काठमाडौं । पश्चिमी जगत्ले ‘मध्यपूर्व’ भन्ने गरेको भूखण्ड पश्चिम एसियामा द्वन्द्व बढ्दै गएको छ । इजरायल र प्यालेष्टाइनबीच हुँदै आएको लडाइँ पछिल्लो समय लेबनन र इरानमा पुगेको छ । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले ‘हमास’लाई जरैदेखि उखेलेर फाल्ने भन्दै कारबाही तीव्र बढाउँदै लैजाँदा द्वन्द्व थप बढ्दै गएको छ । यसैबीच इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । यसलाई इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले तेल अवीव र यस क्षेत्र वरपरका ‘तीनवटा सैन्य आधार’ लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेका छन् । इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ । सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ । तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताउनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण ‘ठूलो गल्ती’ भएको बताउनुभएको छ ।
यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो । इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको हो । इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारेपछि यसको बदला स्वरूप आक्रमण गरेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले यस आक्रमणको परिणाम भोग्नुपर्ने बताउनुभएको छ । उहाँले इजरायलले आफूहरूसँग इरानविरुद्ध कारबाही गर्ने योजना भएको र सही समय र स्थान तय गरेर कारबाही गर्ने बताउनुभएको छ ।
संयमता अपनाउन आग्रह
तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । मिसाइलको आक्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्नुभएको छ । गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसँगै हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताउनुभएको छ ।
यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इरानी आक्रमणविरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उक्त आक्रमण ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताउनुभएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानी आक्रमणको निन्दा गर्दै मध्यपूर्वमा व्याप्त ‘हिंसाको चक्र’ अन्त्य गर्न आहृवान गर्नुभएको छ । विदेशमन्त्री जोस म्यानुएल अल्बेरेसले म्याड्रिडले द्वन्द्व पक्षलाई संयमता साथ अघि बढी तनाव नियन्त्रण गर्न आहृवान गर्नुभएको छ ।
जर्मनी विदेशमन्त्री एनालेना बारबकले इरानलाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले इजरायलविरुद्ध इरानको आक्रमणको निन्दा गर्दै फ्रान्सले तेहरानको सामना गर्न मध्यपूर्वमा आफ्नो सैन्य स्रोतहरू परिचालन गरेको बताउनुभयो । बेलायती प्रधानमन्त्री किर स्टारमरले इरानको आक्रमणको निन्दा गर्नुभएको छ ।
आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत पनि व्यक्त गर्नुभयो । जापानका नयाँ प्रधानमन्त्री सिगेरु इसिबाले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण अस्वीकार्य भएको बताउनुभएको छ । युद्धको निन्दा गर्दै स्थितिलाई शान्त पार्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
इरान यात्रा नगर्न आफ्ना नागरिकलाई भारतको आग्रह
भारतले आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले बुधबार आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै इरान यात्रा नगर्न पनि आग्रह गरेको हो । विदेश मन्त्रालयको पत्रमा पश्चिम एसियाली क्षेत्रको सुरक्षा स्थितिमाथि सरकारले निगरानी गरिरहेको बताइएको छ । साथै भारतीय नागरिकलाई इरानमा अनावश्यक यात्रा नगर्न तथा आवश्यक परे इरानस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारत सरकार पश्चिम एसियामा सुरक्षाको स्थितिप्रति चिन्तित रहेको भन्दै नागरिकका सुरक्षाका लागि संयमता अपनाउन पनि अपिल गरिएको छ । साथै सबै मुद्दामा कूटनीतिक रूपले कुराकानी गरेर समस्याको समाधानका लागि पनि आहृवान गरिएको छ ।
इरानमा हिजबुल्लाह नेताको तस्बिर बोकेर खुसियाली
इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसी मनाएको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएर मानिसहरूले उत्सव मनाएको बिबिसीले उल्लेख गरेको छ । यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्रसंघमा आफ्नो धारणा चर्को स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।
इजरायली सेनालाई पछि हट्न बाध्य पार्यौँ
लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ । बुधबार बिहान विज्ञप्ति जारी गरी हिजबुल्लाहले इजरायली सेनासँग झडप भएको उल्लेख गरेको छ । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका बेला हमला गरी रोकिएको हिजबुल्लाहको दाबी छ । यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो ।
इजरायलले पठायो थप सैनिक
इजरायलले लेबनानमा स्थलगत (जमिनबाट) गरिने सैन्य आक्रमणका लागि थप सेना पठाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा ‘हिजबुल्लाहविरुद्ध सीमित र लक्षित कारबाही’ गर्न ‘अतिरिक्त बल’ पठाएको बताएको हो । आइडिएफका अनुसार यी सैनिक स्थलगत हमलामा सामेल हुनेछन् । यसअघि हिजबुल्लाहले लेबनानमा रहेको इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो ।
तेलको मूल्यमा उछाल
मंगलबार राति इरानले इजरायलमा मिसाइल हमला गरेपछि तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । यदि यस्तो भयो भने तेल आपूर्ति पनि प्रभावित हुनसक्छ । ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । यो एक प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ७४.४० डलर पुगेको छ । मंगलबारको कारोबारमा पाँच प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौँ ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन) को तेस्रो ठूलो सदस्य पनि हो । यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने व्यापारीहरूबीच चिन्ता बढेको छ । स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ । यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ । ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन् । एजेन्सीको सहयोगमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच