीस्वरूप तीन लाख जरिवानासहित सचेत गराएको विभागले जनाएको छ । अंकित मूल्यभन्दा बढी असुलेको भेटिए टोल फ्री नम्बर ११३७ मा फोन गरेर जानकारी दिनसमेत विभागले आहृवान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच