काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको सरगर्मी सुरु भएको छ । राजनीतिक दलहरूले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएसँगै चुनावी सरगर्मी बढेको हो । दलहरू उपनिर्वाचनको तयारी र उम्मेदवार चयनको लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । यसै सन्दर्भमा सत्तारूढ नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । यसैगरी, अर्को सत्तारूढ दल नेपाली कांग्रेसले पनि प्रदेशगत छलफल सुरु गरेको छ । कांग्रेसले पार्टीको प्रदेश समितिसँग छलफल सुरु गरेको हो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पनि उम्मेदवारका नाम सिफारिश गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
एमालेको सचिवालय बैठक आज
स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिम रूप दिन नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दै छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल केन्द्रित हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिश प्रक्रिया टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार प्राप्त नामावलीलाई सचिवालय बैठकले आवश्यक निर्णय गर्ने प्रचार विभाग प्रमुख गौतमको भनाई छ । गौतमका अनुसार नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिशमा जिल्लाले नै टुंग्याउने छ । महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिशमा प्रदेश कमिटीले टुंग्याउने छ । उम्मेद्वार चयनलगायत आवश्यक तयारीबारे सचिवालयले थप निर्णय गर्ने जानकारी दिँदै गौतमले भन्नुभयो, ‘निर्वाचनको तयारीबारे सचिवालयको बैठक बसेर निर्णय गर्नेछौँ ।’ बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको प्रचारविभाग प्रमुख गौतमले जानकारी दिनुभएको छ ।
कांग्रेसद्वारा प्रदेशगत छलफल सुरु
स्थानीय तहमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रदेशगत छलफल सुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले पार्टीको प्रदेश समितिसँग छलफल सुरु गरेको हो । मंसिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको कांग्रेसले शुक्रबार बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग सोही विषयमा आवश्यक छलफल गरेको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन-०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गरेको हो । समिति सदस्य तथा स्थानीय तह समन्वयको जिम्मेवारी पाउनुभएका केन्द्रीय सदस्य मधु आचार्यले भन्नुभयो, ‘हामी निरन्तर उपनिर्वाचन व्यवस्थापनमा जुटेका छौँ । शुक्रबार बागमती र लुम्बिनीका साथीहरूसँग छलफल गरेका छौँ । यो प्रक्रिया अन्य प्रदेशका साथीहरूसँग पनि जारी रहन्छ ।’
यी हुन् कांग्रेसले टुंगो लगाएका उम्मेदवार
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि चार स्थानका उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षका लागि निर्वाचन हुने मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको उम्मेदवार निश्चित गरिएको छ । उपाध्यक्षका लागि निर्वाचन हुने दोलखाको गौरीशंकर गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा उम्मेदवारको चयन भएको छ । मोरङको ग्रामथानमा गाउँपालिका अध्यक्ष पदमा कांग्रेसले बलराम सरदारलाई उठाउने भएको छ । अध्यक्षमा आकांक्षा राखेका १३ जनामध्येबाट सरदारको नाममा जिल्ला संसदीय बोर्डले सहमति जुटाएको हो । सरदार पूर्व-महासमिति सदस्य हुन् । गत निर्वाचनमा यस पालिकामा कांग्रेसका उम्मेदवारले जितेका थिए । कांग्रेसले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार झलकबहादुर भण्डारीलाई बनाउने भएको छ । अध्यक्षमा उम्मेदवार हुन इच्छा राखेका १५ जनाबाट भण्डारीको नाम चयन गरिएको हो । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा कांग्रेसले इन्द्राचन्द सिंहलाई टिकट दिएको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा पासदिकी शेर्पा तामाङलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । तामाङ निधन भएका यसपालिकाका पूर्व-उपाध्यक्ष श्यामसुन्दर तामाङकी पत्नी हुन् । कांग्रेसले कीर्तिपुरको मेयर उम्मेदवार टुंगो लगाउन बाँकी छ । कांग्रेसबाट ११ जनाको नाम नगर समितिबाट सिफारिश भए पनि टुंगो लागिसकेको छैन । विधानतः नगरको मेयर उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई हुन्छ । कांग्रेसले निर्वाचन परिचालनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समिति गठन गरेको छ । उक्त समितिले सातै प्रदेशमा समन्वय गर्ने गरी नेताहरूलाई जिम्मेवारीसमेत दिएको छ । उपनिर्वाचनका लागि प्रदेशगत समन्वय र सहजीकरण गर्न बागमतीमा महालक्ष्मी उपाध्याय ‘डिना’, कोशीमा भीष्मराज आङ्देम्बे, मधेशमा महेन्द्र यादव, कर्णाली र गण्डकीमा जीवन परियार, सुदूरपश्चिममा एनपी साउद र लुम्बिनीमा पु्ष्पा भुसाललाई जिम्मेवारी तोकिएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनानाथ शर्माले जानकारी दिनुभएको छ । बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल हुनेछ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको लागि विपक्षमा रहेका दलहरूसँग तालमेलको नीति लिएको छ । माओवादीका नेताहरू नेकपा एस, रास्वपा, विप्लव नेतृवको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलको लागि अनौपचारिक छलफलमा रहेका छन् । माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयरमा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य उम्मेदवार चयनबारे छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय चःमती वनस्थलीमा आज (शनिबार) बिहान साढे ११ बजे बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभएको छ । कार्यवाहक प्रवक्ता झाका अनुसार पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र संघर्षको मोडालिटीबारे छलफल हुनेछ । त्यस्तै, मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने झाले जानकारी दिनुभयो । रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनको लागि सातवटै प्रदेशमा चुनावी कमाण्डर तोकेको छ ।
उपनिर्वाचनमा उम्मेदवार बन्न सार्वजनिक दाबी आहृवान गरेको रास्वपाले उम्मेदवार चयनको लागि प्राइमरी इलेक्सन गर्ने नीति लिएको छ । प्राइमरी इलेक्सनको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा हुनुहुन्छ । लामिछानेमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेर उनको हिरासत लम्ब्याएको दाबी गरिरहेको छ । पार्टीले विचार मिल्ने दलहरूसँग यसबारे संवाद गर्ने, धारणा बुझ्ने निर्णय पनि गरिसकेको छ । केन्द्रीय समिति बैठकले त्यसबारे थप छलफल गरेर संघर्षको कार्यक्रम तय गर्न लागेको बताइएको छ ।
उम्मेदवार सिफारिश गर्न प्रदेश कमिटीलाई नेकपा एसको निर्देशन
नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिश गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, सांगठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्नसक्ने तथा विकास-निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिश गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ । नेकपा एसले नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूसँग चुनावी तालमेलको नीति लिएको छ । चुनावी तालेमलको लागि समाजवादी मोर्चामा रहेका दलहरूलाई प्राथमिकतामा राखेको छ । समाजवादी मोर्चामा रहेको नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको लागि अनौपचारिक छलफल चलिरहेको नेकपा एसका नेताहरूले बताएका छन् ।
निर्वाचन आयोगले लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच