
‘दृढ पाइला’ पुनम घिमिरको नवीनतम कृति हो । यो उपन्यास हो । वास्तवमा उपन्यास लेखन जटिल कार्य हो । त्यस्तो कथा जुन एउटा मूल र स्थूल कथाबाट अनेकौं सहायक कथाहरूको सिर्जना गर्दै लानुपर्ने हुन्छ । यो पात्रबहुल विधा हो । त्यसकारण पात्रहरूको गञ्जागोलबाट ती सबै पात्रको भूमिकालाई पर्गेनुपर्ने हुन्छ । होस नपुर्यउँदा यस गञ्जागोलपूर्ण जङ्गलभित्र लेखक आफैँ पनि हराउन सक्छ । यो कविता जस्तो भावमूलक विधा होइन र एकै बसाइमा लेख्न सकिने विधा पनि होइन । उपन्यास विचारमूलक विधा हो । यसको लेखनका लागि लामो समय लाग्न सक्छ । वर्तमान दिनहरूमा प्रविधिको माध्यमबाट केही सहज भएको छ र प्रविधिको प्रयोग गर्न जान्नेहरूका लागि हाल उपन्यास लेखन पनि सहज र सरल बन्दै गएको छ ।
यस्तो कठिनतम् काममा हाल हाल्नुभएको छ साहित्यकार पुनम घिमिरेले । यो पुस्तक डिएमआई साइजमा छ, पहेँलो तौलरहित कागज प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ तर भाषिक कमजोरीहरू भने भेटिन्छन् । भाषा राम्रो छ तर व्याकरणमा केही त्रुटि छन् । कतै ह्रस्वदीर्घमा कमजोरी पाइन्छन् भने कतै-कतै सङ्गतिमा समस्या छ । पदयोग र पदवियोगमा पनि विचलन भेटिन्छ । शिखा बुक्स यसको प्रकाशक रहेको छ । ज्ञानज्योति बुक्स् पब्लिकेसन प्रा.लि.अद्धैतमार्ग बागबजार यसको वितरक छ । यसको सर्वाधकार लेखकमै रहेको छ र पहिलो संस्करणका रूपमा २०८१ साल असारमा यो पुस्तक छापिएको छ तर यसको सङ्ख्या भने उल्लेख गरिएको छैन ।
कथालाई लम्ब्याएर उपन्यास हुँदैन भने उपन्यासलाई छोट्याए कथा बन्दैन । यी दुबैको आआफ्नै अस्तित्व छ । थोरै पात्रको थोरै पक्षको चित्रण कथामा गरिन्छ भने उपन्यासमा धेरै पात्रको धेरै पक्षको चित्रण गरिएको हुन्छ । साहित्यकार लक्ष्मीप्रसाद देवकोटाले ‘कथा एउटा सानो झ्याल हो जसबाट एउटा सानो संसार चियाइन्छ’ भन्नुभएको थियो ।
यस पुस्तकमा भूमिका खण्डसहित १९३ पृष्ठ छन् । पुस्तकको मूल्य ५२५ रुपैयाँ रहेको छ । यस पुस्तकको आवरण, लेआउट डिजाइन बाबु महर्जनको छ । आवरण कलात्मक र आकर्षक छ । पुस्तकको शीर्षक ‘दृढ पाइला’का लागि मिल्दोजुल्दो हुनेगरी मानिसले पाइला चाल्दै गरेको पछाडिबाट देखिने गरी कुर्कुच्चातर्फको भाग पुस्तकको आवरणमा देखाइएको छ । तलतिर पुस्तकको शीर्षक ठूला पहेँला अक्षरमा राखिएको छ ‘दृढ पाइला’ भनेर । त्यसमुनि साना सेता अक्षरमा उपन्यासकारको नाम छ-पुनम घिमिरे ।
उपन्यास आख्यानपरक विधा हो । कथाले यससँग सामन्जस्य राख्दछ तर कथा र उपन्यास उस्तै भए पनि एउटै होइनन् । कथा सानो र छोटो हुन्छ भने उपन्यास लामो हुन्छ । कथानक, पात्र वा चरित्र, परिवेश वा वातावरण, भाषाशैली र उद्देश्य वा सन्देश यी दुबैका साझा तत्व हुन् तर कथालाई लम्ब्याएर उपन्यास हुँदैन भने उपन्यासलाई छोट्याए कथा बन्दैन । यी दुबैको आआफ्नै अस्तित्व छ । थोरै पात्रको थोरै पक्षको चित्रण कथामा गरिन्छ भने उपन्यासमा धेरै पात्रको धेरै पक्षको चित्रण गरिएको हुन्छ । साहित्यकार लक्ष्मीप्रसाद देवकोटाले ‘कथा एउटा सानो झ्याल हो जसबाट एउटा सानो संसार चियाइन्छ’ भन्नुभएको थियो ।
उपन्यास भने यसभन्दा भिन्न झ्यालका रूपमा होइन सिंगो र खुला आकाश जस्तो हुनेगर्छ जसबाट सबैतिर समान रूपमा चियाएर हेर्न सकिन्छ । एउटा रूखबाट फैलिएका विभिन्न हाँगाबिँगा जस्ता सहायक कथाहरू उपन्यासमा सिर्जना हुने गर्छन् । त्यसकारण उपन्यासकारले आफ्नै पात्रप्रति न्याय गर्न नसक्ने र आफैँ सिर्जना गरेको कथानकभित्र आफैँ हराउन सक्ने सम्भावना रहन्छ । यसलाई नकार्न सकिँदैन । यही जटिल बाटो समाउने आँट गर्नुभएको छ पुनमजीले ।
पुस्तकको आवरणको भित्रपट्टि पुनमको फोटोरहेको छ र त्यससँगै यही उपन्यासभित्रको एउटा संवाद राखिएको छ । पृष्ठआवरणमा पनि यसैलाई जस्ताको तस्तै रंगीन फोटोसहित राखिएको छ । तल प्रकाशक संस्था शिखा बुक्सको लोगोसहित नाम उल्लेख भएको छ । यसको भित्रपट्टि पुस्तको आवरण पृष्ठको प्रतिचित्र राखिएको छ । भूमिका खण्डमा उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीको ‘शुभकामना’ रहेको छ । संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा पात्रहरूको सङ्ख्या अधिक छ । पात्रप्रधान विधा भएकाले पनि अधिक संख्यामा पात्रहरू रहनु स्वाभाविक हुन्छ ।
सामान्यतया मानिसहरूको किशोर वा युवा अवस्थाका हुने प्रेम र बिस्तारै त्यसको विस्तापन हुँदै जिम्मेवारी कर्तव्य र दायित्वमा गएर उपन्यास टुङ्गिन्छ । पारिवारिक तथा सामाजिक परिवर्तन तथा विस्थापन यस उपन्यासले देखाउन चाहेको विषय वस्तु हो । पर्यटकीय नगरी पोखराको छेउको गाउँबस्ती उपन्यासको कार्यपिठिका भएर आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको चुलबुले उमेरबाट पछि तिनीहरूको पढाइको समाप्तिसँगै ती लाखापाखा भएको अवस्था देखाइएको छ ।
यसमा कपिल, माइक, विनोद, जया, ऋतु, रमा आमा, सुनिता दिदी, केशव, रमेश शर्मा, आशुतोष, कुसुम, कुमार, अशोक, कविता, शिवहरिड सर, बुबा, आमा, भाइ, कृष्णशमशेर राणा, विराज, स्वामी निगमानन्द, सुरेशमान लाखे, सङ्गीता मिस, मीना मिस, श्याम दाजु, चालक, घले ठूलोबा जस्ता पात्रहरू छन् भने केही अप्रत्यक्ष पात्रहरू पनि समावेश भएका छन् । मेजर वीरसिंह, मपात्र अर्थात ऋतु, ठूलाघरे कप्तान बा, केशव दाज,ु काइँला दाजु, छत्र, हजुरआमा, राम अधिकारी, शरण गुरुङ, नेत्र सेन्चु्री, सुन्तली दिदी, सुनीति, आश्रमका आमाहरू, सङ्गम, छिमेकी भाउजू, चन्द्रबहादुर थापालगायत पात्रहरू उपन्यासमा छन् । यी पात्रहरूलाई उपन्यासमा यथायोग्य भूमिका दिइएको छ ।
उपन्यासमा देश, काल, परिस्थितिको अन्विति राम्ररी मिलाइएको छ । उपन्यासमा कालिका माविका छात्रछात्राहरूको शैक्षिक भ्रमण राजधानी काठमाडौँमा भएको देखाइएको छ र ती विद्यार्थीहरूले घुमेका स्थानहरूको सन्दर्भ पारेर पशुपतिनाथ मन्दिर क्षेत्र, बुढानीलकण्ठ, पाटन दरबार परिसर, स्वयम्भूनाथ क्षेत्र, भक्तपुर दरबार परिसर, राष्ट्रिय सङ्ग्रहालय, हनुमानढोका दरबार क्षेत्र आदिको वर्णन उपन्यासकारबाट भएको छ ।
उपन्यासमा देश, काल, परिस्थितिको अन्विति पनि राम्ररी मिलाइएको छ । उपन्यासमा कालिका माविका छात्रछात्राहरूको शैक्षिक भ्रमण राजधानी काठमाडौँमा भएको देखाइएको छ र ती विद्यार्थीहरूले घुमेका स्थानहरूको सन्दर्भ पारेर पशुपतिनाथ मन्दिर क्षेत्र, बुढानीलकण्ठ, पाटन दरबार परिसर, स्वयम्भूनाथ क्षेत्र, भक्तपुर दरबार परिसर, राष्ट्रिय सङ्ग्रहालय, हनुमान ढोका दरवार क्षेत्र आदिको वर्णन उपन्यासकारबाट भएको छ । जसले गर्दा यस उपन्यासमा नेपालको संस्कृतिको चित्रण, ऐतिहासिक पुरातात्विक मठमन्दिरहरूको वास्तुकलाको वर्णन, प्रकृतिको चित्रण, विद्यालयहरूले विद्यार्थीहरूलाई गराउने शैक्षिक भ्रमणको चित्रण, किशोरवयका विद्यार्थीहरूको प्रवृत्तिको चित्रण यस उपन्यासमा भएको छ ।
उपन्यास वियोगान्त बनेर टुङ्गिएको छ । ऋतु र आशुतोषको असफल प्रेम यसमा देखाइएको छ भने अर्कातिर ऋतुका बुबाको असामयिक निधन र त्यसपछि उजाडिएको घर, बुबाको मृत्युपछि काकालगायत आफन्तहरूले सहयोग गर्न छोडेको सामाजिक यथार्थता यस उपन्यासले देखाएको छ भने अर्कातिर आफ्नो नेपालमा भएको सम्पत्ति रित्याउँदै विदेशतिर लाग्ने वर्तमान नेपाली प्रवृत्ति पनि ऋतुको भाइ विदेशिएको र पछि आमालाई पनि लगेपछि ऋतु यहाँ एक्लै भएको दृष्टान्तबाट प्रष्ट पारिएको छ । विदेशमोहबाट नेपालमा छुटेका आफन्त र प्रेमिकालाई समेत बिर्सिँदै जाने प्रवृत्तिको चित्रण ऋतुको प्रेमी आशुतोषलाई प्रतिनिधि बनाएर देखाउन खोजिएको छ । यी सबैबाट विरक्तिएकी ऋतु अन्त्यमा आश्रमका आमाहरूको सेवामा समर्पित भएकी देखाइएको छ । उपन्यासमा प्रयोग गरिएका केही संवाद र विचारहरू मार्मिक पनि छन् । घर हुनका लाथिग छानो र खाँबाहरू भएरमात्र हुँदैन त्यहाँ मिलेर बसेको परिवार पनि हुनुपर्छ भनेजस्ता संवादले निश्चिय पनि पाठकको मन छ’शन्छ ।
यस उपन्यासको अन्त्यमा उपन्यासकार घिमिरेको आत्माभिव्यक्ति रहेको छ । यस उपन्यासमा औपन्यासिक प्रवृत्तिलाई पालन गरेर परिच्छेद छुट्याइएको भए पाठकलाई पढ्न सजिलो हुनसक्थ्यो त्यसो गरेको पाइएन । माइकको संवादलाई अङ्ग्रेजी लिपिमै सामावेश गरिएको छ, त्यसो नगरेर देवनागरी लिपिमै अङ्ग्रेजी संवाद राखेकोे भए स्वाभाविक हुनसक्थ्यो । समग्रमा उपन्यास राम्रो छ । यसका लागि पुनमलाई बधाई छ र पुस्तकको सफलताको कामना । उहाँबाट यस्ता अरू पनि कृतिहरू आइरहून् अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच