✍️ निरञ्जन मैनाली
यही कात्तिक २ गते यस हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ‘बलिप्रथा र सामाजिक एवं धार्मिक मान्यता’ शीर्षकको ईश्वर भट्टको लेख मलाई सान्दर्भिक लाग्यो । आजभन्दा चार हजार वर्षदेखि नै हाम्रो समाजमा बलिप्रथाको थालनी भएको इतिहास पाइन्छ । हुन त हामी ढुंगे युगमा जनावर मारेर खाने गरेको बताइन्छ । सुरुमा विभिन्न जनावरको मासु खाने गरेको र पछि कृषि कर्ममा आएको उल्लेख भएको पाइन्छ ।
हाम्रो देशमा दैनिक रूपमा खसी, बोका, राँगा कुखुरालगायतको हत्या गरेर व्यवसाय सञ्चालन गर्ने गरेका छन् । बहुभाषिक, जाजजाति भएको हाम्रो मुलुकमा आ-आफ्नो जाडपर्वमा अधिक संख्यामा पशुको बलि दिएको कुरा सर्वविदितै छ । त्यसका साथसाथै बाराको गढीमाई मन्दिरमा किंबन्दती अनुसार प्राचीनलकालमा मान्छेको बलि दिने गरेको थियो । मानिस चेतनशील भएर नीति, नियम बन्न थालेपछि मान्छेको बलि प्रथा रोकिएको भन्ने गरिन्छ । गढीमाई मन्दिरमा संसारकै सबभन्दा ठूलो मेलामा पाँच लाखको संख्याका धर्मालम्बीहरू आउने गरेको र तीन लाखको संख्यामा पशुको बलि चढाउने गरेको तथ्यांक पाइन्छ ।
समाजमा बस्ने मानिस धार्मिक प्राणी हो । हाम्रो समाजमा मानिस धर्मको स्थापना गरी आफ्नो जीवनलाई पापबाट मुक्त हुनुपर्छ भनेर भन्ने गर्दछन् । तर, बलिप्रथा निर्दयी भएर धर्मकै आडमा सुरक्षा दिनु दुःखद् हो । धर्म आफ्नो मुक्तिका लागि गरिन्छ । पाप र पुण्यको अहम् भूमिका रहन्छ । एउटा विशेष भनाइ छ, ‘परोपकार पुण्यायः पापाय परपिडनम्’ अर्थात् अरूको उपकार गर्नु पुण्य हो, अरूलाई दुःख दिनु पाप हो । कुनै पनि अवोध पशुलाई दुःख दिएर गरेको कामले शुभफल दिन सक्दैन । त्यसैले आफ्नो स्वार्थका लागि कुनै जीवको बलि चढाउँदैमा देवीदेवाता प्रशन्न हुँदैन । यस चराचर जगतका सम्पूर्ण जीव देवका सन्तान भनिन्छ । अनि आफ्नै सन्तानको रगत पिएर कसरी उनीहरू खुशी हुन्छन् होला एक पटक आफैं गम्भीर भएर सोचौ त । बलिप्रथालाई जति पनि धर्मको आड लिए पनि यो धार्मिक हुन सक्दैसक्दैन । बलिप्रथा धार्मिक हुँदै होइन । किनकि हाम्रा धर्मशास्त्रहरूमा उल्लेख भएको छ, ‘अहिंसा परमो धर्म’ । कुनै पनि धर्मले हिंसा र अपराधलाई अनुमति दिँदैन । सबै धर्ममा प्रेम, अहिंसा सिकाइन्छ । हिंसाको निन्दा गर्दछ, अहिंसा, सहिष्णुता, सद्भाव र एकअर्काको सम्मानलाई प्रोत्साहित गर्दछ ।
हामीले अवलम्बन गर्दै आएको पशुबलि हाम्रो समाजमा रहेका छुवाछूत प्रथा, बालविवाह, सतीप्रथा जस्तै विकृति हो । यसलाई सभ्य समाजले सच्चायाउँदै लानुपर्छ । बाराका अभियान्ता तथा पूर्वमन्त्री कलावति पासवानले दिनप्रतिदिन पशुबलि अन्त्य हुनुपर्छ भनेर आवाज उठान गर्दा उहाँलाई गढीमाई मन्दिरमा प्रवेश गर्न रोक लगाउनु विडम्बना हो । अबको आधुनिक युगमा निर्मम कार्य गर्ने र निर्दोष पशुहरूको बलि चढाउने कुप्रथालाई सचेत नागरिकले अन्त्य गर्ने पहल गर्न अब ढिला गर्नु हुँदैन ।
बारा, कोल्हवी
हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच